मुलुककै मुटुको मालिक माओवादी

मुलुककै मुटुको मालिक माओवादी


माइतीघरदेखि तिनकुनेसम्ममा अर्बौंको सम्पत्ति रामहरि पाण्डे
व्यापारिक तथा अन्य कतिपय दृष्टिले सबैभन्दा महत्वपूर्ण मानिने माइतीघरदेखि तिनकुनेसम्मको क्षेत्रमा एकीकृत माओवादीसम्बद्ध व्यक्तिहरूको मात्र अबौर्ंको सम्पत्ति रहेको पाइएको छ । देशकै सबैभन्दा महँगो मानिने उक्त व्यापारिक क्षेत्रमा माओवादी समर्थकहरूले अर्बौं मूल्य पर्ने व्यावसायिक तथा निजी प्रयोजनका भवनहरू निर्माण गर्नुले गम्भीर रहस्य र आर्श्चर्यको स्थिति पैदा गरेको छ । तीस वर्ष शासन गर्ने पञ्च तथा राजपरिवारका सदस्य, पटक-पटक शासनारुढ नेपाली काङ्ग्रेस र एमालेसम्बद्ध नेताहरूको उक्त सडक-क्षेत्रमा कतै पनि सम्पत्ति नदेखिनु तर, खुला राजनीतिमा आएको पाँच वर्ष पनि नबित्दै माओवादी र केही तस्करहरूको भने अर्बौंको सम्पत्ति देखिनुले मुलुक कसबाट कसरी लुटिँदै छ भन्ने कुराको तथ्य उजागर गरिदिएको छ ।
केही वर्ष अघिसम्मका सामान्य व्यापारी कृष्ण आचार्य एकीकृत माओवादीको उच्च तहमा पुगेपछि नयाँ बानेश्वर चोकैमा टावर बनाउन सक्ने हैसियतमा पुगे । उनले हालै मात्र करिब दुई अर्ब मूल्य पर्ने ‘कृष्ण सदन’ नामक व्यापारिक भवन निर्माण गरेका छन् । त्यसअघि उक्त स्थानमा पुरानो भवन थियो । त्यस भवनलाई माओवादीको अर्धसैन्य दस्ता वाईसीएलले आफ्नो ब्यारेकको रूपमा प्रयोग गर्दै आएको थियो । माओवादीनिकट उद्योग व्यापार सङ्घको अध्यक्षसमेत रहनुभएका आचार्य माओवादीबाट सांसदसमेत बनिसक्नुभएको छ । माओवादी स्रोतका अनुसार आचार्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजिकका व्यापारीमध्येमा पर्नुहुन्छ । त्यसो त प्रचण्डको सबैभन्दा नजिकका व्यापारी अजय सुमार्गी हुन् । सुमार्गीसँग प्रचण्डको हरेक प्रकारको कारोबार हुने गरेको सूत्र बताउँछ । हेटौंडामा ढुङ्गा-गिट्टी व्यवसाय सञ्चालन गरेर बस्दै आएका व्यापारी सुमार्गीले प्रचण्डसँगै घनिष्टता बढाएपछि उनको जीवनमा निकै ठूलो कायापलट भएको छ । ०६३ सालअघिसम्म सामान्य व्यापारीका रूपमा मात्र चिनिने सुमार्गीको नाममा अहिले पन्ध्र अर्बभन्दा बढी सम्पत्ति रहेको देखिन्छ । टेलिफोन कम्पनीको मालिकसमेत रहेका सुमार्गीको बबरमहलमा सुमार्गी कम्प्लेक्स छ भने नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सभा भवन -हाल संविधानसभा भवन)को ठीक अगाडिपट्ट िएक भव्य टावर निर्माण हुँदै छ । मुक्ति टावर नाम दिएको उक्त व्यापारिक भवनलाई प्रचण्डका पिता मुक्ति दाहालको नाम दिइएको र प्रचण्डकै लगानीमा बनेको विश्वास गरिन्छ ।
प्रचण्डले आफ्नो लगानीमा सुमार्गीको नाम राखेर माइतीघर-तिनकुने सडक क्षेत्रको अन्य स्थानमा सुविधासम्पन्न व्यापारिक भवनसमेत निर्माण गरेका छन् । प्रचण्डसँग घनिष्ट सम्बन्ध बनाएका सुमार्गीले उक्त क्षेत्रमा सात तलाभन्दा माथिका पाँचवटा भवन बनाइसकेका छन् । ती सबै भवनमा प्रचण्डको लगानी रहेको सूत्र बताउँछ । सूत्रका अनुुसार सुमार्गीले नयाँ बानेश्वरमा मात्र तीनवटा आधुनिक महल बनाएका छन् भने तिनकुनेमा एउटा भवन ठड्याएका छन् त्यो पनि पाँचै वर्षभित्रमा ।
प्रचण्डले सुमार्गीको नाममा व्यापारिक भवन -टावर) मा मात्र नभई दूरसञ्चार, छापा तथा विद्युतीय सञ्चारमाध्यममा पनि लगानी गर्नुभएको छ । माओवादीका एक वरिष्ठ नेताले दिएको जानकारीअनुसार सुमार्गीको नाममा रहेको ‘हेल्लो नेपाल’ नामक कम्पनीमा प्रचण्डको लगानी छ । पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई लक्षित गरी सञ्चालनमा ल्याइने उक्त कम्पनी प्रचण्डकै लगानी र इच्छामा सञ्चालन गरिएको हो । त्यसैगरी प्रचण्डले सुमार्गीको नाममा समाचार नामक एक पत्रिका पनि प्रकाशित गरेका छन् । पार्टीको मुखपत्रको रूपमा चिनिने जनदिशा दैनिक भने आर्थिक अभावका कारण हाल बन्द छ ।
प्रचण्डले तिनकुने क्षेत्रमा आफ्नो ससुरालीपट्टकिा नाता पर्ने एक महिलाको नाममा आधुनिक बंगाला खरिद गर्नुभएको छ । सूत्रका अनुसार भाडामा लगाइएको उक्त भवनमा प्रचण्ड बेला-बेलामा पुग्ने गरेका छन् । त्यस्तै प्रचण्डले भक्तपुरमा पुत्र प्रकाशको नाममा लाखौँ मूल्य खर्च गरेर खाली जग्गा खरिद गर्नुभएको पनि बुझिएको छ ।
कुनै समय सामूहिक बसोबास र खानपिन गर्दै आएका माओवादी नेताहरूले शान्तिप्रक्रियापछि सामूहिक लगानीमै बानेश्वरमा एक व्यापारिक भवनसमेत बनाएका छन् । कुनै नाम नदिएको उक्त भवनमा माओवादी स्थायी समिति सदस्य वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतलगायतको लगानी रहेको स्रोतको भनाइ छ । माओवादी उच्च स्रोतका अनुसार पुन एक्लैले आफन्तको नाममा बुद्धनगरमा करोडौँ मूल्यमा जग्गा खरिद गरेका छन् । तर, भवन भने बनाएका छैनन् । यस सम्बन्धमा अनन्तसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।
सूत्रका अनुसार माइतीघरदेखि तिनकुनेसम्मको सडकक्षेत्रको आसपासमा प्रचण्ड तथा माओवादीनिकट व्यक्तिहरूको नाममा सत्रवटा आधुनिक भवन बनाइएको छ । तीमध्ये अधिकांश भवनमा अध्यक्ष प्रचण्डको लगानी रहेको बताइन्छ । तर, हालै एक दैनिक पत्रिकालाई दिएको अन्तर्वार्तामा प्रचण्डलेे मुलुकको कुनै पनि स्थानमा आफ्नो नाममा घर, घडेरी, जग्गाजमिन, बैंक ब्यालेन्स नभएको दाबी गरेका छन् । उनले श्रीमती सीता दाहालको नाममा चितवनमा एक कट्ठा घडेरी रहेको र त्यसबाहेक अरू केही नरहेको पनि जिकिर गरेका छन् ।
काठमाडौं महानगरपालिका सहरी विकास विभागका अनुसार उक्त क्षेत्रमा मात्र नभएर राजधानीका अन्य थुप्रै स्थानमा माओवादीसम्बद्ध व्यक्तिहरूले व्यापारिक भवनहरू बनाएका छन् । शान्तिप्रक्रियामा आएपछि उक्त पार्टीका अधिकांश नेताले राजधानीमा आफ्नो र आफन्तका नाममा महल बनाइसकेका छन् । यसरी राजधानीमा महल बनाउने नेताहरू अध्यक्ष प्रचण्डनिकटका छन् । सहरी विकास विभागका एक अधिकारीका अनुसार पछिल्लो समयमा राजधानीमा जति पनि व्यापारिक भवन निर्माण भएका छन् ती सबैमा प्रत्यक्ष-अप्रत्यक्ष माओवादीको संलग्नता छ । तर, विभागका प्रमुख देवेन्द्र डङ्गोलले भने यस विषयमा आफूलाई केही जानकारी नभएको बताए । उनले भने, ‘भवन बनाउँदा, नक्सापास गर्दा उनीहरूले म माओवादीको मान्छे, माओवादीको नेता भन्दैनन् त्यसैले यसबारेमा मलाई केही जानकारी छैन ।’ स्रँेतका अनुसार माओवादीका अधिकांश नेताले राजधानी तथा राजधानीबाहिरका महत्वपूर्ण सहरहरूमा सामूहिक लगानीमा जग्गा खरिद तथा बिक्री गरेका छन् । यसरी सामूहिक जग्गा खरिद गरेर बिक्री गर्नेमा माओवादी नेताका पत्नीको सहभागिता बढी रहने गरेको छ । उनीहरूले सामूहिक लगानी गरी सस्तो मूल्यमा जग्गा किनेर महँगोमा बिक्रीसमेत गर्दै आएका थिए । उनीहरूले सस्तोमा किनेका केही जग्गा बिक्री नभएर त्यत्तिकै थन्किएको सूत्रको भनाइ छ ।
माओवादीमा अध्यक्षदेखि अधिकांश नेताको जीवनशैली राजषी ठाँटको देखिन थालेपछि पार्टीभित्र आर्थिक अनुशासनको मुद्दालाई उपाध्यक्ष मोहन वैद्य, बाबुराम भट्टराई र उनी पक्षधर नेताहरूले आर्थिक विषय पारदर्शी बनाउन चर्को दबाब दिँदै आएका छन् । विशेषगरी उनीहरूले अध्यक्ष प्रचण्डको जीवनशैलीलाई केन्द्रित गर्दै आर्थिक हिसाबकिताब माग गरिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्डले युद्धकालीन अवस्थादेखि नै पार्टीको हिसाबकिताब देखाएका छैनन् । माओवादीमा व्यवस्थित आर्थिक प्रणालीको विकास आजसम्म हुन सकेको छैन । कसले कति सहयोग दियो र कति उठ्यो भन्ने विवरण पार्टीमा छैन, भए पनि त्यो प्रचण्डकै निर्देशनमा छ । पार्टीको आर्थिक स्रँेत जुटाउने निकायमा प्रचण्डनिकटकै मानिसको हालिमुहाली छ । प्रचण्डले संसदीय दलको आर्थिक फाँटको जिम्मा ज्वाइँ अर्जुन पाठकलाई दिनुभएको छ भने पार्टीको आर्थिक विभागको जिम्मा स्थायी समिति सदस्य अमिक शेरचनलाई । तर, शेरचनले पार्टीको कुनै पनि हिसाबकिताब राम्रँेसँग हेर्न नपाएको गुनासो गर्दै आएका छन् । शेरचनको भनाइ उद्धृत गर्दै माओवादीका एक केन्द्रीय नेताले भन्नुभयो, ‘मलाई आर्थिक फाँटको जिम्मा दिइएको छ । तर, पैसा कहाँबाट आउँछ, कति आउँछ र त्यो कसरी खर्च हुन्छ केही जानकारी छैन ।’
पार्टीमा आर्थिक सङ्कलनका लागि सबैभन्दा बढी प्रचण्डनिकट नेतामा मजदुर नेता शालिकराम जम्कटेल र वाईसीएल इन्चार्ज चन्द्रबहादुर थापा सागर खटिने गरेका छन् । प्रचण्डको विश्वासिलो पात्र थापाले पनि आफन्तका नाममा तिनकुने क्षेत्रमा एउटा घर खरिद गरेका छन् । सागरले काठमाडौैं चक्रपथबाहिरका विभिन्न स्थानमा आधुनिक महल बनाएको सूत्र बताउँछ । थापाको जीवनशैली पनि कम रोचक नरहेको उनका सहकर्मीहरू बताउँछन् ।

