यस्तो छ कांग्रेसको जागरण अभियानको तयारी

यस्तो छ कांग्रेसको जागरण अभियानको तयारी


नेपाली कांग्रेसले आगामी बुधबार (२५ वैशाख)देखि शुरु गर्न लागेको जागरण अभियानबारे थप जानकारी गराएको छ । पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ तीन चरणमा हुन लागेको छ ।

प्रवक्ता शर्माका अनुसार वैशाख २ देखि जेठ २५ सम्मको अवधिलाई प्रथम चरण मानिने छ भने भदौ २४ (बीपी जयन्ती) देखि असोज १० गते सम्म अभियानको दोस्रो चरण हुनेछ । यस्तै, आगामी पुष ७ देखि १६ गते (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस)सम्म तेस्रो चरणका कार्यक्रमहरू आयोजना गरिने छन् ।

नेपाली राजनीतिमा एकै स्वरुपको प्रथम कार्यक्रमका रुपमा अभियान प्रारम्भ गर्न लागिएको शर्माले बताए । एक अभियान तर पन्ध्र उद्देश्य रहेको उल्लेख गर्दै उनले स्वदेशसँगै विदेशका ३३ देशमा अभियान सञ्चालन गर्न लागिएको बताए ।

थप प्रष्ट्याउँदै काङ्ग्रेस प्रवक्ता शर्माले ७७ जिल्लामा एकसाथ उदघाटन गरिने, भिन्न भ्रातृ संस्था भिन्न मुद्दाका कार्यक्रम रहने, औपचारिक सभाको आसन ग्रहणमा परम्परागत शैलीको अन्त्य गरिने, स्वागत र विसर्जन बाहेक केवल तीन वक्ताले सम्बोधन गर्ने जसमा विषय प्रवेशबारे एक वक्ता, त्यसपछि अनिवार्य व्यवस्था गरिएअनुसार महिला वक्ताको मन्तव्य र प्रमुख अतिथिको मन्तव्य रहने जानकारी दिए ।

कार्यक्रमको मूल व्यानर र प्रचार सामग्री देशव्यापी रुपमा सबै तहमा एउटै डिजाइनको रहने उल्लेख गर्दै उनले अतिथि या वक्ताहरूलाई व्याज वितरण पनि नगरिने बताए । यसैगरी किलोका किलो फूलको माला लगाइदिने परम्परा पनि काङ्ग्रेसले तोड्न लागेको शर्माको भनाई छ ।

जागरण अभियानमा १२ भाषामा जागरण गीत गाइने छ, जसमा मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषा रहने छन् । वैशाख २५ गते अलग–अलग प्रदेशका जिल्लामा काङ्ग्रेसका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रवक्ता शर्माले प्रशिक्षण प्रतिष्ठानको जागरणकेन्द्रित सक्रियता उल्लेख गर्दै यस बीचमा पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन, सपथ ग्रहण र दुईदिने बैठकमार्फत जागरण अभियानलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रमहरुको प्याकेज घोषणा गरिएको पनि बताए ।

यस्तै, अनुशासन समितिको जागरणकेन्द्रित सतर्कतामाथि पनि उनले प्रकाश पारे । पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउने उद्देश्यका साथ पार्टी हितविपरीतका गतिविधि कोहीबाट पनि र कहीँ पनि नहुन् भन्ने अभिप्रायका साथ व्यवस्था मिलाइएको बताए ।

जिल्ला सम्पर्क समितिहरूको जागरणकेन्द्रित भेला र पहलकदमी बारे उल्लेख गर्दै उनले काठमाडौँमा रहेका ५१ जिल्ला सम्पर्क समितिको भेला पार्टी केन्द्रीय कार्यालयको संयोजनमा केन्द्रीय कार्यालयमा भएको बताए । उक्त भेलाले अभियानलाई तीव्रता दिन महत्वपूर्ण प्रस्तावहरु पारित गरेको खलासा पनि उनले गरे ।

केन्द्रीय समितिमा रहेका सांसदहरुलाई चलिरहेको संसद अधिवेशनमा बढी क्रियाशील राख्न जिल्लामा प्रतिनिधिका रुपमा पठाउने पूर्वनिर्णय परिवर्तन गरिएको जानकारी पनि उनले दिए ।