प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै


भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार स्वदेश फर्कंदै छन् ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री भ्रमण कार्यक्रम सम्पन्न गरी स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्री ओली आज अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । उनले वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतसम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए ।

नेपालमा लगानीका लागि कम्बोडियाली लगानीकर्तासँग आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उपयुक्त लगानी वातावरणका लागि नीतिगत स्थिरता, स्पष्ट नियामक ढाँचा, विधि र प्रक्रियामा सरलता, बजारको उपलब्धता र पहुँच तथा आकर्षक प्रोत्साहनजस्ता प्रावधान रहेको बताएका छन् । नेपाल–कम्बोडिया व्यवसाय मञ्चलाई मंगलबार सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक स्थिरता प्राप्त भएकाले नीतिमा स्थायित्व र एकरुपता भएको प्रष्ट्याएका हुन् ।

प्रधानमन्त्रीले पूर्वाधरलगायत क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सार्वजनिक–निजी साझेदारी र लगानी ऐन लागू गरिएको बताउँदै नेपालमा लगानीकर्तालाई सहजताका लागि सरल र सहज विधि एवं प्रक्रिया रहेको तथा भारत र चीनजस्ता ठूला बजार यससँग जोडिएको जानकारी दिए ।

नेपाल सार्क र बिम्स्टेकजस्ता दुई ठूला क्षेत्रीय सङ्गठनको सक्रिय सदस्य रहेको र अल्पविकसित मुलुक हुनाको नाताले क्षेत्रीय बजार पहुँचका लागि केही निश्चित फाइदा रहेको पनि उनले उल्लेख गरे ।

नेपालको जुनसुकै क्षेत्र पनि लगानीका लागि निश्चित प्रतिफल पाइने क्षेत्र भएको र कृषि, खनिज स्रोत, जडीबुटी, पर्यटन उद्योग र वित्तीय बजारजस्ता क्षेत्रमा लगानीका लागि अवसरहरु रहेको दाबी उनले गरे ।

सोही कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विदेशमा लगानी गरिरहेका कम्बोडियाका उद्योगपति र व्यवसायी समूहहरुलाई नेपाललाई प्राथमिकता दिन आग्रह गरेका राससले जनाएको छ ।

प्रधानमन्त्री हुन सेनले कम्बोडियामा लगानीका लागि नेपाली लगानीकर्तालाई उपयुक्त वातावरण सिर्जना गरिने विश्वास दिलाउँदै कम्बोडियालीहरुलाई नेपाल, विशेषगरी लुम्बिनीमा भ्रमण गर्न अनुरोध गरेका हुन् ।