देशमा एक चरणको अस्तव्यस्तता र अराजकतालाई संविधानमार्फत सुरक्षित गराइसकेपछि बाबुराम भट्टराई मुलुकमा अर्को चरणको द्वन्द्व पैदा गराउन अग्रसर भएका छन् । आफैँ अगुवा भएर बनाएको संविधानका मौलिक प्रावधान भत्काएर नयाँ अवस्थामा मुलुकलाई लैजान भन्दै बाबुराम भट्टराई उपेन्द्र यादव नेतृत्वको समूहसँग एकता गर्न पुगेपछि उनी देशमा पुनः द्वन्द्व बढाउन लागिपरेको आशङ्का पैदा भएको हो ।
नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमबीच सोमबार (वैशाख २३) एकता हुँदा संसदीय प्रणालीलाई विस्थापित गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली स्थापना गर्ने, सात प्रदेशको सट्टा मुलुकमा एघार प्रदेश संरचना खडा गर्ने र सङ्घीय संसद्लाई पूर्ण समानुपातिक बनाउनेजस्ता विषयमा दुई पक्षबीच सहमति भएको छ । केही वर्षअघि गठित उच्चस्तरीय राज्य पुनर्संरचना आयोगले जातीय पहिचान झल्कने गरी एघारवटा प्रदेश बनाउन सुझाव दिएको थियो । सोही सुझावका पक्षमा अहिले बाबुराम र उपेन्द्र उभिएका छन् ।
त्यस्तै, संसद्लाई पूर्ण समानुपातिक बनाउने उनीहरूको धारणा पनि जातिवादमै आधारित छ । संसद्लाई पूरै जातीय प्रतिनिधित्वमा लैजाने प्रतिबद्धता बाबुराम र उपेन्द्रले पार्टी एकीकरणका क्रममा जाहेर गरेका छन् । यस किसिमको प्रतिबद्धताले बाबुराम भट्टराई र उपेन्द्र यादवमाथि एकपटक फेरि गम्भीर प्रश्न उठेको छ ।
सीके राउत जनमतसङ्ग्रहमार्फत नेपाल टुक्य्राउने एजेण्डासहित देश दौडाहामा रहेका बेला भट्टराई र यादव देशलाई पुनः जातीय द्वन्द्वमा लैजान अग्रसर भएका छन् । ज्ञातव्य छ, बाबुराम र उपेन्द्र एक समय माओवादी युद्धमा सामेल थिए र उक्त हिंसात्मक युद्धले देशको एकता तथा सामाजिक सद्भावलाई क्षतविक्षत तुल्याउँदै आर्थिक दृष्टिले मुलुकलाई पचासौँ वर्ष पछाडि धकेलेको छ ।
बाबुराम–उपेन्द्र एकतापछि देशमा जातीय तथा क्षेत्रीय सद्भाव पुनः भड्किन सक्ने खतरा बढाएको छ । एकातिर सीके राउतले देश विभाजनको एजेण्डा बोक्ने, अर्कोतिर उपेन्द्र–बाबुराम जातीयता र क्षेत्रीयतावादलाई मुद्दा बनाएर अघि बढ्ने भएपछि देशले शान्ति र स्थिरताको अवस्था पाउने सम्भावना घटेको छ । पश्चिमबाट परिचालन भएको ठानिने उपेन्द्र यादव समूहमा बाबुराम मिसिएपछि विखण्डनकारी गतिविधि बढ्ने आशङ्का बढ्नु स्वाभाविक भएको छ ।
तराईमा राजपा रक्षात्मक हुँदै जानु, तर सीके राउत, उपेन्द्र यादव र बाबुराम भट्टराईजस्ताका गतिविधि बढ्नुले नेपाली राष्ट्रिय एकता र सामाजिक सद्भावका निम्ति सुखद मान्न सकिने सङ्केत गरेको छैन ।
प्रतिक्रिया