छत्तीस सांसद लिएर प्रधानमन्त्री !
केही गर्दा पनि संसदीय दलमा बहुमत जुटाउन नसकेपछि काङ्ग्रेस शेरबहादुर देउवा मंगलबार आफूलाई दलको नेता नचाहिने तर प्रधानमन्त्री बनाइदिनुपर्ने भनी गिडगिडाउनुभयो । काङ्ग्रेस केन्द्रीय समितिको बैठक बस्नुअघि मंगलबार सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह र कृष्ण सिटौला तथा विमलेन्द्र निधिलगायत पार्टीका शीर्ष नेताबीच भएको गोप्य बैठकमा देउवाले भन्नुभयो, ‘प्रधानमन्त्री खनालले राजीनामा दिने भइसक्नुभयो, माओवादी अध्यक्ष प्रचण्डले पार्टीले मान्छ भने तपाईंलाई प्रधानमन्त्रीको रूपमा स्वीकार गर्न सक्छौँ भनेका छन्, त्यसैले मलाई यतिबेला दलको नेता चाहिँदैन, प्रधानमन्त्रीका लागि सिफारिस गरिदिनुपर्‍यो ।’
काङ्ग्रेस सूत्रका अनुसार तीनपटक प्रधानमन्त्री भइसक्नुभएका देउवाको कुरा सुनेर सभापति कोइराला चकित पर्नुभयो र केहीबेर बोल्नुभएन । तर सँगै बस्नुभएका उपसभापति पौडेलले ‘तपाईं तीनपटक प्रधानमन्त्री भइसक्नुभयो, तपाईंको कार्यकाल पार्टीले देखिसकेको छ त्यसैले मलाई सहयोग गर्नुहोस्,’ भन्नुभएको थियो । सूत्रका अनुसार देउवाले केही गरे पनि आफ्नो पक्षमा बहुमत सभासद् पुर्‍याउन नसकेपछि यस्तो प्रस्ताव अघि सार्नुभएको थियो । एक सय चौध सभासद्मध्ये देउवाको पक्षमा जम्मा छत्तीस सभासद् मात्र छन् भने अन्य रामचन्द्र पौडेलको पक्षमा र बाँकी केह तिटस्थ छन् । स्रोतका अनुसार देउवाको पक्ष्ँमा उभिएका सभासद्मा अजयकुमार द्विवेदी, अम्बिका बस्नेत, आरजु देउवा, इन्द्रबहादुर गुरुङ, इश्वरी न्यौपाने, उर्मिला थापा, ओमप्रकाश शर्मा, कुमार राई, कुलबहादुर गुरुङ, कृष्णकुमारी परियार, गोपालमान श्रेष्ठ, जिपछिरिङ शेर्पा, जीवनप्रेम श्रेष्ठ, देवराज जोशी, ध्यानगोविन्द रञ्जित, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, महा नेपाली, महालक्ष्मी अर्याल -उपाध्याय), महेन्द्र पासवान, मीनाक्षी झा, डा. मीनेन्द्र रिजाल, मुन्नीकुमारी गुप्ता, रमेश रिजाल, रमेश लेखक, रामवती चौधरी, रामसरोज यादव, लक्ष्मी परियार, विमलेन्द्र निधि, सरस्वती चौधरी, सीता गुरुङ, सुनदेवी जोशी, शम्भु हजारा पासवन र शिवचन्द्र मिश्र रहेका छन् ।

नारी पण्डितको वाचन सुन्न राजा इमाडोलमा
नारी पण्डित रमा ढकालद्वारा वाचन हुने सप्ताहमा पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र पनि श्रवणका लागि जानुहुने भएको छ । सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार युवा समाज इमाडोलको आयोजनामा गत आइतबारदेखि बृहत् श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । उक्त महायज्ञमा भाग लिन राजा ज्ञानेन्द्र बुधबार जानुहुने कार्यक्रम तय भएको छ । राजा आउनुहुने भएपछि त्यहाँ स्वागतको भव्य तयारी भइरहेको बुझिएको छ । त्यस्तै, आगामी सोमबार उहाँले भक्तपुरस्थित दत्तात्रय मन्दिर जानर्ुभई भगवान् शिवजीको दर्शन गर्नुहुने बताइएको छ । भक्तपुर सहरको केन्द्र भागमा रहेको दत्रात्तय मन्दिरमा राजा आउनुहुने भएपछि त्यहाँसमेत उहाँको भव्य स्वागतको तयारी भएको बुझिएको छ । तर, कृष्णजन्माष्टमीका दिन ललितपुरस्थित प्रसिद्ध कृष्ण मन्दिरमा राजा जानुहुने हो या होइन सो भने बुझन सकिएको छैन ।

प्रचण्डको गाली बाबुरामलाई
मुलुकमा सर्वाधिक लोकप्रिय मानिएका नेता डा. बाबुराम भट्टराईले गत साता सम्भवत: आफ्नो जीवनकालकै सबभन्दा नराम्रो गाली खानुपर्‍यो । त्यो पनि शालिकराम जमकटेलको नभई तीन/तीनपटक देशको प्रधानमन्त्री भइसकेका व्यक्तिबाट । जेसिजको पश्चिमाञ्चल सम्मेलनको उद्घाटन गर्न गत शुक्रबार गोरखा पुग्नुभएका देउवाले डा. भट्टराईप्रति आक्रोश प्रकट गर्दै भन्नुभयो, ‘बाबुराम भट्टराई दुईज्रि्रे र फटाहा हुन्, यिनको बोली र व्यवहारमा धेरै ठूलो भिन्नता छ, यस्ता मान्छेबाट सचेत हुनुपर्छ’ आदि आदि । प्राय: यसप्रकारको गाली मानिसहरू प्रचण्डलाई दिने गर्छन्, तर देउवाले प्रचण्डलाई एक शब्द पनि गाली र आलोचना गर्नुभएन । यसबाट देउवा बाबुरामसँग व्यक्तिगत रूपमा कति रिसाउनुभएको रहेछ भन्ने स्पष्ट भएको छ । सम्भावित प्रधानमन्त्रीका रूपमा माओवादी पार्टीले डा. बाबुराम भट्टराईलाई अघि सारेपछि देउवा भट्टराईका प्रति थप क्रूद्ध हुनुभएको बताइन्छ । स्मरणीय छ, देउवा प्रधानमन्त्रीका दाबेदार ठानिएका जो-कसैलाई पनि रुचाउनुहुन्न । प्रचण्ड र झलनाथ खनालचाहिँ आफ्नो सहयोगी बन्न सक्ने विश्वासका कारण उनीहरूप्रति उहाँको सद्भाव र सम्मान पर्याप्त देखिन्छ । तर, डा. भट्टराई र रामचन्द्र पौडेलको भने उहाँ नामसमेत सुन्न चाहनुहुन्न । प्रचण्डलाई गरिने गाली गोर्खा पुगेर डा. बाबुराम भट्टराईलाई गर्नुले पनि देउवा प्रधानमन्त्रीका अन्य दाबेदारप्रति कुन हदसम्म इर्ष्यालु बन्नुहुँदोरहेछ भन्ने कुराको स्पष्ट सङ्केत गरेको छ ।

