महँगो मूल्यमा खरिद गरिएको ब्रुमर सञ्चालनमै समस्या

महँगो मूल्यमा खरिद गरिएको ब्रुमर सञ्चालनमै समस्या


काठमाडौं महानगरपालिकाको सडकमा विगत एक महिनादेखि ब्रुमर सञ्चालन हुँदै आएको छ तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन ।

काठमाडौं उपत्यकामा प्रायः सधैंजस्तो पानी परेकाले ब्रुमरले नियमित रुपमा सडक सफा गर्न नसक्दा जनअपेक्षा अनुसार धुलो कम हुन नसकेको काठमाडौं महानगरपालिका वातावरण विभागले जनाएको छ ।

‘एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीका कारण हुने हिलो माटो यातायातका सधनसँग आउने हुँदा पनि समस्या भएको छ,’ विभागका प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो, ‘सञ्चालनमा रहेका पाँच ब्रुमरबाट अहिलेसम्मा दुई सय २० टन धुलो सङ्कलन गरिसकेको छ ।’ सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।

महानगरको सडकमा ब्रुमर सञ्चालन भएको यही वैशाख २८ गते एक महिना पुग्दैछ । गत फागुन २८ गते इटालीबाट ल्याइएका ब्रुमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुपम काम गरिरहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ ।

प्रमुख श्रेष्ठका अनुसार अर्को प्रमुख समस्याको रुपमा सडकमा रहेका खाल्डाखुल्डी छ । यसको समाधानका लागि सडक विभागलाई पनि आग्रह गरेको छ । नियमित पर्ने पानी र खाल्डाखुल्डीका कारण ब्रुमर सञ्चालनमा समस्या देखिएको छ ।

रु १० करोड ८० लाखको लगानीमा ल्याइएका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता र एउटा छ टन क्षमताको छ । दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमता रहेको सो ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी, काठमाडौँ भ्यू टावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगर वातावरण विभागले जनाएको छ ।

कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्दछन् भने अरु सडक विभागको मातहतमा रहेका छन् ।

स्थानीयवासीको गुनासो

ब्रुमर प्रयोगमा आएपनि सडक सफा नभएको नगरवासीको गुनासो छ । कालिमाटीका स्थानीयवासी विष्णु कँडेलका अनुसार ब्रुमर सञ्चालनमा आएको पनि एक महीना बित्नै लागिसक्यो, धुलो कम हुनसकेको छैन । उक्त समस्या जस्ताको तस्तै रहेको छ ।

‘यही अवस्था रहिरहने हो भने महङ्गो रकम खर्च गरेर ब्रुमर खरीद गर्नुको कुनै अर्थ छैन’, कँडेलले भन्नुभयो । त्यसैगरी बागबजार, पुतलीसडक, भद्रकाली बालाजुलगायतका स्थानमा पनि धुलो कम नभएको स्थानीयवासीको गुनासो छ ।

rss