नेकपा शंखुवासभा इञ्चार्जसहित चारजना कारागार चलान

नेकपा शंखुवासभा इञ्चार्जसहित चारजना कारागार चलान


विप्लव नेतृत्वको नेकपाका सङ्खुवासभा जिल्ला इञ्चार्जसहित चार जना लाई जेल चलान गरिएको छ। सङ्खुवासभा इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, सुजन विक र सञ्जय तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिएका हुन्। गत चैतमा काठमाडौंबाट पक्राउ गरी गुरुङलाई शंखुवासभा लगिएको थियो ।

इञ्चार्ज गुरुङ र सुनितालाई अरुण तेस्रो जलविद्युत् परियोजनामा विष्फोट गराएको आरोप लागेको छ भने अन्य दुई जनालाई हातहतियार खरखजना तथा सङ्गठित अपराधको मुद्दा लागेको थियो ।

अर्का जिल्ला सदस्य बुद्धिमान तामाङ पनि पक्राउ परेका र ४० हजार धरौटी बुझाउन नसकेकाले कारागार चलान भएको शंखुवासभा जिल्ला अदालतले जनाएको छ । बुद्धिमानलाई हातहतियार खरखजना तथा सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो ।

प्रहरीले अहिलेसम्म सङ्खुवासभाका विभिन्न स्थानबाट विप्लव नेकपाका नौ जना कार्यकर्ता पक्राउ गरेको छ ।