एघार प्रदेशको माग अघिसार्दै ‘सपाने’ घोषणा

एघार प्रदेशको माग अघिसार्दै ‘सपाने’ घोषणा


बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एकीकरण भई समाजवादी पार्टी नेपाल जन्मिएको छ । आज (सोमबार) भएको पार्टी एकता घोषणापछि विधिवत रूपमा ‘सपाने’ जन्मिएको हो ।

राजधानीमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा दुवै निवर्तमान पार्टीका प्रमुखहरूले ९बुँदे समझदारीपत्रमा हस्ताक्षर गररी पार्टी एकताको घोषणा गरेका हुन् । एकता समारोहमा दुवै पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

सपाने घोषणासँगै फोरम र नयाँ शक्ति दुवै दल विधिवत रुपमा विघटन भएको छ भने ‘समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ताको प्रक्रिया छिट्टै शुरु गरिने जनाइएको छ ।

हेर्नुहोस् दुई पार्टी एकीकरणमा भएको सम्झौताका बुँदा-

१. नेपालको राजनीतिक क्षितिजमा संघीयता र समाजवादको सिद्धान्तमा स्थापित संघीय समाजवादी फोरम, नेपाल र संविधान घोषणापश्चात् प्रगतिशील लोकतान्त्रिक शक्तिको रूपमा स्थापित नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण गरी समाजवादी पार्टी, नेपाल स्थापना गरिएको छ । यस अवसरमा हामी नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । यसक्रममा बेपत्ता, घाइते, काराबास तथा शहीद परिवारलगायतका योगदान सबैप्रति उच्च सम्मान प्रकट गर्दछौँ ।

२. समाजवादी पार्टी, नेपालको राजनीतिक कार्यदिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्नु हुनेछ । यसका लागि जनसंघर्ष र संविधान संशोधनमार्फत् देशको प्रगतिशील रूपान्तरण, दीगो विकास र समतामूलक समृद्धिको बाटोमा अगाडी बढ्ने छ । हाम्रो लक्ष्य नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेदरहित, धर्मनिरपेक्ष, समृद्ध, संघीय गणतन्त्रात्मक राज्यव्यवस्था स्थापित गर्नु हुनेछ ।

३. संघीय समाजवादी फोरम, नेपालले अवलम्बन गरिआएको संघीय समाजवाद र नयाँ शक्ति पार्टी, नेपालले अवलम्बन गर्दै आएको सम्मुनत समाजवादको आधारमा सम्मुनत संघीय समाजवादको सिद्धान्त अगाडि सारेका छौं । विश्वमा संघीयता र समाजवादका विभिन्न प्रारूपहरू छन् । यसलाई नेपाली समाजले विशिष्ट स्थिति, जनताको चेतना र विचारधारात्मक तथा सांस्कृतिक स्तरको उन्नयनसँगै सम्मुनत गर्दै लगिने भएकाले सम्मुन्नत संघीय समाजवाद भनिएको छ ।

४. उपयुक्त सैद्धान्तिक–वैचारिक मान्यताको आधारमा यसले राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुल्ला समाज, वालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवम् मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता जस्ता लोकतन्त्रका साश्वत मूल्य र मान्यताहरू सबै आत्मसात गर्नेछ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणाली अपनाइनेछ । त्यसको अलावा या कार्यक्रमको मौलिक विशेषताहरू निम्नानुसार हुनेछन्– १. राष्ट्रिय स्वाधीनता, २. संसदीय शासन, ३. समाजवादी व्यवस्था, ४. सहभागितामूलक समावेशी लोकतन्त्र, ५. राष्ट्रिय पहिचान, ६. सामाजिक न्याय, ७, समतामूलक समृद्धि, ८. लोक कल्याणकारी राज्य र सामाजिक सुरक्षा, ९. सुशासन र सदाचार, १०. समानुपातिक समावेशीकरण, ११. स्वशासन तथा स्वायत्तता, १२. सांस्कृतिक बहुलता, १३. समानुपातिक निर्वाचन प्रणाली, १४. पर्यावरणीय सन्तुलन र १५. बहुलतायुक्त समाज र राष्ट्रिय एकता ।

५. हामी नेपाललाई साँचो अर्थमा संघीय राज्य बनाउन प्रतिवद्ध छौँ । यसका निम्ति संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १ जोड १० प्रदेशहरू (११ प्रदेश)को रचना गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।

६. नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरु मधेशी, आदीवासी, जनजाती, शिल्पी–दलित, खस, मुस्लिम, थारु, महिलालगायतको राष्ट्रिय सवालहरु सम्बोधन गर्न पार्टी प्रतिवद्ध छ। नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय असमानता र विभेद अन्त्य गरी स्वतन्त्रता, समानता, सामाजिक न्याय र सामाजिक सुरक्षासहितको समाज व्यवस्था निर्माण गरिनेछ ।

७. नेपालमा विद्यमान पिछडिएको उत्पादन सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिनेछ । समतामुलक समृद्धि, समन्यायिक वितरण, दिगो विकास र मानवीय खुसी समृद्धिका आयाम हुनेछन् । देशमा विद्यमान चरम भ्रष्टाचार, आर्थिक अनियमितता, अपारदर्शिता र लुटतन्त्रको समुलत्य गर्दै सुशासनयुक्त राज्य व्यवस्था स्थापना गरिनेछ । कर्मचारी तन्त्रको पुनर्गठन र सम्बद्ध सबै निकायहरुको सवलीकरण गरिनेछ ।

८. संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपाल आजकै मितिदेखि विघटन गरी समाजवादी पार्टी, नेपाल घोषणा गरेका छौँ । यसलाई दल दर्तासम्बन्धी ऐनबमोजिम निर्वाचन आयोगमा दर्ता गरिनेछ ।

९.यो एकीकरणबाट नेपालभ न वैकल्पीक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र सजवादलाई आधार तत्व भनी अझै वृहत राजनीतिक ध्रुवीकरण अत्यावश्यक छ । अतः नयाँ राजनीतिक शक्ति निर्माणको यस महान् अभियानमा सामेल हुन सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादी शक्ति, समूह, व्यक्ति–व्यक्तित्वहरूमा हार्दिक आव्हान गर्दछौँ ।

– उपेन्द्र यादव, (अध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल)
– डा. बाबुराम भट्टराई (संयोजक, नयाँ शक्ति पार्टी, नेपाल)

मिति : २०७६–०१–२३ (सन् २०१९ मे ६)