-हिमाल क्षेत्री
लण्डन । पत्रकारिता क्षेत्रमा आवद्ध पेशाकर्मीहरुको संस्था नेपाल पत्रकार महासंघ बेलायत शाखाको निर्वाचन ०९ मार्च २०१४ मा हुंदैछ । यसअघि २३ फेब्रुअरीमा कोषाध्यक्ष बाहेक अन्य पदहरुमा आवश्यकताबमोजिक नै उम्मेदवारी परेकोले सर्वसम्मत भइसकेको हो, आधिकारिक निर्णय हुन मात्र बांकी छ ।
बेलायतजस्तो देशमा पनि पेशाकर्मीभन्दा राजनीतिक पार्टीका खोल ओढेकाहरुको विगविगी पत्रकार महासंघमा छ । २३ गतेको उम्मेदवारी दर्ता प्रक्रियामा महासचिव जस्तो गरिमामय पदमा उम्मेदवारी दिएका श्याम लुंइटेललाई सोही दिन रेडिङमा सम्पन्न एमाले प्रचार विभाग बैठकले सदस्यको रुपमा चयन गरेको छ । संयोग पनि कस्तो, लुईंटेलले जुन दिन पत्रकार महासंघ बेलायत शाखाको महासचिव पदमा उम्मेदवारी दर्ता गराए त्यही दिन उनलाई नेकपा एमालेको भातृ संस्था प्रवासी नेपाली मञ्च बेलायतले प्रचार विभाग सदस्यमा नियुक्ती दियो ।
प्रवासी नेपाली मञ्च बेलायतले हालै गठन गरेको नौ सदस्यीय प्रचार विभागमा लुईंटेललगायत अधिकांश सदस्यहरु पत्रकार महासंघ बेलायत शाखामा आबद्ध छन् । प्रचार विभाग प्रमुख कुमार केसीले बक्तव्य जारी गरी प्रचार विभागलाई पूर्णता दिइएको सार्वजानिक गरेका थिए । केसीका अनुसार एक सदस्यपछि नियुक्त गर्ने गरी गठन गरिएको सो विभागको सचिवमा मञ्चका केन्द्रिय सदस्य देवेन्द्र बजगाईं चयन भएका छन् । त्यस्तै बिमला सेने, लिलाममान शेरपुञ्जा, श्याम लुईटेल, फणिन्द्र भट्टराई, राजकुमार थापा र डी अर्याल सदस्य छन् । एमाले प्रचार विभागका सदस्य रहेका शेरपुञ्जा ०९ मार्चबाट पत्रकार महासंघ यूकेको सचिव हुंदैछन् । उनी अहिलेका कोषाध्यक्ष हुन् । त्यस्तै राजकुमार थापा र डी अर्यालले पत्रकार महासंघ यूकेको सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सेने र भट्टराई पनि पत्रकार हुन् ।
विभागको पहिलो बैठक सात मार्च अर्थात शुक्रबार अल्डरसटमा बस्दैछ । बैठकले आगामी कार्ययोजना तय गरी भावी रणनीति तय गर्ने प्रचार विभाग प्रमुख केसीको विज्ञप्तीमा छ ।
नेकपा एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मञ्चका अध्यक्ष राम शरण सिंखडाले नवगठित प्रचार विभागका सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् । यसअघि गैर आवासीय नेपाली संघको महासचिवसमेत रहेका सिंखडा समाजका अलोकप्रिय मानिन्छन् । उनी महासचिव रहंदा पत्रकार महासंघसंग मिलेर एनआरएनए यूकेले उनैको संयोजनमा पत्रकारहरुको बृत्ति विकासका लागि आयोजना गरेको च्यारिटि कार्यक्रमबाट कति पैसा संकलन भयो र त्यो कहां छ त्यसको कुनै लेखाजोखा छैन । प्रवासी नेपाली मञ्चको निर्वाचनमा पनि धांधली गरेर बन्द कोठाबाट आफ्नो पक्षमा निर्णय गराएको उनी माथि आरोप लागेको छ ।
प्रतिक्रिया