खनालको शैलीले एमाले नेता कायल
एमालेभित्र चिसो र ज्याद्रो नेताका रूपमा नयाँ परिचय बनाएका एमाले अध्यक्ष झलनाथ खनालले आफूविरुद्ध निर्णय हुन सक्ने देखिएपछि निर्धारित बैठक नै स्थगित गरिदिनुभएको छ । पूर्वअनुमान गरेझैं -अचानक बिरामी परेर) बैठक स्थगित गरेपछि खनाललाई ठेगाना लगाउन तयार भएर बसेका ओली-नेपालनिकट नेताहरू विलखबन्धमा परेका छन् । खनालले मंगलबार बिहान मात्र महासचिवर् इश्वर पोखरेलसँग फोनसम्पर्क गरी आफू अस्वस्थ भएकोले बैठक स्थगित गर्न भनेपछि महासचिव पोखरेलले बैठक स्थगित भएको जानकारी अन्य सदस्यहरूलाई दिएका थिए । ‘अध्यक्ष स्वस्थ भएपछि बैठक बस्नेगरी हाललाई केन्द्रीय समिति बैठक स्थागित गरिएको छ,’ पोखरेलको भनाइ थियो । तर, साँझ सचिव युवारज ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री खनालको स्वास्थ्यमा अझै पूर्णरूपमा सुधार भइनसकेकाले अध्यक्ष र महासचिवलगायतका नेताहरूसँगको परामर्शमा चालू केन्द्रीय कमिटीको बैठक २९ साउनमा बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन् ।
ओली-नेपाल पक्षका नेताहरू केन्द्रीय कमिटी बैठक सुरु भए पनि खनाललाई बैठकको अध्यक्षता गर्न दिने पक्षमा थिएनन् । उनीहरू उपाध्यक्ष्ँ अशोक राईको अध्यक्षतामा बैठक बसालेर खनालविरुद्ध खनिने तयारीमा थिए । अध्यक्ष खनाल बिरामी भएकाले मंगलबारको बैठक स्थगित गरिएको भनिए पनि उनीहरूले त्यसलाई खनालको चालबाजी मात्र भएको आरोप लगाए । खनाल बैठकबाट भाग्न खोजेको आरोप लगाउँदै उनीहरूले हुकुमी र जङ्गे शैलीमा पार्टी चलाउन खोजेकाले बैठकबाट राम्रैसँग तह लगाउने चेतावनीसमेत दिएका छन् ।
‘अध्यक्ष खनालज्यूलाई २१ गते सामान्य जरो मात्र आएको थियो, अहिले त पखाला पनि चलेका कारण चालू बैठक स्थागित गर्नुभएछ,’ ओलीनिकट नेता कृष्णगोपाल श्रेष्ठले घटना र विचारसँग भन्नुभयो, ‘सिंहदरबारमा र्सार्कका प्रतिनिधिलाई भेट गर्न सक्ने, अन्य सरकारी काम गर्न सक्ने तर पार्टीको बैठक गर्न नसकिने भन्ने कतै हुन्छ ? यदि साँच्चिकै पखाला नै चलेको भए पार्टी कार्यालयमा ट्वाइलेट थियो, बैठक सञ्चालन गरेर त्यतै गए भइहाल्थ्यो नि ।’ ‘माओवादी अध्यक्ष प्रचण्डको भरिया बनेर एमालेलाई कमजोर बनाउने काम गर्ने हो भने पेरिसडाँडामा गएर सहअध्यक्ष बने हुन्छ,’ नेता श्रेष्ठले थप्नुभयो, ‘होइन भने यसअघिका गल्ती सुधार्दै आफूलाई पुनर्मूल्याङ्कन गर्दै सच्चिएर आए हामी स्वीकार्न सक्छौँ, नत्र सक्दैनौँ ।’
ओली-नेपालनिकट नेताहरूले गत शनिबारको बैठकमा पनि अध्यक्ष खनालले बैठकको अध्यक्षता गर्न नमिल्ने भन्दै कडा आलोचना गरेका थिए । तर, खनालले आफू अस्वस्थ भएकाले केही बोल्न नसक्ने जानकारी गराउँदै महासचिव पोखरेललाई बैठक सञ्चालन गर्न इसारा गरेका थिए । खनालको इसारा पाएलगतै पोखरेलले बैठक सुरु भएको जानकारी गराएका थिए । पोखरेलले बैठक सुरु भएको जानकारी गराउनेबित्तिकै ओली-नेपालनिकट नेताहरू महेन्द्र पाण्डे, रघुजी पन्तलगायतले बैठक कसको अध्यक्षतामा बसिरहेको छ ? खनाल कमरेडको अध्यक्षतामा त बैठक बस्न सक्दैन भन्दै खनालविरुद्ध उत्रिएका थिए भने खनालको उपाध्यक्ष वामदेव गौतम र घनश्याम भुसाललगायतले बचाउ गरेका थिए । त्यति नै बेला बैठकमा सहभागी प्रभावशाली नेता ओलीको सङ्केतमा सचिव विष्णु पौडेलले १७ साउनमा बसेको स्थायी समितिले गरेको निर्णय सुनाएपछि बैठक शान्त भएको थियो । बहुमत सदस्य आफूविरुद्ध बोल्न थालेपछि खनालले आफू निकै बिसन्चो भएकाले २४ गतेसम्मका लागि बैठक स्थगित गर्ने प्रस्ताव पेस गरी बैठक स्थगित गराएका थिए ।
खनालको यस प्रकारको कार्यशैलीले पार्टीका अन्य नेताहरू हैरान र आजित हुन पुगेका छन् । खनाललाई स्विकार गर्न पनि नसक्ने र हटाउन पनि नसक्ने अवस्थामा पुगेपछि केपी ओली र माधव नेपाललगायतका नेताहरु सङ्कटमा परेका हुन् ।

