फार्नबोरोह । आज अपरान्ह, फार्नबोरोह कम्युनिटि स्कूलको एक हलमा गैरआवासीय नेपाली संघ यूकेले बेलायतका लागि नेपाली राजदूत डा.सुरेशचन्द चालीसेलाई श्रीमतीसहित यूकेमा आफ्नो चार वर्षे कार्यकाल सिध्याएर यही महिनाको अन्त्यतिर नेपाल फर्कंदै गरेकोमा विदाइ र संघमा विभिन्न संघसंस्थाको तर्फबाट प्रतिनिधित्वजस्तै गरी सल्लाहकारको रुपमा आउने नयाँ सल्लाहकारहरु, प्रमुख संरक्षक डा. सूय सुवेदीको संयोजकत्वमा नयाँ संरक्षक मण्डललाई स्वागत तथा स्थानीय पत्रपत्रिकाहरुलगायत अनलाइन न्यूज पोर्टलका पत्रकारहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । समयभन्दा केही ढिलो शुरु गर्नु पर्ने भएकोले कार्यक्रमको शुरुमै निःशुल्क व्यवस्था गरिएको सो भेलामा जनसहभागिता भने उल्लेखनीय रहेको थिएन । जति नै मिलेको देखाउने प्रयन्त गरिएको भए तापनि दुई खेमा भएर एकजस्ता देखिने प्रयत्न गरेका एनआरएनएका दुबैतिरका कार्यकारी सदस्यहरुमा असजिलोपन स्पष्ट देखिन्थ्यो ।
बेलायती स्थानीय नेपाली समाजमा राजदूत चालीसेको चार वर्षे कार्यकाललाई सफल भएको बताउने किसिमका विभिन्न जातजातिका समाजले केही अगाडिदेखि नै राजदूतको विदाइको अवसरलाई सम्झनालायक बनाउने गरी कार्यक्रमहरुको आयोजना गर्दैआएकोमा बेलायतस्थित गैरआवासीय नेपाली संघले आज उस्तै प्रकारको विदाइ कार्यक्रमको आयोजना गर्ने प्रयत्न गरेको भए पनि संघभित्र नै सुमधुर किसिमले कार्य शैलीगत तादात्म्यता मिलेको देखिएको थिएन । अध्यक्ष योगेन क्षेत्रीले यस कार्यक्रमलाई जसरी भए पनि सफल र यादगार बनाउने अभिप्रायले आफ्नो कार्यकारी समितिलाई जागरुक राखेको बुझिन्थ्यो । फार्नबोरोह कम्युनिटि हलको सानो हल पनि राम्ररी भरिएको थिएन र त्यही क्रममा गोपाल गुरुंगबाट हेल्थ ब्रिफ गरिसकेपछि संघका महासचिव योगकुमार फगामी र सचिव संगीता मरहट्टाले संयुक्त रुपमा कार्यक्रमको सञ्चालन गरेका थिए ।
नेपाली राष्ट्रिय गीत बजाएर मातृभूमिप्रति श्रद्धा व्यक्त गरेर कार्यक्रमका सभापति तथा संघका एक अध्यक्ष योगेन क्षेत्री, प्रमुअ अतिथि राजदूत सुरेशचन्द्र चालीसे र विशेष अतिथि तथा संघका प्रमुख संरक्षक सूर्य सुवेदीबाट पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक आरम्भ गरिएको थियो । पाँच जना उपाध्यक्षमध्ये योगेनतर्फकी शान्ती थापा कुँवर र महेन्द्र कंडेलतर्फका सूर्य नेम्वाङले स्वागत मन्तव्य दिएका थिए । शान्ती थापा कुँवरले स्ष्पट रुपमा आगन्तुकहरुलाई स्वागत गरेकी थिईन् भने अर्का उपाध्यक्षले गैरआवासीय नेपाली संघ यूकेको अव्यवस्थित स्थितिउपर प्रशस्तै कटाक्ष गरी आफ्नो समूहको तर्फबाट असन्तोष जाहेर गरेका थिए, उनको भाषणमा नेपाली