नेकपा मालेका महासचिव सिपी मैनालीले वामपन्थी शक्ति र प्रजातान्त्रिक शक्ति मिलेर राष्ट्रियता, सिमाना, नागरिकतालगायतका विषयमा सरकारको ध्यानाकर्षण गर्नका लागि केही दिनमा नै संयुक्त विरोध प्रदर्शन गर्ने बताएका छन् ।
नेकपा मालेको काभ्रेपलाञ्चोक जिल्ला भेला कार्यक्रममा उनले वर्तमान नेकपा नेतृत्वको सरकारले राष्ट्रवादका नाममा लम्पसारबाद लागू गरेको आरोप लगाउँदै त्यसका विरुद्धमा विरोधका कार्यक्रम गर्न लागिएको जानकारी गराए । उनले सङ्घीयता पहिचानका आधारमा हुनुपर्ने भएकाले प्रदेशको नामकरण गर्दा जातीय पहिचान र उनीहरुको सांस्कृतिक सभ्यताकोसमेत सम्मान गर्नेगरी हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा पार्टीको पोलिटब्यूरो सदस्य एवं प्रदेश नं ३ का इञ्चार्ज कृष्ण रानाले हेपाइ खाएकाको उद्धारका निम्ति पार्टी निरन्तर आन्दोलनमा रहेको बताए । भेलाले राजन घिसिङको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
प्रतिक्रिया