गैर आवासीय नेपाली संघ बेलायत, एनआरएनए युकेले १०४ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाएको छ । गत मार्च ८ तारिख शनिबार कोर्ट मुर स्कुल, ह्याण्ट्समा सम्पन्न कार्यक्रममा एनआरएनए आइसिसिका अध्यक्ष शेष घले तथा उहांकी धर्मपत्नी तथा सफल व्यवसायी श्रीमती जमुना घलेको उपस्थिति रहेको थियो । उहांहरुलाई धौलागिरी नौमती बाजाको सुमधुर धुनसंगै पन्चकन्याहरुले मुलद्धारमै भव्य स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जमुना घलेले आफूले व्यक्तिगत रुपमा महिला भएकै कारण कुनैं पनि भेदभाव सहनु नपरेको भएतापनि नेपाल लगायत विश्वका विभिन्न देशहरुमा बसोबास गर्ने नेपाली महिलाहरु पक्षपातको शिकार भएको हुनसक्ने बताउनुभयो । महिलाहरुको उत्थानका लागि उनीहरु शिक्षित र स्वाबलम्बी हुनु अत्यन्त जरुरी भएको र समानताको शुरुवात प्रत्येक व्यक्तिको घरबाट नैं हुनुपर्नै उहांको धारणा थियो ।
एनआरएनए आइसिसिका अध्यक्ष शेष घलेले आफ्नो जीवनमा र व्यवसायमा आफु र आफ्नी श्रीमती जमुना घलेको बराबरको सहभागीता रहेको र हरेक घरमा पुरुषहरुले आफ्नी श्रीमतीको पुरा क्षमतालाई सदुपयोग गर्न सके भेदभावको कुरै नउठ्ने र प्रगती पनि हुने बताउनुभयो । एनआरएनएमा महिला विभाग तथा टास्कफोर्सहरु बृहत बनाउंदै लगिएको भएतापनि सकेसम्म महिलाहरु मुलधारमैं आउनुपर्ने घलेको सुझाव थियो । त्यसैगरी एनआरएन युकेका अध्यक्ष योगेन क्षेत्रीले यस कार्यक्रमका लागि एनआरएनए युकेका सचिव तथा कार्यक्रम संयोजक संगीता मरहट्टा तथा महिला संयोजक बबिता लामाले गरेको मेहनतको कदर गर्दै यसले महिलाहरु कति सक्षम छन् भन्नेकुरा प्रष्ट पारेको बताउनुभयो ।
एनआरएन युकेकी महिला संयोजक बबिता लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गायिका सितु खरेललले शुभकामना भरी बोलको गीतबाट सबैको स्वागत गरेकी थिईन् । कार्यक्रमकी संयोजक तथा एनआरएन युकेकी सचिव संगीता मरहट्टाले उपस्थित सबै तथा कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु, सहयोगीहरु तथा स्पोन्सरहरुलाई धन्यवाद दिएकी थिईन्। कार्यक्रममा रशमुर काउन्सिलर जेनिफर क्रफोर्ड, तमुधी युके आमा समुहकी अध्यक्ष पुनम गुरुंग, एनआरएन युकेका सल्लाहकार नरकुमारी लिम्बु, नेपलिज वुमेनस् एशोसिएसनकी अध्यक्ष आरती श्रेष्ठ, नेपलिज नर्सिंग एसोशियसन युकेकी उपाध्यक्ष शुसिला कार्की, समाजसेवी पुष्पा गुरुंग तथा एनआरएन युकेका अध्यक्ष योगेन क्षेत्रीकी धर्मपत्नी रीता क्षेत्रीले समाजमा महिलाहरुको भुमिकाबारे प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा बेलायतको नेपाली समाजमा विभिन्न तवरले योगदान पुर्याएका दश जना महिलाहरुलाई अवार्ड, प्रमाणपत्र, पुष्पगुच्छा तथा एनआरएनको दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा छविमाया पुन, ज्ञानुमाया गुरुंग, मिनु शाक्य श्रेष्ठ, पद्मा तामांग वुड, पुनम गुरुंग, ओमकुमारी पुन, पुष्पा गुरुंग, शर्मिला बर्देवा, सितु खरेल र शोभा शर्मा कंडेल रहेका थिए । एनआरएन युकेले महिलाहरुलाई यसरी सम्मानित गरेको यो पहिलो अवसर हो ।
सोही अवसरमा एनआरएन युकेको मुखपत्र एनआरएन पत्रको आइसिसि अध्यक्ष शेष घले तथा कार्यक्रमकी प्रमुख अतिथि जमुना घलेले विमोचन गर्नुभएको थियो । सचिव संगीता मरहट्टाद्धारा सम्पादन गरिएको सो मुखपत्र एनआरएन युकेको एक दशकको इतिहासमा पहिलोपटक प्रकाशन भएको हो । प्रमुख अतिथि श्रीमती घलेले कलाकारहरु, स्वयंसेवक तथा स्पोन्सरहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
औपचारिक कार्यक्रमपछि भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विशाल रेग्मी, शर्मिला बर्देवा, प्रतिभा शाहीको सांगितिक प्रस्तुती रहेको थियो भने कौडा, चुट्का तथा राष्ट्रियता झल्काउने नृत्यहरु समेत प्रस्तुत भएका थिए । नारी दिवस कार्यक्रममा प्रवेश निशुल्क रहेको थियो । सो कार्यक्रममा एनआरएनएका सल्लाहकार तथा एनआरएन युकेका पुर्व अध्यक्ष र हालका संरक्षक डमर घले, पुर्व अध्यक्षहरु सुर्य गुरुंग, कुल आचार्य, सल्लाहकारहरु, आइसिसि सदस्यहरु तथा महिलाहरुको बाक्लो सहभागीता रहेको थियो । औपचारिक कार्यक्रमको संचालन लक्ष्मी राईले गरेकी थिईन्। सांस्कृतिक कार्यक्रमको सम्पुर्ण व्यवस्थापन सपन कुमार राईले गरेका थिए र सो कार्यक्रमको संचालन दुर्गा गुरुंग र प्रशुना कंडेलले गरेका थिए । –संगिता मरहट्टा
प्रतिक्रिया