नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको शीर्ष नेतृत्व पोलिटब्युरोमा सहमति जुटाएको छ । पार्टीले जिल्लाको एकीकरण टुंग्याएको दुई हप्ता नपुग्दै पोलिटब्युरो गठनमा नेकपाले सहमति जुटाएको हो । केन्द्रीय कमिटीको एकतिहाइ रहनेगरी पोलिटब्युरो कमिटी गठन हुने विधानमा व्यवस्था छ । नेकपाको केन्द्रीय समिति चार सय ४१ सदस्यीय छ र सोहीमध्येबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुने बताएको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जानुअघि नै नेकपाले पोलिटब्युरो गठनमा सहमति जुटाएको हो । सहमतिपछि नेता नेपाल अमेरिका प्रस्थान गरिसकेका छन् ।
नेकपाले पार्टीमा कम्तीमा दुईपटक केन्द्रीय सदस्य भइसकेकामध्येबाट पोलिटब्युरो सदस्य चयन गर्ने तयारी गरेको छ । यो नियम महिला, दलित, जनजाति र मधेसीको हकमा लागू हुने र बाहुन–क्षत्रीका हकमा तीन कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने मापदण्ड लागू हुने बताइन्छ ।
यही मापदण्डलाई आधार मानेर समूहगत रूपमा पोलिटब्युरोमा सिटसंख्या बाँडफाँड गरेर कुरो मिलाइएको बताइएको छ । सिटसंख्या बाँडफाँडमा पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ जनाले पोलिटब्युरोमा नेतृत्व गर्ने सहमति जुटेको बताइन्छ ।
पूर्वएमालेमा पनि केपी ओली समूहलाई ओली ३८, माधवकुमार नेपाल समूहलाई ३६ र गौतम समूहलाई ७ सिट दिने गरी कुरा मिलाइएको छ भने पूर्वमाओवादीको पुष्पकमल दाहाल समूहलाई ४९, रामबहादुर थापा समूहलाई १० र नारायणकाजी श्रेष्ठ समूहलाई ७ वटा सिटमा भागभन्डा गरिएको छ ।
नेकपाका कतिपय नेताकार्यकर्ताबीच नै वामदेवपक्षीय पात्रहरुलाई प्रचण्डकै ‘पकेट’का भन्दै चर्चा गरेका छन् । कथित सहमतिअनुरुप नै भागबण्डालाई अन्तिम रुप दिइएमा पोलिटब्युरोमा प्रचण्डको पक्षमा बहुमत पुग्ने देखिन्छ ।
प्रतिक्रिया