प्रधानमन्त्री हट्ने निश्चित
आगामी भदौ १४ भन्दाउता जानै नसकिने भएपछि प्रधानमन्त्री झलनाथ खनालले साउन महिनाभित्रै राजीनामा दिने मानसिकता बनाउनुभएको छ । भदौ १४ भित्र संविधानको प्रारम्भिक मस्यौदा नआउने र लडाकु व्यवस्थापनको प्रक्रिया सुरु नहुने हो भने संविधानसभाको कार्यकाल थप गर्न सकिने छैन भन्ने यथार्थलाई राम्ररी बुझनुभएका खनालले संविधानसभाको म्याद थप्न कम्तीमा आफूले राजीनामा दिनुपर्ने हुन्छ भन्ने थाहा पाउनुभएको छ । संविधानको प्रारम्भिक मस्यौदा तर्जुमा र लडाकु व्यवस्थापनको प्रक्रिया सुरु भएमा सभाको म्याद मात्र थपिने नभई आफ्नो कार्यकालसमेत लम्ब्याउन सकिन्छ भन्ने विश्वास खनालमा छ । दुवै क्षेत्रमा ठोस प्रगति नहुने भएमा खनालले भदौ लागेपछि होइन साउनमै पद त्याग गर्ने सोच बनाउनुभएको हो । यस सम्बन्धमा माओवादी अध्यक्ष प्रचण्डसँगको निर्णायक वार्तालापपश्चात् प्रधानमन्त्री खनालले अन्तिम निर्णय लिनुहुने बताइएको छ । प्रचण्ड मलेसियाको रहस्यमयी भ्रमण सकेर बुधबार र्फकंदै हुनुहुन्छ र सम्भवत: बुधबारै प्रधानमन्त्रीले उहाँसँग वार्तालाप गर्नुहुनेछ । प्रचण्डले विश्वास दिलाउनुभएमा खनालले अरू केही दिन पर्खन सक्ने, होइन भने साउन २८ भित्रै राजीनामा दिनुहुने निश्चित भएको छ ।
प्रचण्ड सकेसम्म झलनाथ नेतृत्वको वर्तमान गठबन्धनलाई नै टिकाउने पक्षमा हुनुहुन्छ र उहाँले साउन २८ मा राजीनामा दिने भनी खनालले सार्वजनिक घोषणा गर्नुभएकोमा असन्तुष्टि प्रकट गर्नुभएको छ । विवादास्पद सातबुँदे सम्झौताअनुसार खनालपछि आफू प्रधानमन्त्री बन्ने योजनामा रहनुभएका प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने परिस्थिति अहिलेसम्म निर्माण भएको छैन । आफू प्रधानमन्त्री बन्ने निश्चित नभईकन खनालले पद त्याग गर्नुहुँदैन भन्ने सोचमा रहनुभएका प्रचण्डले आफ्नै पार्टीमा पकड गुमाउनुभएको हुँदा पहिलेपहिलेझैं आफूले चाहेको निर्णय गराउनसक्ने हैसियतमा उहाँ हुनुहुन्न । शान्ति र संविधानका बारेमा मोहन वैद्यको समेत विश्वास प्राप्त नगरी एक कदम पनि अघि बढ्न नसक्ने अवस्था भएकोले प्रचण्डको अबको कदम कस्तो होला भन्नेबारेमा जिज्ञाशा प्रकट भएको छ । आफू प्रधानमन्त्री हुन नसकेमा खनाल नेतृत्वकै सरकारलाई निरन्तरता दिने र आगामी भदौ १४ पछि नयाँ निर्वाचन घोषणा गराउने रणनीतिक तयारीमा रहनुभएका प्रचण्डलाई झलनाथको राजीनामा दिने सार्वजनिक घोषणाले धक्का पुर्‍याएको छ । वास्तवमा खनालले नारायणकाजी श्रेष्ठहरूमार्फत माओवादीभित्रको वैद्य खेमामाथि तीव्र दबाब दिनका लागि राजीनामाको कुरा गर्नुभएको थियो । तर, खनालको राजिनामाको कुराले वैद्य खेमामाथि खासै दबाब पैदा गर्न सकेको छैन । उहाँले पदत्याग गरे डा. बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्ने योजना वैद्यलगायतका नेताहरूको छ । लडाकु व्यवस्थापन र संविधान निर्माणको नक्कली तदारुकता लिन प्रचण्डले रच्नुभएको चालबाजीप्रति वैद्यको विश्वास प्राप्त हुनसक्ने देखिएको छैन । त्यसैले अब झलनाथ खनाल पूरै गल्नुभएकोले उहाँको सरकारको दिनगन्ती सुरु भएको छ । खनालपछि नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नुहुने हो या डा. बाबुराम भट्टराई सो भने अहिले नै भन्न सकिने स्थिति छैन ।
सुरक्षा निकायमा सामेल गरिने लडाकुहरूको सङ्ख्या निर्धारण गर्ने, पुन: वर्गीकरणको प्रक्रिया सुरु गर्ने र लडाकुहरूको दर्जासम्बन्धी कुराको टुङ्गो लगाउन प्राविधिक समितिलाई जिम्मा दिने कार्य गर्न सकेमा त्यसैलाई शान्ति स्थापनामा उल्लेख्य प्रगति भएको अर्थ लगाउँदै आफूअनुकूल निर्णय गराउने योजना प्रचण्ड-झलनाथको रहेको बुझिएको छ । यसअघि प्रचण्डले माओवादीका एसएलसी पास गरेका लडाकुलाई ‘अधिकृत’ बनाइने सहमति भएको भन्ने प्रचार एक दैनिक पत्रिकामार्फत गराउनुभएको थियो । आउँदा केही दिनभित्र प्रचण्डले कुन विषयमा के-कस्ता प्रचार गराउनुहुने हो जिज्ञाशाको विषय बनेको छ । एसएलसीवालालाई अधिकृत बनाउने विषयमा सहमति त के छलफलका निम्ति एजेण्डासमेत प्रवेश नभएको प्राविधिक समितिका संयोजक बालानन्द शर्माले बताउनुभएको छ ।

वैद्य पो सेरेमोनिएल !
पार्टीभित्रको ठूलो कसरतपछि एमाओवादीको सङ्गठन सञ्चालन गर्ने सम्पूर्ण अभिभारा उपाध्यक्ष मोहन वैद्यलाई सुम्पने निर्णय केन्द्रीय कमिटीले गरे पनि अध्यक्ष प्रचण्डले अड्चन पैदा गरेका छन् । केन्द्रीय कमिटीले वैद्यलाई सङ्गठन विभागको जिम्मेवारी दिए पनि अध्यक्ष प्रचण्डले सङ्गठन विभागलाई आफूअनुकूल सञ्चालन गर्ने कोसिस गर्दै सङ्गठन सञ्चालन गर्ने वैद्यको अधिकारमाथि अवरोध पैदा गर्न खोजिरहनुभएको जानकारी प्राप्त भएको छ । माओवादी सूत्रका अनुसार उपाध्यक्ष वैद्यले पार्टीलाई नयाँ ढङ्गबाट अघि बढाउने र वैज्ञानिक तथा न्यायपूर्ण ढङ्गबाट पार्टी नेताहरूको कार्यविभाजन गर्ने भन्दै नेताहरूको जिम्मेवारी हेरफेर गर्न प्रस्ताव अघि सार्नुभएको थियो । तर, अध्यक्ष प्रचण्ड र उनीनिकट नेताहरूको अवरोधका कारण उक्त विषयले स्थायी कमिटीमा प्रवेश नपाएपछि वैद्यको अधिकारमाथि प्रचण्डले अङ्कुश लगाउन खोजिएको कुरा पुष्टि भएको हो ।
गत आइतबार बिहान बसेको स्थायी समिति बैठकमा वैद्यले पार्टी नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव पेस गर्न खोज्नुभएको थियो । तर, अध्यक्ष प्रचण्ड तथा स्थायी समिति सदस्य वर्षमान पुन -आनन्त) ले उक्त विषयलाई पदाधिकारी बैठकमा लगेर टुङ्ग्याएपछि मात्र स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राखेपछि त्यसले
प्रवेश नै पाएन । सूत्रका अनुसार अनन्तले कार्यविभाजनसम्बन्धी प्रस्तावमा गम्भीर आपत्ति जनाउँदै त्यो अव्यावहारिक र एकलौटी भएकोले त्यसलाई पदाधिकारी बैठकमा लगी सहमति गराएपछि मात्र स्थायी समितिमा ल्याउनुपर्ने अडान राखेका थिए । अनन्तको भनाइलाई प्रचण्डनिकट नेताहरूले समर्थन जनाएपछि प्रचण्डले पनि पदाधिकारीमा छलफल गरेपछि स्थायी समितिमा ल्याउँदा उपयुक्त हुने भन्दै अन्य विषयमा छलफल गरौँ भनेका थिए ।
स्थायी समितिमा प्रस्तुत गर्न खोजिए पनि अध्यक्ष र उनीनिकट नेताहरूको अवरोधका कारण प्रवेश नपाएको विषयलाई सोही दिन बेलुका बसेको पदाधिकारी बैठकमा वैद्यले पुन: सोही प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सहभागी नेताहरूबीच सो विषयमा सामान्य छलफल पनि भएको थियो । तर, अध्यक्ष प्रचण्डले कार्यविभाजनको मुद्दा अलिक जटिल र बेग्लै प्रकारको भएकोले यस विषयमा छलफल गर्न आज हामीसँग समय छैन, त्यसैले पछि अर्को बैठकमा छलफल गरौँ भन्दै पन्छाउनुभएको थियो ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र उहाँनिकट नेताहरूले वैद्यले ल्याएको कार्यविभाजनको प्रस्तावमा आपत्ति जनाउँदै उक्त प्रस्ताव स्वीकार गर्न नसकिने निचोडका साथ बैठकमा प्रस्ताव पेस गर्न नदिएका हुन् । माओवादी उच्च सूत्रका अनुसार वैद्यले ल्याएको प्रस्तावमा प्रचण्डले विशेषगरी तमुवान र ताम्सालिङ राज्यको इन्चार्ज परिवर्तनमा आपत्ति जनाउनुभएको छ । तमुवान र ताम्सालिङ राज्यमा क्रमश: प्रचण्डनिकट नेताहरू हितराज पाण्डे र अग्नि सापकोटा इन्चार्ज छन् । वैद्यले तयार पारेको कार्यविभाजनसम्बन्धी प्रस्तावमा तमुवान राज्यमा आफूनिकट नेता इन्द्रमोहन सिग्देल ल्याउन खोज्नुभएको छ । सिग्देल हाल प्रवास ब्युरोमा कार्यरत हुनुहुन्छ । त्यसैगरी ताम्सालिङ राज्य इन्चार्जमा देवेन्द्र पौडेललाई प्रस्ताव गरिएको छ । सूत्रका अनुसार वैद्यले पुराना केही राज्य इन्चार्जलाई थाती राख्दै भेरी-कर्णालीमा धर्मेन्द्र बास्तोला, सेता-महाकालीमा नारायण शर्मा, लिम्बुवानमा राम कार्कीलाई इन्चार्जको जिम्मेवारी दिने प्रस्ताव गर्नुभएको छ ।
‘सङ्गठन विभागको प्रमुखको हैसियतमा कार्यविभाजनसम्बन्धी प्रस्ताव अघि सारे पनि अध्यक्षले उक्त प्रस्तावलाई आलटाल गरी र्टार्न खोज्नुले पार्टीमा प्रचण्डको हुकुमी शैली कायमै छ भन्ने देखाउँछ,’ वैद्यनिकट एक नेताले घटना र विचारसँग भने । ती नेताले थपे, ‘यसरी नै अध्यक्षले अधिकारमाथि प्रतिबन्ध लगाउने हो भने फेरि सङ्घर्ष गर्नुपर्ने हुन्छ, त्यो स्थिति नआओस् ।’ यसअघि बसेको केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेको विवाद समाधान गर्दै वैद्यलाई सङ्गठन विभाग प्रमुख, बाबुरामलाई संसदीय बोर्डको प्रमुखको जिम्मेवारी दिएको थियो ।