नेताहरुको जस्तो राजनीतिगत प्रस्तुति थियो । भेलामा उपस्थित धेरैले आफ्नै संस्थाको स्थितिको खोइरो खनेकोजस्तो लाग्ने भाषणमा बिरक्ति जनाएका देखिन्थे । अर्का वक्ता संघका संस्थापक अध्यक्ष महन्त श्रेष्ठले राजदूत चालीसेसँगको सम्वन्ध, तिनको योगदान अनि आफ्नो र उनको बीच बितेका सम्झनाहरुको सम्झनामा निक्कै भावुकताका साथ भाषणमा शब्दहरु प्रयोग गरेका थिए ।
कार्यक्रमको त्यसपछि अल्डरसटस्थित निरमाया दोहोरीका कलाकारहरुबाट एक स्वागत नाच प्रस्तुत गरिने भनिएको भए तापनि कोही मञ्चमा गएका थिएनन् भने धौलागिरी नौमति बाजा समूहले भने बाराम्बार नौमति बाजा बजाइरहेका थिए । त्यसपछि संस्थाका प्रमुख संरक्षक सूर्य सुवेदी, प्रमुख अतिथि राजदूत चालीसे र सभापति क्षेत्रीबाट महन्त श्रेष्ठ, डम्बर घले, सूर्य गुरुङ र कूल आचार्यलाई नयाँ संरक्षकहरुको रुपमा स्वागत गरिएको थियो ।
बजारमा हल्ला चलेको र त्यही कार्यक्रमको शुरुमा स्वागत मन्तव्य दिने क्रममा पाँचमध्येका एक उपाध्यक्ष सूर्य नेम्वाङले तीन सय पाउण्ड संस्थालाई बुझाएर संघको सल्लाहकार बन्ने प्रथाको आफू बिरोधी भनेको र त्यो भनाइको प्रतिक्रियास्वरुप संचालकले नेपालमा परोपकारी कार्यक्रमको लागि इच्छुक व्यक्तित्वहरुसँग उक्त तीन सय लिने निर्णय संघको ढुकुटी भर्नको लागि नभई उक्त परोपकारी कार्यको लागि हो भनिएको लगत्तै विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्ने र अन्य व्यक्ति गरी दर्जनौं व्यक्तिहरुलाई संघको सल्लाहकारमा नियुक्त गर्दै स्वागत, भेलाका सभापति, प्रमुख अतिथि र विशेष अतिथिबाट खादा, टाइ आदि वितरण गरिएको थियो । पहिलोपटक गैरआवासीय नेपाली संघ यूकेले जम्बो साइजको सल्लाहकार बनाएको थियो । त्यसको लगत्तै स्थानीय प्रत्रकारहरुलाई सम्मान गर्दै खादा र टाइहरु प्रदान गरिएको थियो । कार्यक्रममा पुराना कार्यसमितिका सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधित्वहरु विभिन्न संस्थाका अध्यक्षहरुलाई आआफ्नै स्थानमा आसन ग्रहण गराउने, राजनीतिक शैलीका भाषणहरु गर्न दिने, दर्जनौं सल्लाहकारहरुलाई स्वागत र पत्रकारहरुलाई सम्मान गर्ने संघको कार्य शैलीले बिरक्तिएर हलबाट मानिसहरु बिस्तारै पातलिँदै थिए । संस्थाहरुबाट प्रतिनिधित्व गर्ने अध्यक्षहरु र विभिन्न वहानामा स्वागत र सम्मानित हुने व्यक्तित्वहरुबाहेक अर्को ठूलो संख्यामा बेनेफिट खाएर अल्डरसट तथा फार्नबोरोह क्षेत्रमा बस्ने वृढ वृढाहरु रहेको उक्त हल बिस्तारै खाली हुँदै गएको थियो । मामा तथा फुपुहरु आफूहरुलाई अल्डरसट जानको लागि बस नभेट्ने भन्दै हतारिएर निस्कँदै थिए भने, केही महेन्द्र कंडेल समूहकाहरु आफूहरु यस भेलामा