बेलायत । ह्याम्सायर क्षेत्रमा रहेका नेपालीहरुलाई विभिन्न तवरबाट सहयोग पु-याउंदै आएका समाजसेवी कमल पुर्जा शनिबार सम्मानित भएका छन् । ह्याम्सायर काउण्टी काउन्सीलले रश्मुर क्षेत्रमा रहेका गोर्खाली एवं नेपाली बृद्धबृद्धाको सहयोगमा समर्पित भएबापत उनलाई ‘हाई शेरिफ कम्युनीटि अवार्ड’बाट सम्मानित गरेको हो ।
रश्मुर क्षेत्रमा सामाजिक काम गर्दै आएका पुर्जा समुदायमा महत्वपुर्ण भुमिका निर्वाह गरे बापत सम्मानित भएका हुन । नेपाली मद्यत समुहको को फाउण्डर एवं को चेयर पुर्जा रश्मुर भोलिन्टिर सर्भिस मार्फत ‘हाई शेरीफ अवार्ड’मा छानिएका थिए ।
ह्याम्सायर बरोभित्र रहि सामाजिक कार्यमा संलग्न करीब दुई दर्जन समाजसेवीहरुलाई टेलिभिजन प्रश्तोता टम ब्राड्बीले हाई शेरीफ अवार्ड वितरण गरेका थिए । कार्यक्रममा ह्याम्सायर कउण्टी काउन्सीलका प्रमुख केन थोन्बरले स्वागत मन्तव्य दिंदै ह्याम्सायरको नाम उच्च बनाउन समाजसेवीहरुको भुमिका महत्वपुर्ण रहेको बताए ।
काउण्टी काउन्सीलले प्रदान गर्दै आइरहेको हाई शेरीफ अवार्डबारे रुपेट योङ्गरले जानकारी दिएभने ह्याम्सायर लाईफकी सम्पादक एलिजावेथ बार्नेटले समाज सेवामा उल्लेख्य योगदान दिएका सम्मानित व्यक्तित्वहरुबारे चर्चा गरेकी थिइन ।
सन् २००८ मा नेपाली मद्यत समुहको स्थापना गरेदेखि उनी सामाजिक काममा निकै अग्रसर छन् । रश्मुर बरो तथा इष्ट्लीमा रहेका नेपालीहरुको हरेक समस्यामा उनले सहयोग गर्दै आइरहेका छन् । ब्रिटिश गोर्खा आर्मीमा सेवारत रहंदा अस्वस्थताका कारण उनले आर्मी सेवाबाट अवकास पाएका थिए र त्यसयता उनले सामाजिक काममा आफ्नो समय खर्चदैं आएका छन् ।
स्थानीय क्षेत्रमा रहेका नेपालीहरुलाई पर्न जाने भाषाको समस्या र वेलफेयरमा उनले महवपुर्ण सहयोग गर्दै आएका छन् ।
अवार्डबाट स्म्मानित भएपछि प्रतिक्रिया दिंदै उनले ह्याम्सायरको सबैभन्दा पुरानो अवार्डबाट सम्मानित हुन पाउंदा आफुलाई खुशी लागेको बताए । अवार्ड तथा सम्मान पाउनकै लागि आफु समाज सेवामा नलागेको स्पष्ट पार्दै उनले काउन्सीलको आफ्नो कामप्रति देखाएको सदासयता प्रंशनीय रहेको बताए । ह्याम्सायरका विभिन्न क्षेत्रमा रहेका विभिन्न समुदायका मानिसहरुलाई मानवताको नातले आफ्नो सहयोग हुने उनको भनाई थियो । नेपाली मद्यत समुहले गोर्खाली बृद्धबृद्धाहरुको सहयोगमा पु-याएको योगदान स्वरुप आफु नोमिनेसनमा परेको उनले बताए । समाज सेवा लिनको लागि नभई दिनको लागि भएकोले यसमा एकमनले लाग्न समाजसेवीहरुलाई उनले आग्रह गरे ।
काउण्टी काउन्सीलले गरेको सम्मान कार्यक्रममा सहभागि गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योगेन क्षेत्रीले ह्याम्सायरका परचित नेपाली समाजसेवी कमल पुर्जा सम्मानित भएकोमा खुशी व्यक्त गर्दै बधाई दिए । उनले नेपालीहरुमा समाजसेवाको भावना रहेको बताउंदै सबै समाजसेवी नेपालीहरुलाई उनीहरुको कामको मुल्यांकन गर्ने स्थानसम्म पु-याउन एनआरएनले पहल गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका युवा नेता एकराज नेम्वाङले समाजसेवी कमल पुर्जा हाई शेरिफ अवार्डबाट सम्मानित हुनु नेपालीहरुकै लागि गौरब भएको बताउंदै समाजसेवाको सहि सम्मान र नेपालीहरुको प्रतिनिधित्वले आफूलाई खुशी लागेको उल्लेख गरे ।
ह्याम्सायर हाई शेरीफ अवार्डबाट सम्मानित पुर्जा इष्ट्ली गोर्खा नेपालीज एशोसियसनको ट्रष्टिज पनि हुन् ।
-हिमाल क्षेत्री
प्रतिक्रिया