लण्डन – प्रत्येक महिनाको अन्तिम साताको विकेन्डमा (शनिवार वा आईतवार) गरिने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको मासिक साहित्यिक कार्यक्रम आज, २३ नोभेम्बर २०१३को दिन लण्डनको स्ट्राटफोर्ड स्थित ग्रिल एण्ड बार रेस्टुरेन्टमा संस्थाको उपाध्यक्ष नारायण गाउँलेका सभापतित्वमा अत्यन्त रमाइलो तथा सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रमलाई संस्थाकी महासचिव लक्ष्मि थापा राई (लारा)ले सदा झै अत्यन्त प्रभावशाली ढंगबाट सञ्चालन गरेकी थिईन । यस कार्यक्रममा बेलायत प्रत्तिभा प्रतिष्ठानका कार्यकारी समितिका सदस्य तथा युवा साहित्यकार नरेश काङमाङले प्रमुख आतिथ्य ग्रहण गरेका थिए । यस कार्यक्रममा प्रमुख अतिथि, अतिथि तथा समाजमा पहिलो पटक आएका युवा समुहलाई सानो नेपालको झण्डा अङ्कीत ब्याजद्वारा सम्मान गरिएको थियो । सल्लाहकार सुमल कुमार गुरुङलाई उनको कृति “मेजर अर्जुनको औँठी” कथा सङ्ग्रहलाई अनेसास द्वारा यस सालको धवलागिरी सर्वोत्कृष्ट पुस्तक पुरस्कार र नेपाली साहित्य विकाश परिषद, बेलायत द्वारा पहिलो ऐतिहासिक साहित्यिक पुरस्कार द्वारा सम्मानित गरेको उपलक्ष्यमा हार्दिक बधाई ज्ञापन गर्दै सभाध्यक्ष द्वारा खादा ओढाएर सम्मान गरेका थिए । आजको यस कार्यक्रममा युवाहरुलाई लक्षित गरी नेपाली साहित्य बारे अन्तरक्रिया गरेको थियो । यसै अवसरमा कविता तथा गजलहरु सर्जकहरुबाट वाचन गरेका थिए । संस्थाकी महासचिव लाराका पहलमा नयाँ युवा सदस्यहरुलाई यस कार्यक्रममा सहभागिता गराईएको थियो । ती सहभागीहरुबाट राखिएका साहित्य सम्बन्धि जिज्ञासाहरु उपर बृहत छलफल भएको थियो । १५, १६ जना साहित्यकार तथा साहित्य अनुरागीहरुको यो गोष्ठीमा सबैले आ–आफ्नो संक्षिप्त परिचय दिएर कार्यक्रम शुरु गरेको थियो । यस कार्यक्रममा अरु उपस्थित भएका व्यक्तित्वहरुमा एनआरएन एसिया प्यासिफिक क्षेत्रका पूर्व संयोजक तथा सर्जक गणेश ईजम, नेपाली टिभीकी बिमला राई, व्यावसायी तथा साहित्य अनुरागी जोन नकर्मी, मिस्टर सिंह, समाजका सदस्य नवराज धिमिरे, सन्तोष राई, पुरु राईका युवा समुह लगाएतका व्यक्तित्वहरु उपस्थित थिए । साहित्यिक छलफलको क्रममा कविता तथा गजल वाचन गरिएको थियो । कविता तथा गजल वाचन गर्ने सर्जकहरुमा क्रमशः नरेश काङमाङ, नवराज घिमिरे, लारा, सन्तोष राई, गणेश इजम, बिमला राई तथा सुमल कुमार गुरुङ थिए । साँझपख कार्यक्रमका सभापति नारायण गाउलेको धन्यवाद ज्ञापन पछि कार्यक्रम समापन गरिएको थियो । अर्को महिनाको साहित्यिक गोष्ठी संस्थाका सल्लाहकार सुमल गुरुङको संयोजकत्वमा दिनांक २९ डिसेम्बर २०१३को दिनमा प्लमस्टिडमा सम्पन्न गरिनेछ ।
प्रतिक्रिया