प्रकाशद्वारा नयाँ चुनावको माग
नेपाल कम्युनिस्ट पार्टी -संयुक्त माक्र्सवादी) ले तोकिएको समयमा संविधान निर्माण नभए अर्को संविधानसभाका लागि ताजा जनादेशमा जानुपर्ने ठहर गरेको छ । पार्टी महासचिव प्रकाशको अध्यक्षतामा बाराको कर्चोवामा सम्पन्न केन्द्रीय समितिको बैठकले भूगोल, जनसङ्ख्या र आर्थिक सन्तुलनका आधारमा राज्यको पुनर्संरचना गरिनुपर्ने कुरामा जोड पनि दिएको छ ।
बैठकले पार्टी सङ्गठन विभागमा कैलाश यदुवंशी, अर्थ र विदेश विभागमा रमेशबाबु श्रेष्ठ, किसान फाँटमा गुल्टेन राय यादव, टे्रड युनियनमा हेमचन्द्र साह, कृषि मजदुरमा नागेन्द्रप्रसाद यादव, महिलामा लक्ष्मीकुमारी महतो, सांस्कृतिक फाँटमा मनोजकुमार यादव, युवा विद्यार्थीमा अनिलरत्न तुलाधर, आदिवासी जनजातिमा धर्मेन्द्र चौधरी, बुद्धिजीवीमा अशोककुमार यादव र शिक्षक फाँटमा भक्ति शर्मा वाग्लेलाई प्रमुखको जिम्मेवारी पनि दिएको छ । यस्तै, पार्टी नीति र विधानविपरीत पार्टीविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चन्द्रदेव कामती, नवीन ढकाल र रञ्जना बीसीलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरिएको छ ।

भारतीय सैनिक प्रतिनिधिमण्डल काठमाडौंमा
भारतीय सेनाका सैनिक समाचार महानिर्देशक लेफ्टिनेन्ट जनरल डीएस ठाकुर -एभीएसएम)को नेतृत्वमा एक प्रतिनिधिमण्डल हिजो मंगलबार पाँचदिवसीय नेपाल भ्रमण कार्यक्रमअन्तर्गत काठमाडौं आइपुगेको छ । जनरल ठाकुरका साथ उहाँकी धर्मपत्नी रमा ठाकुर, ब्रिगेडियर सनल कुमार र ले.क. नवीन कुमार हुनुहुन्छ ।
भ्रमणको दौरान टोलीले आज २५ गते बुधबार रक्षामन्त्री विष्णु पौडेल, रक्षासचिव नवीनकुमार घिमिरे र प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई उहाँहरूकै कार्यकक्षमा भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । आज बुधबार नै भ्रमण दल टोखास्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने र भ्रमणदल टोखास्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको अवलोकनार्थ पुग्नेसमेत जनाइएको छ ।
यसैगरी २६ गते बिहीबार जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालय र २७ गते शुक्रबार अमेलखगञ्जस्थित प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको छ । २८ गते स्वदेश र्फकने सो भ्रमण टोली नेपालबसाइका क्रममा भारतीय राजदूतावासद्वारा आयोजित विविध कार्यक्रममा समेत सहभागी हुने बुझिएको छ । यसअघि भ्रमण दललाई सैनिक विनय महानिर्देशनालयका महानिर्देशक उपरथी रामबहादुर गुरुङ तथा भारतीय राजदूतावासका पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो ।
यसैबीच चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी दमनबहादुर घलेको नेतृत्वमा चीन गएको सातसदस्यीय भ्रमण दल हिजो मंगलबार स्वदेश फर्किएको छ । पाँचदिने सद्भावना भ्रमणको क्रममा उक्त दलले ल्हासास्थित तिब्बत मिलिट्री कमाण्ड र चेन्डुस्थित चेन्डु मिलिट्री कमाण्डको अवलोकन गर्नुका साथै चिनियाँ जनमुक्ति सेनाका उच्चपदस्थ सैनिक अधिकारीहरूसँग भेटघाट गरेको थियो ।

एपीएफद्वारा अपराधी पक्राउ
सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोस्ट कटकुइया बाँकेबाट खटिएको एपीएफ टोलीले अवैध हातहतियारसहित आठजनालाई पक्राउ गरेको छ । बाँकेको कालाफाँटा गाविसस्थित रतैया जङ्गलमा वन्यजन्तुको सिकार गर्ने मनसायले पुगेको बताइएका उनीहरूलाई गस्तीमा रहेको एपीएफ टोलीले बन्दुक, गोली र धारिलो हतियारसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट एकनाले बाह्र बोरको बन्दुक दुई थान, सोको गोली २१ वटा, दुई थान खुँडा तथा दुई थान चक्कु बरामद गरेको एपीएफले जनाएको छ ।
यसैबीच शमशेरगञ्जबाट भन्सार छली ल्याइएको लत्ताकपडा, मोटरपार्टस्, खाद्यान्न, कस्मेटिक तथा खुद्रा सामान एपीएफ टोलीले बरामद गरेको छ । करिब ८० हजार रुपैयाँबराबरको चोरीपैठारीको उक्त सामान आवश्यक कारबाहीका लागि स्थानीय राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल सुरक्षा बेस सागरनाथबाट खटिएको एपीएफ टोलीले र्सलाहीको सागरनाथचोकबाट चोरीपैठारीको एउटा मोटरसाइकलसहित स्थानीय जब्दी गाविस ९ बस्ने श्याम चौधरी र महेश कसुरलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

बुहारीलाई छोरी बनाउँदा…
नुवाकोट । आफ्नी बुहारीलाई चाँडो विदेश पठाउन नक्कली विवरण पेस गरी नागरिकता बनाएपछि नुवाकोटका एक वृद्ध छोरा-बुहारीसहित प्रहरी हिरासतमा पुगेका छन् ।
तारुका गाविस- ९ कौछिनीका एकसठ्ठी वर्षीय कुलबहादुर ढुङ्गानाले बुहारी लक्ष्मीलाई छोरी भनी सनाखत गरेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले असार १५ गते २५१००१-९६१ नम्बरको नागरिकता उपलब्ध गराएको थियो । नागरिकता प्राप्तिपछि राहदानीका लागि परराष्ट्र मन्त्रालय पुगेकी लक्ष्मीलाई मन्त्रालयले थप बुझ्नुपर्ने भन्दै जिल्ला फिर्ता पठाएपछि उनको नागरिकता नक्कली भएको रहस्य खुलेको थियो ।
रुकुम जिल्ला तक्सेरा गाविस-५ घर भई काठमाडौंमा ज्याला मजदुरी गर्दै आएकी लक्ष्मीले दुई वर्षअघि काठमाडौंमै होटलमा वेटर काम गर्दै आएका तारुकाका रामशरण ढुङ्गानासँग विवाह गरेकी थिइन् । निरन्तर आर्थिक अभावले सताउँदै गएपछि उनी रोजगारीका लागि विदेश जाने निष्कर्षमा पुगिन् । नागरिकताका लागि रुकुम जाँदा टाढा र झन्झटिलो हुने र विवाहितभन्दा समस्या आउने भएपछि ससुरा कुलबहादुर बुहारीलाई छोरी बनाउन तयार भए । तर, चाँडो विदेश जाने रहरमा नक्कली विवरण पेस गरी नागरिकता लिँदा अहिले उनीहरू प्रहरी खोरमा जाकिन पुगेका छन् ।
प्रहरीले गत बुधबार उनीहरूलाई सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी मधुसूदन बर्ुलाकोटीले नक्कली नागरिकता प्रकरणबारे थप छानबिन भइरहेको जानकारी दिँदै नक्कली नागरिकता बनाउने गिरोहहरूको पहिचान गरी कारबाही गर्न प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी प्रहरी नायव उपरीक्षक बालकृष्ण थापाले नक्कली नागरिकता बनाउने गिरोहका सम्बन्धमा थप अनुसन्धान भइरहेको र संलग्न सबैलाई नागरिकता ऐन, २०६३ अनुसार कारबाही चलाइने बताउनुभयो ।
-शिव देवकोटा

