रेशम चौधरीलाई ‘न्याय दिलाउन’ थारुहरुको राष्ट्रिय भेला हुँदै

रेशम चौधरीलाई ‘न्याय दिलाउन’ थारुहरुको राष्ट्रिय भेला हुँदै


  • हेमशंकर सिंह, राजविराज

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई न्याय दिलाउन गठित रेशम चौधरी बचाउ अभियान संघर्ष समितिले अगामी बुधबारदेखि सप्तरीमा थारु राष्ट्रिय प्रशिक्षण भेला गर्ने भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका स्थित बलुवा चोकमा हुने तीन दिवसीय (२५, २६ र २७ वैशाख) उक्त प्रशिक्षण भेलामा थारु कल्याणकारिणी सभाका पदाधिकारी, थारु नेता, बुद्धिजीवी र मानव अधिकारवादीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

रेशम चौधरीलगायत टीकापुर घटनाका ११ जना आरोपितहरुलाई जेल मुक्त गर्न दबाब सृजना गर्नुको साथै आन्दोलनको कार्यक्रम तय गर्न भेलाको आयोजना गर्न लागेको संघर्ष समितिका संयोजक राज थारुले बताएका छन् ।

सदरमुकाम राजविराजमा सोमबार पत्रकार सम्मेलन गरी संयोजक थारुले थरुहट आन्दोलनले उठाएका माग र मुद्दाहरुलाई स्थापित गराउनुको साथै थरुहट आन्दोलनलाई एकीकृत रुपमा उठान गर्न भेलाको आयोजना गरिएको बताए ।

टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्नको लागि दबाब सृजना गर्ने उद्देश्यले आयोजना गरिएको भेलाको उदघाटन टीकापुर घटनाको आरोपितमध्ये जेलमुक्त भएका थरुहट नेता लक्ष्मण थारुले गर्ने बताइएको छ ।

भेला आरम्भ २५ वैशाखमा हुने, २६ गते थरुहट आन्दोलनहरुको समीक्षा तथा अन्तरक्रिया र २७ गते शुक्रबार राष्ट्रिय आन्दोलन परिचालन समिति गठन तथा घोषणाका साथ बलुवा सप्तरी घोषणा पत्र जारी गर्नुको साथै आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गर्ने कार्यक्रम रहेको संयोजक थारुले बताए ।

टीकापुर घटना छानविनका लागि पूर्व न्यायाधीश गिरीशचन्द्रलाल दासको नेतृत्वमा गठित आयोगको प्रतिवेदन यथासीघ्र सार्वजनिक गरी टीकापुर क्षेत्रबाट संघीय संसदमा विजयी रेशम चौधरीलाई थुनामुक्त गरी टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा चित्रण गर्न समितिले माग गरेको छ ।