बिहीबारसम्म मौसममा फेरवदल भइरहने

बिहीबारसम्म मौसममा फेरवदल भइरहने


बिहीबारसम्म मौसममा गडवड भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले अझैँ तीन दिनसम्म देशका विभिन्न स्थानमा मेघ गर्जने, हावाहुरी आउने र पानी पर्ने अनुमान गरेको छ । ‘पश्चिम न्यून चापीय प्रणालीको प्रभावले मुलुकभरको मौसममा बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।’ महाशाखा भन्छ, ‘उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।’

महाशाखाले मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही विभिन्न स्थानमा मेघ गर्जने, हावाहुरी चल्ने र पानी पर्ने जनाएको छ । यस्तै, बुधबार र बिहीबार पनि मध्यान्नतिर देशभरि आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । यसका साथै सो दिन पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने सङ्केत गरेको छ । महाशाखाका अनुसार उच्च हिमाली भेगहरुमा सामान्यदेखि मध्यम हिमपातको अनुमान छ ।

‘मौसमी प्रणालीको प्रभाव विस्तारै पूर्वतिर सर्ने क्रममा छ ।’ महाशाखाका एक अधिकारीले भने, ‘पश्चिमतर्फको आकाश सफा भए पनि पुनः अर्काे मौसमी प्रणाली आउने देखिएकाले अझै केही दिन मौसममा आंशिकदेखि सामान्य बदली भइरहने छ ।’