गोरखा योद्धा ज्ञानराज राईको अमरण अनशन १४औं दिन

गोरखा योद्धा ज्ञानराज राईको अमरण अनशन १४औं दिन


1467433_640751399315494_1704085908_nलण्डन – विभिन्न बेलायती लेखकहरुले गोर्खाहरुबारे आफ्नै ख्यातीका लागि गोर्खा ईतिहासका पुस्तकहरु लेखेका छन्, गोर्खाको बहादुरी र योगदानबारे प्रशंसा गरेका छन् । तर, अहिले गोर्खा योद्धा ज्ञानराज राई सम्पूर्ण गोर्खा सैनिकहरुको हकअधिकारका लागि अमरण अनशन बसेको दौरान उनिहरु चुईक्क बोलेका छैनन् ननै बेलायती मिडियाले कुनै ठूलो स्थान दिएको छ । यो एउटा विडम्बना र तितो यथार्थ गोर्खा ब्रिटिश सैनिकहरुले विगत २०० वर्षदेखि भोग्दै आईरहेका छन् । आज ज्ञानराज राई अनशन बसेको १४औं दिन हो । माईनस दुई डिग्री, लण्डनको जाडोलाई खेप्दै ५५ वर्षीय ज्ञानराज युद्धमोर्चामा डटेसरी आफ्नो जीवन आहुती दिन तयार छन् । सन् नब्बेको दशकखदेखि समान पेन्शन, तलब र ब्रिटिश सैनिकहरुसरहका सुविधाहरु पाउनुपर्ने अधिकारलाई लिएर यी सैनिकहरु लड्दै आएका छन् । अंशिकरुपमा केहि सहुलियत प्राप्त भएतापनि समग्रमा पेन्शन र तलबको हकमा भने विभिन्न कारणहरु देखाएर बेलायत सरकारले न्याय दिएको छैन । बेलायती ईतिहासकार जोन पार्करले सन् २००५मा प्रकाशन गरेको “द गुर्खाज”मा बेलायती रक्षा मन्त्रालयबाट यदि हाल रहेको अन्दाजी पचास हजार भूतपूर्व गोर्खा ब्रिटिश सेनालाई समान पेन्शनभत्ता दिने हो भने वर्षमा थप एक बिलियन पाउण्ड छुट्याउनु पर्ने कुरा व्यक्त गरेका छन् । तर, सदा व्यापारको कसीमा तौलदै गोर्खालीहरुको मददबाट विश्वभरी साम्राज्य फेैलाएको बेलायतले गोर्खालीबाट भएको हजारौ बिलियन पाउण्डको फाईदालाई कहिल्यै भुल्न हुँदैन । यस महिनाको सात तारिखदेखि सत्यग्राह अनशनमा बसेका ज्ञानराज राई अन्यायमा परेका लाखौं गोर्खा सैनिकहरुको प्रत्तिनिधि हो । मानव अधिकारको दुहाई दिँदै राष्ट्रमण्डल लगाएत विश्वका अनेकौ राष्ट्रबाट आएका शरणार्थीहरुलाई राहत दिन सक्ने बेलायतले गोर्खा सैनिकको मामलामा चुप्पी साँधेको देख्दा विश्वले ताज्जुब मान्दै चियाईरहेको छ । हिजो ज्ञानराज राईको अभियानलाई मुर्तरुप दिन र ऐक्यबद्धता दर्शाउन हजारौ नेपालीहरु १० डाउनिङ स्ट्रिट र व्हाईटहलमा विभिन्न प्लेकार्डहरु र नारा लगाउँदै मागलाई यथाशिघ्र न्याय दिलाउनका लागि जम्मा भएका थिए । भूतपूर्व गोर्खा पल्टनहरुका बेलायती ब्रिटिश अफसरहरुले पनि आ–आफ्नो सहानुभूति प्रकट गरेका छन् । कामना गरौ ज्ञानराज राईको त्यागले सफलता प्राप्त गरोस् ।