कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने

कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताएका छन् ।

नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आरम्भ गर्दै उनले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था मान्य हुन नसक्ने बताएका हुन् ।

सभापति देउवाले प्रधानमन्त्रीले संसदमा गैरसंसदीय शब्द प्रयोग गर्दा पनि सभामुख निरिह बनेर बसेको आरोप लगाउँदै संसद् विपक्षको हो, सरकार सत्तापक्षको हो, संसदमा विपक्षले बोल्न पाउनुपर्छ भन्ने तर्क अघि सारे । सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ उल्लेख हुनु संविधानको मर्म र भावनाविपरीत भएको बताउँदै उनले जागरण अभियानमार्फत् सरकारको गलत गतिविधिबारे आम जनतासमक्ष लैजानुपर्नेमा जोड दिए ।

गिरिजाबाबु र सुशील कोइराला पार्टी सभापति हुँदा केन्द्रीय सदस्य तलबाट लड्न नपर्ने व्यवस्था गरेका भन्दै उनले आफ्नो पार्टीभित्रको किचलोतर्फ प्रवेश गरे । स्थानीय तहबाट केन्द्रीय सदस्य प्रतिनिधि भएर आउने व्यवस्थाबारे पार्टीभित्र छलफल गर्ने सभापति देउवाले बताए ।

सोही अवसरमा काङ्ग्रेस नेता प्रकाशमान सिंहले जागरण अभियानले पार्टीको वडादेखि केन्द्रसम्म थप ऊर्जा मिल्ने बताउँदै जनतालाई अधिकार सम्पन्न बनाउन काङ्ग्रेसले खेलेको भूमिका आमजनतामाझ चिनाउन उक्त अभियानले सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।

जनताको दुःखमा साथ दिने पार्टी काङ्ग्रेस भएको उल्लेख गर्दै उनले जनताको अधिकार सुरक्षित गर्न जागरण अभियान सञ्चालन गरिएको जनाए ।

नेता सिंहले काङ्ग्रेसको विचारसँग मेल खाने व्यक्तिलाई समेट्नुसमेत जागरण अभियानको मुख्य उद्देश्य रहेको बताउँदै पार्टीलाई विधिसम्वत ढङ्गले अनुशासित रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

जागरण अभियान काठमाडौंका केन्द्रीय प्रतिनिधि एवं काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले जागरण अभियानले पार्टीलाई नयाँ शैलीले अगाडि बढाउन खोजेको बताए । काङ्ग्रेसलाई सवल, सशक्त र जनतालाई बलियो बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको उनले प्रष्ट्याए ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक खाणले जनताको प्रश्न संसदमा राख्न खोज्दा सरकारको प्रधानमन्त्रीले गैरसंसदीय भाषाको प्रयोग गरेको आरोप लगाए ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जागरण अभियानले पार्टीलाई जगाउने काम गरेको बताउँदै कांग्रेस नजागेसम्म भ्रष्टाचारमुक्त मुलुक बन्न नसक्ने दाबी गरिन् । राससले जनाएअनुसार काङ्ग्रेस काठमाडौंका सभापति कृष्ण (सबुज) बानियाले पार्टीभित्र रहेको गुट उपगुटको अन्त्य गरी पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनु आवश्यक रहेको बताए ।

आज (२५ वैशाख)देखि शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म देशभर चल्नेछ । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको अभियान पुस ७ देखि १६ गतेसम्म देशभर चल्ने काङ्ग्रेसले जनाएको छ ।

pic: rss