बेलायत । बेलायतमा अध्ययनरत एकजना विद्यार्थी शेष बहादुर गुरुङले गत बुधबार झुण्डिएर आत्महत्या गरिएको अवस्थामा भेटिइएका थिए । ह्वाइटच्यापलमा रहेको गिल्डहल कलेजमा अध्ययनरत गुरुङ ब्रिष्टोलस्थित कोठामा अप्रिल २ गते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । बुटबलमा वडा नं ६ लक्ष्मीनगरका २६ बर्षीय गुरुङ सन् २००९ को सेप्टेम्बर महिनामा बेलायत आएका हुन । उनको पुख्र्यौली घर भने तनहुंको फिरफिरे हो । उनका हान्स्लोका साथीहरुका अनुसार उनी निकै उत्साहप्रद अनि मिलनसार थिए । उनका बुबा, आमा र भाइ बुटवलमा बस्दै आएका छन् ।
उनी स्थानीय बुफे रेष्टुरेण्टका केही समयदेखि काम गर्दै आएका थिए । त्यही रेष्टुरेण्टले उपलब्ध गराएको आवास कक्षमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
मृतक गुरुङका साथी कमल थापाका अनुसार शेषको मृत शरीरलाई स्थानीय फ्युनरलसंग समन्वय गरेर नेपाल पठाउने तयारी भइरहेको छ । उनको पार्थीव शरीरलाई नेपाल पठाउनका लागि लाग्ने आवश्यक रकम जुटाउन कलेजका विद्यार्थीहरुले फण्ड रेइजिङ टिम बनाएर अभियान थालेका छन् । साथै गैर आवासीय नेपाली संघ युके र अन्य नेपाली संघसंस्थाहरुसंग पनि सहयोग जुटाउन पहल गरिने बताइएको छ ।
प्रहरीले उनको कोठाबाट सुसाईड नोट बरामद गरे पनि त्यसमा के लेखिएको थियो भन्ने खुलाइएको छैन । प्रहरीले मृत्युबारे आवश्यक अनुसन्धान गरिरहेको उनका आफन्तले बताएका छन् ।
मृतकका साथी थापाले बिद्यार्थीहरुको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा डिप्रेसनको कारणले शेषले कठोर निर्णय लिएको हुनसक्ने बताए । उनले मृतकको शव नेपाल पठाउनका लागि सहयोग गर्न बेलायतवास नेपालीहरुलाई आव्हान गरेका छन् ।
-धर्मराज अधिकारी
प्रतिक्रिया