शेष घलेको सम्मानार्थ डिनर र पत्रकार सम्मेलन

शेष घलेको सम्मानार्थ डिनर र पत्रकार सम्मेलन


11अल्डरसट । गत शुक्रबार, अल्डरसटस्थित निरमाया रोदीको हलमा एनआरएनए यूकेले आफ्नो केन्द्रीय अध्यक्षको उपस्थितिमा एक भेलाको आयोजना गरेको थियो जसमा स्थानीय संघसंस्थाहरुका प्रतिनिधिहरुलगायत संघको आफनै समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । केन्द्रीय अध्यक्षको आगमनलाई स्वागत गर्दैै सम्मानार्थ डिनरको आयोजना गर्दै सोही सन्दर्भलाई नै पत्रकार सम्मेलनको रुपमा दर्शाइएको थियो ।

122साँझको साढे ६ बजे शुरु भएको सो भेलामा पत्रकारहरुका लागि भनी अन्तिम प्रहर अर्थात् ११ बजे रातमा समप्त भएको उक्त कार्यक्रमको साढे १० बजे मात्र प्रश्नहरु सोध्ने मौका दिइएको थियो । स्थानीय पत्रकार धर्मराज अधिकारीले एनआरएनए यूकेले गत चुनावमा नयाँ सदस्य बनाएर उठाएको सदस्य शुल्कको तीन पाउण्डको दरले कति रकम केन्द्रले प्राप्त गरेको छ भनेर राखेको प्रश्नको उत्तर केन्द्रीय अध्यक्ष शेष घलेले दिनुभन्दा अगाडि नै एनआरएनए यूकेका अध्यक्ष योगेन क्षेत्री र डम्बर घलेले बीचमै टालटुले जवाफ दिन खोजेका थिए भने अर्का पत्रकार चिरण शर्माले प्रतिकार गर्दै एनआरएनएको केन्द्रीय अध्यक्षलाई राखिएको प्रश्नको उत्तर उनैले दिनुपर्छ, नदिए, यो पत्रकार सम्मेलनको मतलव नै हुँदैन भन्ने आसय राखेपछि शेष घलेले एनआरएनए विधि तथा विधानसम्मत भएर चल्ने जवाफ दिएर संस्थाको अन्यौल छविको दर्शन गराएका थिए । यूके एनआरएनएमा भएको विवादलाई केन्द्रले कसरी हेरिरहेको छ भन्ने प्रश्नको पनि उही आसय रहेको थियो ।

33पत्रकार सम्मेलन भनेर राखिएको कार्यक्रममा पत्रकारहरुलाई मात्र आधा घण्टाको समय दिइएको थियो र पत्रकारहरुलाई एक कुनामा केही टाढै राखिएको थियो । कार्यक्रमको औपचारिक चरणमा विभिन्न वक्ताहरुले बोलेका थिए भने अध्यक्ष घलेले एनआरएनएले गरेका केही कामहरुको र वर्तमान अवस्थाको बारेमा आफ्नो मन्तव्यको क्रममा बोलेका थिए, सो कार्यक्रमलाई एनआरएनए यूकेका अध्यक्ष योगेन क्षेत्रीले अध्यक्षता गरेका थिए । औपचारिकतामा नै ज्यादा समय खर्चिएर अनि एनआरएनएको सान्दर्भिकताको वर्तमान अवस्था –स्थानीय एनआरएनएको बारेमा विवरणतात्मक मन्तव्यहरुबिना कार्यक्रम लम्ब्याएर र पत्रकारहरुलाई छोटो समय दिएर, कार्यक्रमका व्यवस्थापन पक्षले रमाइलो गरेका थिए । प्रत्यक्ष सहभागीहरुले कार्यक्रमको व्यवस्थापन अति नै फितलो भएको बताएका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो भने विभिन संघसंस्थाहरुबाट एनआरएनए यूकेका केन्द्रीय अध्यक्षलाई खादा ओढाएर सम्मान गरेका थिए ।

सोही कार्यक्रममा विभिन्न विषय, सन्दर्भ अनि लक्ष्यमा एनआरएनए यूकेबाट उठाइएको नेपाली रुपैंया एक करोडको चेक एनआरएनए यूकेका अध्यक्ष योगेन क्षेत्रीले केन्द्रीय अध्यक्ष शेष घलेलाई हस्तान्तरण गरेका थिए ।