लण्डन – विगत केहि महिनादेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि पर्वत जिल्ला, चित्रे–४ निवासी दुर्गा बहादुर बिश्वकर्माका ३२ वर्षीय माहिला छोरा लक्ष्मण बिश्वकर्मा पोखरा स्थित मणिपाल अस्पतालमा किड्नी डाइलीसीस गर्दै बाँची रहेका छन् । गरीबी तथा स्वयम् दुर्गा बहादुर बिकपनि छातीको रोगले गर्दा कमाएर घरधन्दा चलाउने स्थिति नभएकाले आफ्नो जवान छोराको बीमारी खर्च थेग्न सकिरहेका छैनन् । दुर्गाकी धर्मपत्निले आफ्नो एउटा मिर्गौला छोरालाई अनुदान गरेर प्रत्यारोपण गर्ने सोंच बनाएकी छिन्, तर, गरीबीको कारणले आपरेशन खर्च जुगाड गर्न नसकेकाले पञ्चासे समाज यूकेलाई यस समाजका सदस्य कृष्णबहादुर गुरुङ मार्फत आर्थिक सहयोगका लागि अपिल गरेका थिए । मानवीय अनुभूतिलाई आत्मसात गरेर समाजका अध्यक्ष सुमल कुमार गुरुङले पञ्चासे समाज यूकेको ११ जनवरी २०१४का दिन सम्पन्न भएको वार्षिक साधरण सभाको अवसरमा सहभागी सबै सदस्यहरुलाई सहयोगका हातहरु खुला गर्ने अनुरोध गरेका थिए । सोहि अवसरमा त्यहाँ उपस्थित समाजका सदस्यहरुले मानवीय सहयोगको अनुभूति र दुःखको बेला दुबै मिर्गौला काम गर्न छाडेका रोगी लक्ष्मण बिकका लागि व्यक्तिगत हिसाबमा आफूले सहयोग गर्न चाहने केहि अनुदान दाताहरुले त्यतिबेला नै सहयोग रकम दिएका थिए । त्यसपछि त्यहाँ उपस्थिति नभएका समाजका सदस्यहरुले तथा समाजका चेलीहरुले पनि आर्थिक सहयोग प्रदान गरेका थिए । पञ्चासे समाज यूकेबाट सङ्कलित (रु.२,८५,३७०.००) दुईलाख पचासी हजार तीनसय सत्तरी रुपैया पीडित रोगीको उपचारको लागि समाजका अध्यक्ष सुमल कुमार गुरुङले रोगीका बुवा दुर्गा बहादुर बिकलाई समाजसेवी तथा तमुधिं नेपालका पूर्व महासचिव देवी राज गुरुङ मार्फत बुझाएका छन् । यस चन्दा सङ्कलन अभियानमा पञ्चासे समाज यूकेका सबै सदस्यहरु सक्रिय थिए, यद्यपि, पूर्व प्रधानपञ्च, तथा यस समाजका सल्लाहकार धन बहादुर गुरुङ र सदस्य कृष्ण बहादुर गुरुङ (नयाँखोरा बाबु)का विशेष भूमिका रहेको छ । पञ्चासे समाज यूके, बेलायतमा स्थायी रुपमा बस्दै आएका पञ्चासेको उत्तरमोहडा तर्फको काखमा अवस्थित गाउँहरु क्रमशः चित्रे, राम्जा, ठाँटी, राँपु, तिमिल्सिनाथर लगायत क्षेत्रका वासिन्दहरुलाई समेटेर निर्माण गरिएको समाज हो । यस समाजले विगत केहि वर्षहरुदेखि प्रवासमा रहेर त्यस क्षेत्रका वासिन्दहरुलाई आर्थिक सहयोग पुर्याउँदै आएको छ । प्रवासमा बसेर देशलाई माया गर्ने एउटा नमूना समाज पञ्चासे समाज यूके पनि हो ।
प्रतिक्रिया