तमुधिं यूकेको लाईफमेम्बर डिनर

तमुधिं यूकेको लाईफमेम्बर डिनर


tamudheeलण्डन – ४० हजार भन्दा बढि गुरुङहरुको बसोबास रहेको बेलायतमा तमुधिं युके समाज नेपालीहरुको एउटा ठूलो संस्था हो । वर्षेनी नेपाल र नेपालीहरुको गौरव बढाउने कार्यक्रमहरु सञ्चालन गरेर बेलायतवासीहरुलाई एउटै मञ्चमा ल्याउने सराहनीय प्रयास विगत केहि वर्षहरुदेखि गर्दै आएको छ । यस संस्थाको बेलायतमा सात वटा ईकाईहरु छन् । यस संस्थासित आबद्ध साधरण सदस्यहरुको संख्या हजारौ छन् । आजिवन सदस्यहरुमात्र एक हजार जति पुगेको छ । प्रत्येकवर्ष आजिवन सदस्यहरुका लागि छुट्टै डिनर साँझ गरेर समाज र मानव कल्याणका लागि उत्कृष्ट कार्य गर्ने एक जना संस्थाका आजिवन सदस्यलाई त्यस साँझ सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिने थालनी यसवर्षदैखि शुरु भएको छ । यसवर्षका लागि मेजर रिटायर्ड डम्बर घले, एमबीईलाई सो पुरस्कारबाट उनले समाजका लागि गरिएका विशेष योगदानको लागि पुरस्कृत गरिएको थियो । दिनांक २० अक्टोबर २०१३को दिनमा गरिएको यो कार्यक्रमलाई समाजका अध्यक्ष कमल गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको थियो । यस कार्यक्रमलाई समाजका महासचिव नन्दजंग गुरुङले प्रथम चरणको कार्यक्रम सञ्चालन गरेका थिए । यस कार्यक्रमको संयोजक समाजका उपाध्यक्ष दिलिप गुरुङ थिए तथा सहसंयोजक लें.रि. बिष्णु प्रसाद गुरुङ थिए । कार्यक्रमको शुरुआत हुनुअघि समाजका उपाध्यक्ष दिलिप गुरुङले स्वास्थ्य र सुरक्षाबारे कार्यक्रमका सहभागीहरुलाई सम्बोधन गरेका थिए । त्यसपछि द्वीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन् गरेपछि गुरुङ राष्ट्रगीत कलाकारहरुद्वारा प्रस्तुत गरेका थिए । समाजकालागि विभिन्न क्षेत्रबाट विशेष सहयोग तथा नवप्रवेश गरेका आजिवन सदस्यहरुलाई त्यस साँझ सम्मान गरिएको थियो । सबैभन्दा नयाँपन यस कार्यक्रममा सबै सहभागी वक्ताहरु, कार्यक्रमका उद्घोषक्हरु तथा संस्कृतिक कार्यक्रम सबै गुरुङ भाषाको माध्यमबाट सञ्चालन भएको थियो । गुरुङ वेशभुषाको प्रतियोगिता तथा विशेष गुरुङ भाषामा मन्तव्य प्रकट गर्ने जिम्मेवारी समाजका सल्लाहकार जंगबहादुर गुरुङले बडो तदरुकताका साथ निभाएका थिए । दर्शकदिर्घलाई आफ्नो मन्तव्यबाट सम्बोधन गर्नेहरुमा डाक्टर चन्द्र गुरुङ, दिलिप गुरुङ (पावर प्वाईन्टको माध्यमबाट सर्वश्रेष्ठ पुरस्कृत व्यक्ति मे.रि. डम्बर घले, एमबीईबारे तथा पुरस्कारको आचार संहिताबारें), अध्यक्ष कमल गुरुङ र मे.रि. डम्बर घले एमबीईकी धर्मपत्नि केटीमाया घले थिए । मे.रि. डम्बर घले एमबीई कार्यक्रममा विशेष कारणले उपस्थित हुन नसकेकोमा उनको पुरस्कार उनकी धर्मपत्निले ग्रहण गरेकी थिईन् । कार्यक्रमको दोश्रो चरणमा संस्कृतिक कार्यक्रम तथा लटरी कार्यक्रम रहेको थियो । संस्कृतिक कार्यक्रमलाई योगेश गुरुङ तथा पुष्पा गुरुङले बडो रमाइलो गरेर दर्शकदिर्घलाई मनोरञ्जन दिंदै सञ्चालन गरेका थिए । मनमोहक नृत्यहरु गोरे गुरुङ समुह, लोकप्रिय गुरुङ गीतहरु निर्मला गुरुङ, हरिमान गुरुङ तथा दिलिप गुरुङले प्रस्तुत गरेका थिए । त्यसै कार्यक्रममा समाजका सल्लाहकार सुमल कुमार गुरुङले दर्शकदिर्घलाई बेग्लै स्वाद दिने विचारले आफ्नो एउटा कविता वाचन गरेर माहोल रमाइलो पारेका थिए । संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङलाई सुत्रधार गरी तमुधिं यूकेको ईतिहासलाई वृत्तचित्र मार्फत त्यस अवसरमा देखाइएको थियो जुनचाँहि अत्यन्त राम्रो थियो । तमुधिं यूकेसंग आबद्ध मिडियाकर्मी तथा आईटीका विशेषज्ञहरु क्रमशः वरदान गुरुङ, कुमार गुरुङ, सन्तोष गुरुङ, कृष्णदेव गुरुङ तथा बिशन गुरुङलाई सम्मान गरिएको थियो । सबैजना खुशीहुँदै रमाउदै अबेर रातीसम्म मनोरञ्जन गरेका थिए ।