नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ यही वैशाख २५ गतेदेखि सतहत्तरै जिल्लामा एकसाथ शुरु हुँदैछ । गत साता (११ वैशाखदेखि) नै शुरु गर्न लागिए पनि पार्टीका पूर्वकोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनका कारण काङ्ग्रेसले पार्टीको राष्ट्रिय जागरण अभियानलाई दुई साता पछि सारेको थियो ।
पार्टीलाई पुनर्जागृत तुल्याउन महत्वपूर्ण कडी हुने दाबी गरिएको यस अभियानलाई अनुशासित बनाउने भन्दै कांग्रेसले कार्यकर्तामाथि अंकुश लगाउने रणनीति बनाएको छ । पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टी हितविपरीत काम कारवाही एवं अभिव्यक्ति नदिन कांग्रेसको अनुशासन समितिले निर्देशन जारी गरेको छ ।
काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेको सभापतित्वमा आज (आइतबार) बसेको समितिको बैठकले अभियानलाई मर्यादित, अनुशासित एवं व्यवस्थित बनाउन सो निर्णय गरेको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

अनुशासन समितको बैठकले अभियानका क्रममा पार्टी हितविपरीत काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घलाई स्थलगत अनुगमन तथा निरीक्षण गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
नेतृत्वको कायशैली र क्षमतामाथि पार्टी पंक्तिभित्रैबाट समेत आलोचना हुन थालेपछि पार्टी सभापति शेरबहादुर देउवाको चाहनाअनुसार अनुशासन समितिले यस्तो निर्णय लाद्ने प्रयास गरेको असन्तुष्ट समूहका एक नेताले दाबी गरे । नेतृत्वले अनुशासनको नाममा मुख थुन्न खोजे पनि जागरण अभियानका क्रममा पार्टी नेतृत्वको कमजोरीको भण्डाफोर गर्न आफूहरु पछि नपर्ने दाबी समेत उनले गरे ।
प्रतिक्रिया