लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको दोस्रो अधिवेसन आगामी ९ तारिखका दिन लण्डनमा हुने भएको छ । शाखाको शनिबार लण्डनमा सम्पन्न साधारणसभाले सो निर्णय गरेको हो ।
शाखाका अध्यक्ष नविन पोखरेलको अध्यक्षतामा सम्पन्न सो साधारणसभाले अधिवेसन तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष चिरन शर्माको अध्यक्षतामा तयारी उपसमिति, महासचिव नरेश खपाङ्गीमगरको संयोजकत्वमा उपाध्यक्ष दिनेश परियार र सदस्य उमेश निरौला सदस्य रहेको विधान संशोधन उपसमिति, सचिव धर्मराज अधिकारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र कोषाध्यक्ष लीलामान शेरपुञ्जाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । त्यसैगरी, सोलिसिटर राजु थापाको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरिएको छ ।
यस्तै, शाखाका पुराना सदस्यहरुलाई सदस्यता नविकरण गर्न र नयाँ सदस्यहरुलाई सदस्यता आवेदन गर्नका लागि आगामी जनवरी १५ सम्म अन्तिम म्याद तोक्ने निर्णय पनि साधारण सभाले गरेको छ । साधारण सभामा शाखाको मुखपत्र प्रवासी पत्रकारिताको शाखा अध्यक्ष पोखरेलले विमोचन गरेका थिए । त्यसैगरी महासचिव नरेश खपाङ्गीमगरले सांगठानिक र कोषाध्यक्ष लीलमान शेरपुञ्जाले आर्थिक प्रतिवेदन पेश गरेकाथिए ।
कार्यक्रममा शुभकामना दिँदै युरोपको नेपालीपत्र साप्ताहिकका प्रबन्ध निर्देशक राजन कँडेलले प्रकाशक र पत्रकारबीचको सहकार्यले समाजले धेरै कुरा प्राप्त गर्न सक्ने बताए । समाजले राम्रो कुरा सिक्नमा पत्रकारको भूमिका अहम् रहेको उल्लेख गर्दै उनले पत्रकार महासंघ यूकेलाई जस्तोसुकै सहयोग गर्न आफू तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेे ।
अर्का अतिथि सोलिसिटर राजु थापाले लगनशील भएर आफ्नो व्यवसायमा लागेकोमा पत्रकारहरुलाई बधाई दिँदै धाकधम्कीबाट अविचलित रही निष्पक्ष समाचार संकलन गर्न पत्रकारहरुलाई आग्रह गरे। शाखाका उपाध्यक्ष दिनेशकुमार परियारले सञ्चालन गरेका सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चिरन शर्माले स्वागत मन्तब्य ब्यक्त गरेकाथिए भने सदस्य उमेश निरौलाले धन्यवाद ज्ञापन गरेकाथिए ।-नरेश
प्रतिक्रिया