एनआरएनए यूकेमा विवाद कायमै

एनआरएनए यूकेमा विवाद कायमै


NRNबेलायतस्थित प्रसिद्ध लिड्स विश्वविद्यालयका प्रोसेसर डा. सूर्य सुवेदीको अगुवाईमा गैर आवाससीय नेपाली संघ बेलायतमा व्यापक आर्थिक अनियमिता भएको आफ्नो नाम नबताउने शर्तमा एक सम्वद्ध गैरआवासीय नेपालीले बताएका छन् । गत २९ सेप्टेम्बरमा एनआरएनए यूके संस्थापन पक्ष (योगेन क्षेत्री अध्यक्ष रहेको) र असन्तुष्ट पक्ष (महेन्द्र कंडेल अध्यक्ष रहेको)लाई मिलाउने क्रममा सदस्यता वापत उठेको रकममध्य २०/२० हजार मात्र तिरी चक्रिय प्रणालीमा एक एक बर्ष अध्यक्ष हुन सुझाएका थिए । दुवै तर्फबाट करीब बाह्र हजार एकसय सदस्य संख्या रहेको र ती सदस्यबाट उठाइएको (प्रतिव्यक्ति १० पाउण्डका दरले) करीब एकलाख एक्काईस हजार पाउण्डमध्य करीब असी हजार पाउण्ड घोटला गरिएको छ । एनआरएनए यूकेलाई एक बनाउने नाममा एक करोड बढी नेपाली रुपैंया खुलेआम घोटला गरिनुलाई सबैले आर्श्चर्य मानेका छन् ।

यसअघि अगष्टको १७ गते सम्पन्न मतदाता नामावली दर्ता गर्ने दिन सहभागी नभई २५ अगष्टमा छुट्टै निर्वाचन समितिमार्फत नयां कार्यसमिति चयन गरेका तत्कालीन उपाध्यक्ष महेन्द्र कंडेलसंग करीब ६ हजार ६ सय सदस्य थिए । ती सदस्य प्रत्यकबाट उठाइएको करीब ६६ हजार पाउण्ड र योगेन क्षेत्री अध्यक्ष रहेको एनआरएनमा उठाइएको ५५ हजार पाउण्ड एनआरएनको नाममा मिलेर खाने षड्यन्त्रमा एनअनरएनसम्वद्धहरु मिलेका हुन् कि भन्ने आशंका लागेको बताइएको छ । सामाजिक संस्थामा राजनीति गर्नेहरुले सदस्यताबापत उठाएको रकम यसरी झ्वाम पार्दा पनि यहांका बुद्धिजीवी र नवगठित नागरिक समाज आंखामा पटि्ट लगाएर बसेको छ ।