आएर गल्ती गरेको भन्दै बाहिरिँदै थिए । महेन्द्र कंडेलको उपस्थिति एक अतिथिको रुपमा रहेको थियो, जबकी बताइएअनुसार सो कार्यक्रमका सहसभापति उनी पनि एक थिए । जिज्ञाशामा कंडेलले बताएका थिए —‘हामीमा संस्थाको नाममा हुने कार्यक्रममा क्षेत्रगत हिसावले त्यसको सभापतित्व गर्ने र केही विषयहरुमा समविचार राख्नेबाहेक हामीले एकले अर्कोलाई निश्चित समयसम्म भरोसादायक किसिमले सहयोग गर्ने मात्र सहमति भएको हो ।’
राजदूत चालीसेलाई उनको चार वर्षे कार्यकालको समाप्तीपछि यूकेबासी गैरआवासीय नेपालीहरुका तर्फबाट गरिन लागेको औपचारिक कार्यक्रममा निक्कै नै लाजमर्दो हालात देखिएको थियो । विभिन्न जातजाति तथा क्षेत्र अनि विचारहरुका संघसंस्थाहरुको छाता संस्थाको रुपमा आफूलाई स्थापित गराएको भ्रम गैरआवासीय नेपाली संघले बोकेको स्पष्ट देखिएको थियो । गैरआवासीय नेपाली संघको अवस्था तथा हालात कुनै एक जातीय संस्थाको भन्दा गिरेको लाग्दथ्यो । पाँच उपाध्यक्षमध्येका एक नेम्वाङलगायत गैरआवासीय संघका अन्य कार्यकारी अधिकारीहरुले बोल्ने काउन्सिल सिस्टमको संघ तयार गरिने भन्ने कुरा हास्यास्पद देखिएको थियो । एक समूहलाई अर्को समूहका एनआरएनएका व्यक्तिहरुले सहयोग नगरी उक्त समूहलाई गिराउने अभीष्ट राखेको शैलीका भनाइहरु हलबाहिर यत्रतत्र सुनिएको थियो । आफ्नो आङ कन्याएर छारो उडाएको अवस्था सजिलै देख्न परेको थियो ।
कार्यक्रमको वक्ताहरुले चाहिनेभन्दा ज्यादा समय लिएर बोलेका थिए अनि मान्छे हलमा नहुँदाहुँदै संस्थाको प्रगतिको विज्ञापन गरेको जस्तो गरी भीडीयोहरु देखाइएको थियो । राजदूतलाई औपचारिक रुपमा भव्य विदाइ गरिने भनिएकोमा लगभग एक दुई दर्जनभन्दा ज्यादा मानिसहरु हलमा उपस्थित थिएनन् । यसमा एक त राजदूतको पनि अपमान भएको छ भने अर्को आफ्नो कार्यगत क्षमता अनि संस्थागत संरचनामा यूकेको एनआरएनए संस्था निक्कै नै कमजोर रहेको प्रमाणित भएको छ । कार्यक्रमको त्यस्तो रुपमा हुनुमा कार्यक्रमको शूरुमै लञ्च राखिनुले पनि हो भन्ने धारणा कार्यकारी समितिका केही व्यक्तिहरुको भनाइ सुनिएको पनि थियो ।
अन्त्यमा, योगेन क्षेत्रीको कार्यकारी समितिले निक्कै उच्च मनासय राखेर यो कार्यक्रमलाई सक्दो सफल राख्नको लागि सक्दो प्रयास इमान्दारिताका साथ गरेको स्पष्ट देखिएको थियो । पत्रकारहरुलाई अन्त्यमा सम्मान गरेर सहानुभूति बुटुल्ने उनको कार्यकारी समितिको शैली हाँसोलाग्दो थियो भने, बिनाकुनै उत्सव र उपलक्ष्यमा सो शैलीमा सम्मानित हुने लोभ त्याग्न नसकेका पत्रकारहरु पनि त्यही मानेमा रमाइला देखिएका थिए ।
-कृपया यहाँ क्लिक गरेर यस भेलाको तस्वीरहरुको एलबम हेर्नुहोला । सम्पादक
प्रतिक्रिया