लण्डन । वषौंअघि मर्मत सम्भार अनि सरसफाइको नियमित खर्चको भार थेग्न नसकिने देखेर बेलायतस्थित नेपाली दूतावासलाई बेच्नको लागि गरिएको सुझाव र त्यसबाट नेपाल तथा प्रवासमा फैलिएको आलोचनात्मक टिकाटिप्पणीलगायत विवादहरुपछि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपाल सरकारबाट अति नै न्यून रुपमा आएको बजेटलाई प्राथमिकताको आधारमा सदुपयोग गरी दूतावासको मुहार नै संयुक्त रुपमा फेर्न आफूलगायत सम्पूर्ण कर्मचारीहरु लागीपरेको कुरा बताएका छन् । डा. सुरेशचन्द्र चालिसेको नेपाल वापसीपछि तथा बर्षौदेखि जीर्ण बनेको लण्डनको नेपाली दूतावास भवनको मर्मत सम्भार तथा सरसफाइ योबेला जोडतोडका साथ थालिएको छ । स्मरणीय रहोस्, सरकारले बजेट नदिएको कारण देखाउँदै यसअघिका राजदूतहरुले भवन मर्मत सम्भार गर्न नसकिने बताउँदै आएका थिए ।
दूतावासले दुइटा काउन्टरबाट सेवा दिन थालेको छ । यसअघि भीसा, पासपोर्टलगायतका काम एउटै काउन्टरबाट हुँदा विदेशी र नेपालीहरु मर्कामा परेका थिए, अहिले पहिलोपटक दुइटा काउन्टरबाट सेवा शुरु गरिएको छ । जनघनत्व बढेकोले गर्दा दूतावासमा जनशक्तिको अभाव भएकोबारे पटक–पटक सरकारलाई ध्यानाकर्षण गराएको तर सुनुवाइ नभएको कार्यबाहक राजदूत क्षेत्रीले बताएका छन् । थोरै जनशक्तिले धेरै सुविधा दिन सकियोस् भनेर नयाँ काउण्टर त्यसैले पनि थपेको हो ।
निवर्तमान राजदूत डा. सुरेशचन्द्र चालिसेले हटाएका दुई स्थानीय कर्मचारीको पदपूर्ति नभएकोमा हाल सोही पद पूर्तिका लागि प्रक्रिया शुरु गरिसकिएको दूतावासले जनाएको छ । सन् १९४७ मा देखि थोरै जनशक्तिले सेवा प्रदान गर्दै आएको थियो । दूतावासले पटक–पटक जनशक्ति थप्न नेपाल सरकारसँग माग गर्दै आए पनि सुनुवाइ नभएको बताइन्छ । हाल दूतावासमा आउने सेवाग्राहीका लागि दुइटा नयाँ ट्वाइलेट थपिएका छन् । दूतावास भवनभित्रै फोटोकपी गर्ने ब्यवस्था मिलाइएको छ । राहादानीसम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमा अप–डेट गरिएको छ जसमा अनलाइनबाटै आफ्नो राहादानी तयार भए–नभएको जानकारी लिन सकिने छ ।
–नीर, तस्वीर श्रोत नेट
प्रतिक्रिया