दूतावासमा पैसाको भागबण्डा

सेप्टेम्बर २९ गते सूर्य सुवेदीले दुबै पक्षलाई मिलाउन कार्यसमितिका पदाधिकारीसहित पूर्व अध्यक्षहरुलाई नेपाली दूतावास भवन लण्डनमा बोलाएका थिए । दिउंसो चारबजे उनीहरुलाई बोलाए पनि दुबै पक्षका हर्ताकर्ता पांचबजेतिर आइपुगे र सुवेदीले असाधारण भेला नाम दिई आफ्ना २१ बुंदै एकताको प्रस्ताव दुबै कार्यसमितिका उपलब्ध सदस्यसामु पेश गरे । उनले पहिलोपटक पेश गरेको सुझावमध्य महेन्द्र कंडेललाई तीस हजार पाउण्ड तिर्ने र पछिल्लो एक बर्ष कार्यकारी अध्यक्ष खाने सहमतिमा योगेनक्षेत्री समुहले मानेनन र पुरै पैसा (६६हजार पाउण्ड नै तिर्नुपर्ने) अडान राखेका थिए । तर सुवेदीको मिल्न आग्रह गर्दै नमिले सोही मितिदेखि नै आफू एनआरएनबाट बाहिरिने भनेपछि सहभागी धेरैले मिल्न योगेन समूहलाई सुझाएको थियो । आफ्नो तर्फबाट चाहिं ५५ बजार पाउण्ड तिर्ने अनि अर्को तर्फबाट तीस हजारमा अध्यक्ष बन्ने भएपछि योगेन समूह त्यमसा सहमत भएन र आफूले तिरेको ५५ बजार पाउण्डबाट तीस हजार एनआरएनमा बुझाई बांकी फिर्ता लिने शर्तमा उनीहरु मान्न तयार भए । तीस तीस हजार पाउण्ड दुवै तर्फबाट आउने पक्का पक्की भएपछि फेरि मान्न कंडेल समूह तयार भएन । बरु आफूहरु ६६ हजार तिर्ने र पहिलो पटक अध्यक्ष खाने च्यांखे दाउमा उनीहरु लागे । त्यो कसैलाई पनि पाच्य थिएन । तीस हजार पाउण्ड तिर्न कंडेलपक्ष (६६ सय सदस्य संख्या भएको) सहमत नभएपछि उनलाई हस्ताक्षर गर्न उनकै कार्य समितिले चयन गरेको आईसीसी सदस्य कर्ण शाहीले पनि सुझाएका थिए । कुनै पनि हालतमा तीस हजार पाउण्ड नतिर्ने बरु आफूहरु वार्ता छाडेर हिड्ने मनस्थिति बनाएपछि उनी २० हजार पाउण्ड (दुईहजार सदस्य संख्या बराबरको पैसा मात्र) तिर्न राजी भए । योगेन क्षेत्री पनि २० हजार पाउण्डमा एक बर्ष अध्यक्ष सम्हाल्न सहमत भएपछि प्रोफेसर सुवेदीले एनआरएन यूके टालटुल गरे । अब प्रश्न उठ्छ के एनआरएन यूकेमा २० हजार पाउण्डमा एकबर्ष अध्यक्ष पद चलाउन पाइन्छ ? सदस्यबाट उठाई एको प्रति सदस्य दश पाउण्ड कता गयो ? च्यारिटि संस्थामा उठेको त्यत्रो पैसा मिलेर खान पाइन्छ ? त्यो पैसा कहां कसरी खाने प्रपञ्च गरियो या गलत संस्कृतिको जग बस्यो ? यी प्रश्नहरुको उत्तर सुवेदी जसको संयोजकत्वमा उक्त भेला बसेको थियो, संग छ ?

यस्तो पनि थियो दूतावासमा

दूतावास सबै नेपालीहरुको धरोहर र गौरब हो । दूतावास तमाम बेलायतवासी नेपालीहरुको घरसरह हो तर एनआरएनका केही लठैतहरुले त्यही घरमा एकअर्काप्रति तितो आक्रोस पोखे, कुर्सी उचाले र कतिलाई लात्ताले समेत भकुरे यस्तो दृश्य गराउन भुमिका खेल्ने प्रोफेसर सूर्य सुवेदी भीडलाई शान्त हुन आग्रह गर्दै थिए । बेलायतको संवेदनशील ठाउंमा रहेको संवेदनशील भवनमा यसरी गाईजात्रे पारा गर्नु हामी बहादुर नेपालीको बहादुरी पनि हो कि ? त्यही बहादुरी हामी देखाउंदै थियौं । बर्मा गए कर्मसंगै, नेपाल गए कपालसंगै भनेजस्तै नेपालीहरुको यो गाईजात्रे पारा देखेर दूतावासमा उपनियोगप्रमुख जिल्ल परे, एनआरएनका केही अग्रजहरु यस्ता दृश्य देखेर चकित भए ।

एनआरएन विवाद के रैछ ?

एनआरएन यूके विवाद अहिले टालिएको छ । माटाको गाग्रो टालिएको जस्तो । तर यति घृणित काम भयो यो टाल्न त्यो जस्तो उदेकलाग्दो अरु के होला र ? पैसामा एनआरएनको किनबेच अहिले आएर पुष्टि भएको छ । त्यो पनि एनआरएनकै संरक्षकले त्यसको पुष्टि गरिदिए । २० हजार पाउण्ड तिर, एक बर्ष कार्यकारी अध्यक्ष पद खाऊ । सदस्यबाट उठाइएको सबै रकम तिर्न अध्यक्षका प्रत्यासीहरुलाई के आपत्ति ? कि उनीहरुले आम एनआरएनसंग हामीले घोटला गरकै हो भनेर माफी माग्नुपर्‍यो कि यो पैसा एनआरएनमा लगाउनुपर्‍यो । होइन भने यसरी पद बांड्ने नाममा करोडौं घोटला गर्ने अधिकार कसैलाई छैन । -हिमाल क्षेत्री