बारा-पर्सामा ‘जनता आवास’ कार्यक्रम आरम्भ

बारा-पर्सामा ‘जनता आवास’ कार्यक्रम आरम्भ


बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा ‘जनता आवास’ (बारा र पर्सा) कार्यक्रमको शुरु भएको छ । प्रभावित जिल्लाका विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकैपटक घर निर्माण गर्ने योजनाअनुरुप वैशाख १४ गतेबाट नेपाली सेना आवश्यक बन्दोबस्ती तयारीका साथ तैनाथ भएको थियो । यसैलाई औपचारिक रूप दिँदै शनिबार (२१ वैशाख) उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतलगायत मन्त्रीहरूबाटआवास निर्माण कार्यको शिलान्यास भई कार्यारम्भ भएको हो ।

‘जनता आवास’ कार्यक्रमको क्रममा फेटा गाउँपालिका–६ पुरैनियामा उपप्रधानमन्त्री पोखरेलले, परवानीपुर– ४ चैनपुरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले, प्रसौनी गाउँपालिका–४ खटुवाजग्दीम गृहमन्त्री रामबहादुर थापाले, वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले, सुवर्ण गाउँपालिका–४ हर्दियामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले, पचरौता नगरपालिका–७ बेनौलीमा संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले, फेटा गाउँपालिका–४ भलुहीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रीमती थममाया थापाले, वीरगञ्ज महानगरपालिका–५ उदयपुर घुर्मीमा खानेपानीमन्त्री वीना मगरले, फेटा गाउँपालिका–४ भरवलीयामा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले, महागढीमाई नगरपालिका–७ तेलगाईमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रीमती पद्माकुमारी अर्यालले, कलैया उपमहानगरपालिका–१३ छोट्कीफुलबारिया र देवताल गाउँपालिका–७ रामपुर्वामा प्रदेश नं. २ का मुख्यमन्त्री राउतले नवनिर्माणाधीन घरहरूको शिलान्यास गरेका छन् ।

हावाहुरी प्रभावित क्षेत्र पर्सामा ९१ घर र बारामा १३६२ घर गरी जम्मा १४५३ घर निर्माणका लागि विभिन्न १२ ठाउँमा नेपाली सेनाका इन्जिनियरलगायत हाल २३३२ जना दक्ष जनशक्ति परिचालित भइरहेका छन् । तीन चरणमा सम्पन्न गरिने ‘जनता आवास’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ४ सय ८२ घर जेष्ठ २६ गतेभित्र, दोस्रो चरणमा ४ सय ८२ घर आषाढ २८ गतेभित्र र तेस्रो चरणमा ४ सय ८९ घर श्रावण ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको बताइएको छ । उक्त निर्माणाधीन घरहरुको अनुगमन, नियन्त्रण, समन्वय र सहयोग गर्नको लागि स्थानीय स्तरमा पुनर्स्थापना तथा घर पुनर्निर्माण सहजीकरण समन्वय समिति समेत गठन भएको नेपाली सेनाले जनाएको छ ।

आवास निर्माण शुभारम्भको क्रममा उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनालाई दिइएको जिम्मेवारी समयमा नै सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताए भने प्रदेश नं २ का मुख्यमन्त्री राउतले निर्माण कार्यको लागि नेपाली सेनालाई जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता प्रकट गरे ।

उक्त कार्यक्रममा नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिको प्रतिनिधित्व गर्दै बलाध्यक्ष रथी गौरव तण्डुलले स्वागत मन्तव्य दिएका थिए ।