राजदूत चालीसे र उपप्रमुख क्षेत्रीबीच बांडफांड
लण्डन । लण्डनस्थित नेपाली दूतावासका राजदूत डा. सुरेशन्द्र चालीसे र उपप्रमुख तेज बहादुर क्षेत्रीले रिक्त पदमा आआफ्ना मानिस भर्ना गर्ने तयारी गरेका छन् । दूतावास श्रोतका अनुसार करीब दुई महिनाअघि विज्ञापन गरी आवेदनहरु लिए पनि उनीहरुले आफ्ना आफन्त भर्ना गर्न लागेका हुन् । बेलायतबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरुमा विज्ञापन प्रकाशित गरी आवेदन खुला गरेपछि दूतावासमा करीब २५ जनाले फर्म बुझाएका थिए । यद्यपि ती फर्महरुप्रति वेवास्ता गर्दै राजदूत र उपप्रमुखले आआफ्ना मानिस राख्न लागेको बुझिएको छ । यही विषयमा राजदूत र उपप्रमुखबीच लामो समयदेखि नै मनमुटाव थियो । यसका अलावा दूतावसमा आउने आर्थिक श्रोतमा राजदूतले मात्र आफूखुशी गरेपछि रुष्ट रहेका उपप्रमुख क्षेत्रीलाई फकाउन राजदूतले उनका साला सुरेन्द्र रायमाझीलाई भर्ना गरीदिने आश्वासन दिएको श्रोतले दावी गरेको छ ।
यसअघि राजदूत चालीसेले आफ्ना सहयोगीद्वय सन्तोष मरासैनी र उर्मीला श्रेष्ठलाई रिक्त दुई पदमा ल्याउन चाहेका थिए । राजदूतको यो प्रस्तावलाई उपप्रमुख क्षेत्रीले ठाडै अस्वीकार गरेपछि राजदूतले दुईमध्य एक पदमा उनका साला सुरेन्द्रलाई राख्ने तयारी गरेका छन् । दूतावासका अस्थायी कर्मचारीहरु दमन्ता खरेल र सुरेन्द्र भण्डारीलाई राजदुत चालीसेको ठाडो निर्देशनमा हाजीर गर्न रोक लगाएपछि उनीहरुले यसअघि नै राजदूत विरुद्ध अख्तियारमा उजुरी दिइसकेका छन् ।
-विकास खतिवडा
प्रतिक्रिया