उपप्रधानमन्त्रीले दिए सरकारविरुद्ध आन्दोलनको धम्की !

उपप्रधानमन्त्रीले दिए सरकारविरुद्ध आन्दोलनको धम्की !


सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले आन्दोलनको धम्की दिएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री एवम् फोरमका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफ्ना नेता कार्यकर्तालाई सडक संघर्षको तयारीमा जुट्न आह्वान गरेका हुन् । नेपाल सरकारको उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका यादवले विराटनगरमा यस्तो बताएका हुन् ।

संविधान संशोधनप्रति सरकार गम्भीर नरहेको भन्दै सडक संघर्षका लागि नेता कार्यकर्ताहरुलाई तयारीमा जुट्न उपप्रधानमन्त्री यादवले आह्वान गरेका हुन् । राष्ट्रिय जनता पार्टी नेपालले सडक र सदनमा देशव्यापी सशक्त आन्दोलन गर्ने घोषणा गरेलगत्तै सरकारमा रहेको फोरम नेपालले यस्तो घोषणा गर्नुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । उपेन्द्र यादवको यो उदघोषलाई मधेसको राजनीतिमा पछि परिने त्रासबाट प्रेरित मानिएको छ ।

सरकार र सदनबाट संविधान संशोधनको वातावरण नबनेकाले सडक आन्दोलनको तयारीमा रहेको उपेन्द्र यादवको भनाई छ । संविधान संशोधनसहित दुईबुँदे सम्झौता गरी सरकारमा सहभागी भएका फोरम अध्यक्ष यादवले सडक संघर्षको विकल्प नरहेको बताएका छन् । उनले अहिलेका दुई तिहाइको कम्युनिस्ट सरकार संघीयता कार्यान्वयनको पक्षमा नरहेको आरोपसमेत लगाए ।