पीयुषमाथिको कारबाही पूर्वाग्रहपूर्ण !
पोखरास्थित फूलबारी होटलमा क्यासिनो सञ्चालन गर्ने भन्दै व्यवसायीहरूमाथि ठगी गरेको आरोपमा प्रहरी हिरासतमा राखिएका होटल फूलबारीका मालिक तथा चर्चित व्यवसायी पीयुषबहादुर अमात्यमाथिको प्रहरी कारबाही शङ्काको घेरामा परेको छ । लेनदेनको मुद्दामा प्रहरी हिरासतमा राखिएको दुई साता पुग्न लाग्दा पनि मुद्दा अदालतमा दर्ता नगरी पूर्वाग्रह तथा नियतवश दु:ख दिइएको अमात्य परिवारले दाबी गरेको छ । लेनदेन विवादको मुद्दामा मुलुकी ऐनको ठगी महलअनुसार नगरी मनपरी ढङ्गले कारबाही गर्न लागिएको भन्दै उनीहरूले प्रहरी प्रशासनप्रति आक्रोश जनाएका छन् ।
पोखरास्थित फूलबारी होटलमा क्यासिनो सञ्चालन गर्ने भन्दै व्यवसायीहरूमाथि ठगी गरेको आरोपमा अपमानजनक ढङ्गबाट पक्राउ गरिएका पीयुष गत बाह्र दिनदेखि प्रहरी हिरासतमा छन् । कृष्णबहादुर महराले राजीनामा दिएर अर्का गृहमन्त्री नियुक्त भइनसकेको अवस्थामा पक्राउ गरिएका अमात्यमाथि लगाइएको आरोपका सम्बन्धमा गृहसचिव लीलामणि पौडेलले अनभिज्ञता प्रकट गरेका र केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारीको विशेष सक्रियतामा यो मुद्दालाई उछालिएको दाबी गरिएको छ । ‘यसमा प्रहरीलाई पूरै प्रलोभनमा पारिएको छ, खुंखार अपराधीहरूले सजिलै छुटकारा पाइरहेको परिवेशबीच अमात्यको केसमा अर्ढाई करोडसम्मको खेल भएको प्रहरीसूत्रबाटै हामीलाई जानकारी मिलेको छ,’ अमात्यनिकट एक व्यवसायीले घटना र विचारसँग भने । उनका अनुसार डीआईजी सिंहको ठाडो आदेशका कारण हनुमानढोका केरकार शाखाका प्रमुख हेमन्त मल्लले मुद्दामाथि छेडखानी गरिरहेका छन् । प्रतिष्ठित घरानाका अमात्यमाथि बद्नियत र अन्यायपूर्ण किसिमबाट प्रहरी कारबाही गरिएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ र होटल एसोसिएसन नेपालले भत्र्सना गरेको छ ।

राप्रपालाई बीपीको चिन्ता
राप्रपा नेपालको आयोजनामा ‘वर्तमान राजनीतिमा बीपी विचारको सान्दरि्भकता र आमसञ्चार’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्र सङ्कटमा परेकाले आफ्नो पार्टीले बीपीको विचारलाई मार्ग-निर्देशनका रूपमा अघि बढाएको बताउनुभयो । बीपीको मेलमिलापको नीति अवलम्बन नगरिए मुलुक झन् भयावह स्थितिमा प्रवेश गर्न सक्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा समाजवादी चिन्तक दुण्डीराज शास्त्रीले अहिलेको परिस्थितिमा सबै राष्ट्रिय शक्ति एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा मानव अधिकारकर्मी तथा पत्रकार पुरुषोत्तम दाहालले मुलुकमा बीपीका विचारको सान्दरि्भकता झनै बढ्दै गएको बताउनुभयो ।
राप्रपा नेपालका प्रचार विभाग प्रमुख तथा सहमहामन्त्री राजाराम श्रेष्ठको अध्यक्षमा सम्पन्न कार्यक्रममा पत्रकार कपिल काफ्ले, राष्ट्रिय विकास पार्टीका अध्यक्ष ताकासी मियाहारालगायतले राष्ट्र र राष्ट्रियतामाथि प्रश्नचिह्न खडा भइरहेका बेला बीपीको नीतिलाई अवलम्बन गरिनुपर्ने उल्लेख गर्नुभयो ।

डिफिडको नयाँ प्रमुखमा ओनिल
डिफिड नेपालको प्रमुखमा डोमिनिक ओनिल नियुक्त भएका छन् । सारा सान्याहुम्बीलाई प्रतिस्थापन गर्दै उनले गत १६ गते -१ अगस्ट) देखि जिम्मेवारी सम्हालेका छन् । डोमिनिकले डिफिड नेपालको ३३१ मिलियन पाउन्डको चारवर्षो राष्ट्रिय कार्यक्रम हेर्नेछन् जुन नेपालकै सबैभन्दा ठूलो द्विदेशीय कार्यक्रम हो ।
सन् २००२ देखि डिफिडमा काम गर्न थालेका डोमिनिकले यसअघि यमन, इराक र सियरालिओनमा डिफिड कार्यालयको नेतृत्व सम्हालिसकेका छन् । डिफिडमा आउनुअघि उनले बेलायती गैरसरकारी संस्था राले इन्टरनेसनलको देश प्रमुखका रूपमा नामिभिया, मङ्गोलिया र चिलीमा काम गरेका थिए । अरबिक बोल्ने उनले अफि्रकाको विकासमा काम गरिरहेका इस्लामी तथा अरब संस्थाहरूसँग नजिक रहेर काम गर्नुका साथै नामिभियाको स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित रहेर पनि सेवा गरेका थिए । वातावरणीय स्वास्थ्य व्यावसायिक पृष्ठभूमि भएका उनले पानीमा विशेषज्ञता हासिल गरेका छन् भने उनी पदयात्रा र माउन्टेन बाइकका सौखिन हुन् ।

भेडीखर्केसँगै ठाडो भाका ओछ्यानमा
पश्चिमाञ्चलको बहुचर्चित तथा लोपोन्मुख ठाडो भाकाका मर्ूधन्य गायक भेडीखर्के साइँला बिरामीले थलिएका छन् । वास्तविक नाम दीर्घराज अधिकारी भएका भेडीखर्के साइँला दमका दर्ीघ बिरामी हुन् भने झन्डै दुई सातादेखि उनी ज्वरोका कारण ओछ्यान परेका छन् ।
सिन्दुरे गाविसको तुर्लुङकोटमा जन्मिएर परेवाडाँडामा बसाइँ सरेका भेडीखर्के साइँला गत जेठदेखि नै बिरामी परेका थिए । बिरामी परेपछि सुन्दरबजार गाविस- २ स्थित छोरीको घरमा बस्दै आएका उनी दुई सातादेखि बोल्नसमेत नसक्ने भएका छन् । बिरामी परेपछि छोरी लीला लौँडारीको घर सुन्दरबजारमै भेडीखर्के साइँलाको सामान्य उपचार चलिरहेको छ । उनको अवस्थामा सुधार हुन नसकेको लीलाले बताइन् । ७८ वर्षको वृद्ध शरीर, दमको रोग, त्यसमाथि ज्वरोले थलिएपछि उनी निकै कमजोर भएका छन् । भेडीखर्के साइँलाले खानेकुरा खानसमेत छोडेको बिरामीको रेखदेख गर्दै आएकी लीलाले जानकारी दिइन् ।
१२ वर्षको कलिलो उमेरदेखि ठाडो भाका गाउन थालेका भेडीखर्के साइँलाले ६ दशकको लामो यात्रा ठाडो भाकाको साधनामा नै बिताए । गला छँदा सबैको वाहीवाही पाउने उनी ओछ्यान परेपछि भने एक्लै परेका छन् । यस्तो अवस्थामा पनि राज्य र अन्य पक्षबाट उनले केही सहयोग पाएका छैनन् । ‘मलाई यो स्थितिमा न राज्यले हेर्‍यो न पहिले-पहिले कार्यक्रममा बोलाउनेहरूले नै,’ मन कुँढ्याउँदै भेडीखर्केले भने, ‘संसार यस्तै रहेछ, कसैले सहयोग गरेमा बाँचाँैला, सहयोग नपाए यत्तिकैमा मरौँला ।’ काम परेको बेला बोलाउने र उनको नामले कार्यक्रम सफल पार्नेहरू सबैले भेडीखर्के साइँलालाई बिर्सेका छन् यतिबेला ।
पछिल्लो पुस्ताले वास्ता नगरेको अवस्थामा ठाडो भाकालाई जोगाइराख्ने एकमात्र भेडीखर्के पनि यसरी बिरामी परेर थलिएपछि बहुचर्चित ठाडो भाका लोप हुने अवस्थामा पुगेको छ ।
दुराडाँडाको ठूलोस्वाँराबाट देउबहादुर दुराले गाउन सुरु गरेको ठाडो भाकालाई हालसम्म भेडीखर्के साइँलाले बिँडो थाम्दै आएका छन् । तर, उनको उमेर र अशक्ततासँगै यो भाका लोप हुने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा समेत कसैले चासो नदेखाउनु दु:खको विषय हो ।
-छविलाल बगाले

