राष्ट्रिय जनता पार्टी (राजपा)को यही वैशाख ८ देखि चलेको पदाधिकारी बैठक शुक्रबार (१३ वैशाख) टुङ्गिएको छ । बैठकले पार्टीको नयाँ नेतृत्व चयन आगामी कात्तिकमा गर्ने तय गरेको छ ।
पार्टीको महाधिवेशनबारे चलिरहेको विवाद अन्त्य गर्दै पदाधिकारी बैठकले आगामी कात्तिक २८ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि वैशाखमा तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै राजपाले स्थगन गरेपछि विवाद चुलिएको थियो ।
महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने गरी अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । यसैगरी राजपाले ठाकुरकै संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष मण्डलका बहुमत सदस्यहरू विशेष अधिवेशन गर्ने पक्षमा रहे पनि दोस्रो तहका नेता तथा अधिकांश पदाधिकारी पूर्ण अधिवेशनको पक्षमा छन् । आगामी महाधिवेशन ‘पूर्ण महाधिवेशन’ हुने राजपाका महासचिव केशव झाले जानकारी दिएका छन् ।
राजपाले सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । बैठकले भ्रातृ सङ्गठनलाई तत्काल समायोजन गरी पूर्णता दिनुका साथै व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया