‘विखण्डनकारी त मूलधारमा आए, विप्लव पनि आउनुपर्छ’ : गृहमन्त्री थापा

‘विखण्डनकारी त मूलधारमा आए, विप्लव पनि आउनुपर्छ’ : गृहमन्त्री थापा


आफ्ना पछिल्ला प्रेस विज्ञप्तिमार्फत् नेकपाका महासचिव विप्लवले आफ्नो पार्टीले ‘जनताको वास्तविक मुक्ति र देश बचाउने अभियान’ अघि बढाएको दाबी गर्दै आएका छन् । यसरी आफूलाई सच्चा देशभक्त दाबी गर्ने विप्लव तथा उनको पार्टीलाई राज्यले भने ‘आतङ्ककारी समूह’को दर्जा दिएको छ । विप्लव नेतृत्वको दलमाथिको प्रतिबन्धले नै स्पष्ट पारिसककेको छ कि आफ्ना पूर्व–सहकर्मी विप्लव एवम् उनको पार्टीका क्रियाकलापमाथि वर्तमान गृहमन्त्री रामबहादुर थापा कति क्रुद्ध छन् !

यसैक्रममा गृहमन्त्री थापाले ‘विप्लव समूहले हिंसात्मक आतङ्ककारी क्रियाकलाप छाडी वार्तामा आउनुको कुनै विकल्प नरहेको’ अभिव्यक्ति दिएका छन् ।

विप्लवको समूहले शान्ति सुरक्षामा खलल पुऱ्याइरहेको आरोप लगाउँदै यस्तो क्रियाकलाप गर्ने छुट आफूले कसैलाई पनि नदिने थापाको जिकीर छ ।

गृहमन्त्रालयले प्रदेश नं १ मा आयोजना गरेको दुई दिवसीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर पुगेका गृहमन्त्री थापाले सञ्चारकर्मीसँग भने– ‘आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पुऱ्याउनेलाई सरकारले कानून बमोजिम कारवाही गरिनेछ ।’

हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको जानकारी दिँदै उनले विभिन्न माग राखी आन्दोलन गर्ने सबै असन्तुष्ट पक्षलाई सरकारले वार्ता र संवादमा आउन आह्वान गरेको बताए ।

विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याइसकेको अवस्थामा विप्लव समूहलाई पनि आतङ्ककारी क्रियाकलाप छाडी वार्तामा आउनुको कुनै विकल्प नरहेको उनको तर्क थियो । विप्लव समूहले जनतामा आतङ्क सिर्जना गर्नुका साथै हत्या हिंसा तथा निजी र सरकारी सम्पत्ति तोडफोड गरी विध्वंसकारी गतिविधि गरेकै कारण सरकारले उनीहरुको गतिविधि निषेध गरिएको भन्दै सरकारको बचाउको प्रयास थापाले गरे ।

विगतको वर्षभन्दा जनताले अनुभूत गर्ने गरी शान्ति सुरक्षामा गुणात्मक सुधार आएको र शान्ति सुरक्षा कायम राख्न वर्तमान सरकार दृढ रहेको अभिव्यक्ति उनले दिए ।