आयुर्वेदिक औषधालयप्रति जनआकर्षण
दमक । अघिल्लो वर्षसम्म बिरामी नआएर सुनसान रहने झापाको एकमात्र आयुर्वेदिक स्वास्थ्य केन्द्रमा अचेल स्वास्थ्यकर्मीलाई भ्याई-नभ्याई छ । चन्द्रगढीस्थित जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्रमा दैनिक ३० जनासम्म बिरामी आउने गरेका छन् । बिरामीको चाप बढेबाट आयुर्वेद उपचारमाथि जनविश्वास बढेको सङ्केत मिलेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
स्वास्थ्यकेन्द्रका वैद्य मनोजकुमार पण्डितका अनुसार आयुर्वेदको प्रभावकारिता बढेसँगै सेवाग्राहीको आकर्षण बढेको हो । तीन वर्षदेखि सो केन्द्रमा कार्यरत उनले भने, ‘पहिला-पहिला दिनभरिमा दुई-चार जनामात्र बिरामी आउँथे तर अचेल दिनभरिजसो बिरामी आउने गरेका छन् ।’ पेटसम्बन्धी, ग्याष्ट्रिक तथा बाथका बिरामीहरू मात्र स्वास्थ्य उपचारका लागि आउने गरेकोमा अचेल सबै प्रकारका रोगीहरू आउने गरेको उनले जनाए । कतिपय बिरामीले अन्यत्र उपचार गर्दा निको नभएको रोग आयुर्वेदबाट ठीक भएको जनाएका छन् । गरामनी-३ की कुमारी गौतमले वीर अस्पतालमा उपचार गराउँदासमेत निको नभएको रोग आयुर्वेदिक उपचारबाट ठीक भएको बताइन् । टाउको दुख्ने र पाठेघरसम्बन्धी समस्या भएकोमा छोटो अवधिमा नै आफूले स्वास्थ्यलाभ गरेको उनको कथन छ ।
झापाका विभिन्न स्थानमा पाँचवटा औषधालय रहेका छन् । बाहुनडाँगी, बुधबारे, शनिश्चरे, बैगुनधुरा र दुधेमा रहेको औषधालयमा समेत अघिल्ला वर्षको तुलनामा बिरामी आउने क्रम बढेको केन्द्रप्रमुख डा. महारुद्रकुमार ठाकुरको भनाइ छ । सामान्य चिरफारका बिरामीको समेत उपचार हुने केन्द्रबाट झन्डै सय प्रकारका औषधि वितरण हुने गरेका छन् । बिरामीको चाप बढेपछि समय-समयमा औषधिसमेत अभाव हुने गरेको छ । पूर्वाधार अभावका कारण सबै प्रकारका सेवा जिल्लास्थित आयुर्वेद वास्थ्यकेन्द्रमार्फत उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै सेवा विस्तारका लागि आयुर्वेद विभागमा अनुरोध गरिएको ठाकुरले बताए ।
विभागबाट उपलब्ध न्यून बजेटका कारण समस्या हुने गरेको केन्द्रको दु:खेसो छ । पाँचवटा औषधालयसहित केन्द्रको मसलन्द खर्चका लागि जम्मा ३५ हजार रुपैयाँ आउने गरेको छ । सोही रकमले कतिपय औषधि खरिद गरेर बिरामीलाई वितरण गरिने गरेको ठाकुरले बताए । गत आर्थिक वर्षमा केन्द्र र विभिन्न पाँचवटा औषधालयबाट १८ हजार नौ सय ९३ बिरामीले सेवा लिएका थिए । सोमध्ये महिला र पुरुषको अनुपात समान रहने गरेको छ । केन्द्रमा नै औषधि उत्पादनका लागि तीन वर्षअघि केन्द्रले जडीबुटी प्रशोधनको एक मेसिनसमेत पाएको छ । सो मेसिनबाट वारि्षक ४५ केजी औषधि प्रशोधन गरी वितरण गरिँदै आएको केन्द्रले जानकारी दियो ।
आयुर्वेदको महत्वबारे जानकारी गराउने उद्देश्यले केन्द्रले चेतनामूलक कार्यक्रमसमेत गर्दै आएको केन्द्रका लेखापाल निमेष अधिकारीले बताए । गत आर्थिक वर्ष ०६७/०६८ मा जिल्लाका विभिन्न ७ स्थानमा विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम सञ्चालन गरेको केन्द्रले महिला स्वास्थ्यसेविकाहरूलाई विभिन्न ६ स्थानमा चेतनामूलक कार्यक्रम गरेको थियो । यसैगरी सोही अवधिमा एक आमा समूह र धरमपुरमा आयुर्वेद स्वास्थ्य शिविर गरिएको अधिकारीले जानकारी दिए ।
औषधिजन्य जडीबुटी खेतीको प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रपरिसरमा एक दर्जनभन्दा बढी प्रजातिको जडीबुटी पनि रोपिएको छ । जडीबुटी खेतीमा चासो हुनेहरूलाई देखाउने उद्देश्यले ती बिरुवा रोपिएको लेखापाल अधिकारीले बताए । नमुनाको रूपमा राजवृक्ष, र्सपगन्धा, अमला, अर्जुन, निम, पारिजात, हर्र्रो, बर्र्रोलगायतका औषधिजन्य बिरुवा रोपिएको उनले जनाए । जिल्लामै बनाइनुपर्ने धेरैजसो जडीबुटी औषधि स्थानीय बजारमा पाइँदैन । आवश्यक पर्ने धेरैजसो जडीबुटी काठमाडौंबाट ल्याइने गरेको छ । चन्द्रप्रभावटी, स्वर्णवङ्ग, प्रदरान्तक लौह, कञ्चनार गुगललगायतका औषधि बढीमात्रामा खपत हुने गरेको छ । ती औषधिका लागि आवश्यक पर्ने कच्चापदार्थ -जडीबुटी) भारतको सिलगुढीमा पाइने भए पनि नेपाली बजारको भन्दा महङ्गो र कम गुणस्तरीय हुन्छ । विभागबाट थप सहायता र बजेट प्राप्त हुन सके आकस्मिक सेवासमेत सञ्चालन गर्न सकिने केन्द्रले जनाएको छ ।
गलतदेखि होसियार
उपयुक्त औषधि र मात्रा नमिलेमा आयुर्वेदिक औषधिले समेत गलत प्रतिक्रिया आउने स्वास्थ्यकर्मीहरूले जनाएका छन् । केन्द्रका वैध पण्डितले भने, ‘बजारमा अचेल आयुर्वेदिक औषधिका पसल खुल्ने क्रम बढेको छ, तर ती सबैमा सही औषधि पाइन्छन् भन्ने छैन ।’ धेरैजसो आयुर्वेदिक औषधि विक्रेताहरूले जडीबुटीले ‘साइड इफेक्ट’ गर्दैन भन्दै औषधि बेच्ने गरेको जनाउँदै गलत मात्रा र परिमाण सेवन गरे आयुर्वेदिक औषधि पनि खतरा हुने उनले जनाए । बजारमा खुलेका आयुर्वेदिक औषधि पसलको अनुगमन गर्न आवश्यक रहेको केन्द्रले जनाएको छ । तर, स्वास्थ्यकेन्द्रमा त्यसको अधिकार नरहेकोले आफूहरूले हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ छ ।विषणु सुब्बा

घनश्यामलाई इन्सेक पुरस्कार
मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत एकजनालाई हरेक वर्ष प्रदान गरिँदै आएको प्रकाश मानवअधिकार पुरस्कार- २०६७ रोल्पाका घनश्याम आचार्यलाई प्रदान गरिने भएको छ । पचास हजार नगदका साथै सम्मानपत्र तथा इन्सेकको प्रतीक चिह्न प्रदान गरिने सो पुरस्कारबाट ४० वर्षीय आचार्यलाई सम्मानित तुल्याइनुको कारण प्रस्ट्याउँदै इन्सेकले भनेको छ, ‘१५ वर्षको कलिलै उमेरमा जुनियर रेडक्रसमा आबद्ध भई सार्वजनिक जीवनको पहिलो खुड्किलो सुरु गर्नुहुने आचार्य विगत दुई दशकभन्दा बढी समयदेखि मानवअधिकार आन्दोलनमा सक्रिय हुनुहुन्छ । निष्पक्ष मानवअधिकारकर्मीका रूपमा मूल्याङ्कित र सम्मानित इन्सेकका पूर्व जिल्ला प्रतिनिधि आचार्य इन्सेक सहकर्मी संस्था मानवअधिकार सचेतन केन्द्र -हुरेक), नागरिक समाज रोल्पा, मानवअधिकार सञ्जाल, स्थानीय शान्ति समिति, द्वन्द्वपीडित राहत छनोट जिल्लास्तरीय कार्यदल, लैङ्गिक हिंसाविरुद्धमा जिल्लास्तरीय स्रोत समूहमा नेतृत्वदायी भूमिकाका साथ निरन्तर आबद्ध रहँदै आएका छन् ।’ यो पुरस्कारबाट सम्मानित हुने आचार्य १७औँ व्यक्ति हुन् ।

काङ्ग्रेसका कार्यकर्ताबाट दैनिक एक रुपैयाँ
नेपाली काङ्ग्रेसको इतिहासमै पहिलोपटक नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति लमजुङले पार्टीका प्रत्येक क्रियाशील कार्यकर्ताले दैनिक एक रुपैयाँका दरले पार्टीलाइ लेबी तिर्नुपर्ने प्रस्ताव पारित गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यालय समिति लमजुङ नेपालको इतिहासमा नै ‘एक क्रियाशील कार्यकर्ता, एक दिन एक रुपैयाँ’ भन्ने प्रस्ताव पारित गरी प्रत्येक कार्यकर्ताबाट दैनिक एक रुपैयाँका दरले पार्टीलाई लेबी बुझाउने र नेपाली काङ्ग्रेसको यो अभियानबाट उठेको उक्त लेबी ५० प्रतिशत गाउँ कार्यसमिति र ५० प्रतिशत जिल्ला कार्यसमितिमा जाने काङ्ग्रेस लमजुङका सभापति कृष्णप्रसाद कोइरालाले बताए ।
अहिलेसम्म नेपाली काङ्ग्रेसमा सक्रिय कार्यकर्ताले लेबी तिर्ने गरेका थिएनन्, जसका कारण पार्टीका विभिन्न कार्यक्रम सञ्चालन गर्नसमेत अप्ठ्यारो हुँदै आएको थियो । क्रियाशील कार्यकर्ताबाट उठेको लेबीबाट पार्टीका विभिन्न आर्थिक, सामाजिक, भौतिक तथा सांस्कृतिक पक्षमा खर्च गरी पार्टीलाई अझ सशक्त बनाउँदै लैजाने कोइरालाले बताए ।
यतिबेला नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिमा चार हजार तीन सय ५३ जना क्रियाशील कार्यकर्ता रहेका छन् । उनीहरूले तिर्ने लेबीबाट काङ्ग्रेसको कोषमा अब दैनिक चार हजार तीन सय ५३ रुपैयाँ जम्मा हुनेछ । यस हिसाबले एक वर्षमा लेबीबाट १८ लाख सात हजार आठ सय ४५ रुपैयाँ जम्मा हुने देखिएको छ ।
पार्टीलाई अझै परिष्कृत बनाउँदै लैजाने क्रममा गरेको यो अभियानले समग्र जिल्लाका जनताले राहत पाउन् भन्ने उद्देश्यले पार्टीले यो अभियान अगाडि सारेको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति जीवन श्रेष्ठले बताए ।
-छविलाल बगाले

सार्वजनिक गुठी जग्गामा मास
कास्की जिल्ला भरतपोखरी गाविस वडा नं. २, ५ र ६ को सिमानामा पर्ने अति प्राचीन कोटभैरव मन्दिरको संरक्षण अभियानअन्तर्गत मन्दिरको स्वामित्वमा रहेको २० रोपनी सार्वजनिक गुठी जग्गामा स्थानीयवासीको सक्रियतामा मास छरिएको छ । विगतमा गुठी जग्गाका माध्यमबाट मन्दिरको नियमित पूजाआजा सञ्चालन गर्दै आइएको भए पनि कृषिप्रति सर्वसाधारणको अनिच्छा बढ्दै गएको अवस्थामा मन्दिरको पूजाआजासमेत प्रभावित हुँदै जान थालेपछि बाँझो रहेको उक्त सार्वजनिक जग्गामा स्थानीयवासीको सामूहिक सक्रियतामा मास छरिएको हो ।
कोटभैरव मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष फत्तबहादुर महत, श्री चण्डी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर थापा, पावनडाँडा छबिसे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गुरुप्रसाद पौडेल, चण्डी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तबहादुर थापा, बरेली युवा क्लबका अध्यक्ष सुजन पौडेललगायत विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा पदाधिकारीको विशेष सक्रियतामा आयोजित उक्त अभियानमा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कोटभैरव मन्दिर कास्की जिल्लाको भरतपोखरी गाविसमा पर्ने अति प्राचीन ऐतिहासिक महत्वको मन्दिर भएको बताउने स्थानीयवासी एवम् पावनडाँडा छबिसे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गुरुप्रसाद पौडेलका अनुसार परापूर्वकालदेखि मन्दिरको नियमित कार्य सञ्चालनका लागि गुठी जग्गाको व्यवस्था गरिए पनि कृषिप्रतिको बढ्दो अनिच्छाका कारण पछिल्ला वर्षमा आएर मन्दिरको नियमित पूजाआजासमेत सङ्कटमा पर्दै आएको थियो । पूजाआजा यसको संरक्षणलाई लक्षित गर्दै मन्दिरको स्वामित्वमा रहेको सार्वजनिक गुठी जग्गाअन्तर्गतको २० रोपनी जग्गामा सामूहिक प्रयासबाट मास छरिएको स्थानीयवासीहरूले बताए ।
कोटभैरवको मन्दिर नेपालमा बाइसेचौबीसे राजाका पालादेखि नै पूजाआजा गरिँदै आइएकोे अति प्राचीन प्रसिद्ध तर्ीथस्थल हुनुका साथै प्राचीन किंबदन्तीअनुसार बरकोटका काला जटाभैरवका रूपमा यस मन्दिरमा पूजाआजा हुँदै आएको र यस तर्ीथस्थलका अन्य धेरै ऐतिहासिक तथ्यहरू अझै पनि अनुसन्धानकै विषय रहेको पौडेलको कथन छ । कोटभैरव मन्दिरको नियमित पूजाआजासमेत सङ्कटमा पर्दै गएको अवस्थामा नियमित पूजाआजा सञ्चालनका साथै यसको संरक्षण तथा विकासका लागि सामूहिक रूपबाट सार्वजनिक गुठी जग्गामा सामूहिक प्रयासबाट मास छरिनुलाई अत्यन्त महत्वका साथ हेरिएको छ ।-खुश्वु ढुंगाना

यौनशोषण होइन चरित्रहीनता
बन्दी सहायता नेपाल नामक संस्थामा संरक्षित बालिका र किशोरीहरूमाथि यौन दुर्व्यवहार हुने गरेको समाचार सार्वजनिक भएपछि यहाँ संरक्षित झन्डै तीन सय बालिका र किशोरीको अध्ययनसँगै सामाजिक जीवनसमेत प्रभावित बन्न पुगेको छ । यस संस्थामा सामुदायिक कार्यकर्ता पदमा कार्यरत सागर थापाले आफूलाई नियमित यौनशोषण गर्ने गरेको र अन्य बालिका तथा किशोरीको अवस्थासमेत त्यस्तै भएको भनी यहाँकी एक किशोरीको हवाला दिएर हालै सञ्चारमाध्यमले खुलासा गरेपछि यहाँ आश्रय लिइरहेका तीन सय बालिका र किशोरीलाई अहिले तथा बजार जाँदा पनि ‘युवाहरूले राति आउँछौँ तयार बस्नु’ जस्ता अश्लील शब्द बोेलेर यौन दुर्व्यवहार गर्ने गरेकोले विद्यालय जान पनि नसक्ने अवस्थामा पुगेका छन् । तर, यो आरोप निराधार हो । संस्थामा आश्रय लिने अन्य किशोरीलाई सोधे यसको पुष्टि भइहाल्छ । आफूमाथि यौनशोषणको आरोप लगाउने युवतीकी बहिनी बिमला केसीले त आफ्नै दिदीको चरित्र ठीक नभएको बताइरहेकी छिन् ।
गाउँकै एकजनासँग हिँडेकी दिदी होस्टल फर्केर आएपछि यौनजन्य कुरा गर्न थालेको र त्यसपछि घरबाट दाजुहरू आएर फिर्ता लगेपछि नभएको यौन दुर्व्यवहारको आरोप लगाएको विमलाको भनाइ छ । कक्षा दशमा अध्ययनरत उनले दिदीकै कारण अहिले विद्यालयमा आफूलाई सहपाठीले नै ‘राति आउँछु है’ भनेर यौन दुुर्व्यवहार गर्ने गरेकाले विद्यालय पनि जान नसक्ने अवस्था आएको उनको गुनासो छ ।
यथार्थ यो हुँदाहुँदै जथाभावी समाचार प्रकाशित गरेर संस्थाका तीन सय विद्यार्थीको भविष्य बिगार्ने कोसिस भएकोप्रति क्षोभ व्यक्त गर्दछु ।
– इन्दिरा राना -निर्देशक), बन्दी सहायता नेपाल

अस्पतालले लगाइदियो अदालतलाई धोती
पर्सा जिल्ला अदालत र पुनरावेदन अदालतसमेतले अस्पतालको दक्षिणतर्फ रहेको प्रमोद फार्मेसी गैरकानुनी तवरबाट निर्माण गरिएको ठहर गर्दै सो पसल हटाएर घर तोड्न आदेश दिएको धेरै समय बितिसक्यो । तर, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिले अदालतको आदेश अवज्ञा गरिरहेको छ । पसल स्थापना गर्दा अस्पताल विकास समितिसँग साझाले गरेको सम्झौताविपरीत तत्कालीन मेसु डाक्टर मुरलीप्रसाद सिंहले प्रमोद फार्मेसीलाई इजाजत दिएकोविरुद्ध साझा अदालतको शरणमा गएको थियो । अदालतबाट न्याय पाएको नौ महिना भएको अवस्थामा पनि पसल हटाउनेतर्फ कुनै पहल नगरिनु घोर आर्श्चर्य र दु:खको विषय हो । अस्पतालले लापरबाही गरेको कारण साझाले प्रमुख जिल्ला अधिकारीलाई असार १७ गतेदेखि लिखित जानकारी गराउँदा पनि आज-आज भोलि-भोलि भन्दै टार्ने नियत देखाएको छ । प्रमोद फार्मेसीले पाँच वर्षका लागि गैरकानुनी तवरबाट गरेको सम्झौताको म्याद सकिँदासमेत पसलघर हटाएर अदालतको आदेश पालना नगरिनुको कारण रहस्यमय छ, यसमा राजनीतिक दबाब र रकमको चलखेल भएको हामीलाई शङ्का छ ।
– साझा स्वास्थ्य संस्थाका कर्मचारीहरू