प्रचण्ड-देउवा सम्बन्धको अर्को पाटो -बद्रीनरसिंह केसी

प्रचण्ड-देउवा सम्बन्धको अर्को पाटो -बद्रीनरसिंह केसी


माओवादी पार्टीभित्र ‘परालको आगो’ निभ्यो तर भुसको आगो ज्युँकात्युँ छ र त्यसले ज्वाला निकाल्न हावाको अर्को झोक्का परि्खरहेको छ । एमालेभित्रचाहिँ मुढाकै आगोको रापले भित्रभित्रै गलाइरहेको छ । तीनवटै ठूला पार्टीमा सत्ताका लागि लम्पट चरित्र र वितण्डाको भयानक महामारी फैलिएको छ । पार्टीहरूको यो सत्ता-आशक्ति, सलहले बालीनाली ताकेको शैलीमा देखापरिरहेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०५८ सालतिर आफ्नो बीचको नाम काङ्ग्रेस नेता शेरबहादुर देउवालाई टक्य्राउँदै ‘हिलोमा फुलेको कमल’ भनेका थिए । यो अभिनन्दनको उत्तरमा देउवाले दाहाललाई ‘हिम्मतदार नेता’ भने । तर, त्यो अभिनन्दन साटासाट तीन महिनामात्र टिक्यो । माओवादीले दाङको सैनिक ब्यारेकमा हमला गरेपछि तत्कालीन प्रधानमन्त्री देउवाले सङ्कटकाल घोषणा गरे र माओवादी नेताहरूको टाउकाको मोल तोके । त्यसपछि हिलोका कमल माओवादीबाटै परम् शत्रु ठहराइए । माओवादीले देउवाको ज्यान लिइसकेका थिए, पश्चिम नेपालको जङ्गलमा उनी भाग्यले मात्र बाँचे ।
आज फेरि प्रचण्ड-देउवा सम्बन्ध नयाँ ढङ्गमा बढिरहेको छ । त्यही सम्बन्धको अडेस लागेर काङ्ग्रेसका वरिष्ठ नेता देउवाको सत्ता-प्रयास ‘घरज्वाइँलाई खानैको धन्धा’ शैलीमा चलिरहेको छ । काङ्ग्रेस सभापति सुशील कोइरालाले शान्तिप्रक्रियाको नेतृत्व गरिदिन एक-दुई दिनअघि मात्र प्रचण्डलाई गुहारेका थिए । प्रचण्ड पनि सत्ताको नेतृत्व देउवालाई जिम्मा लगाउन उधारो वचन दिइरहेका छन् । वचनको यो साटासाट साँच्चै हो या घिउ बेचुवा र तरबार बेचुवाको लेनदेनजस्तो मात्र हो ? प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावक वा समर्थक बन्ने सम्भावना कति छ ?
युद्धकालमा प्रचण्डको विरोध गर्नु भनेको युद्धविरोधी अपराधसरह मानिने गथ्र्यो । माओवादीमा आज उनको धुवाँधार विरोध स्वाभाविक मान्न थालिएको छ र पार्टी विघटनको डिलमा पुगेर पक्ष-विपक्षमा विभाजित भएको छ । तर, अस्वाभाविक गतिविधि, प्रचण्डको उडन्ते आश्वासनमा देउवाको सत्ता-प्रयास हुन पुगेको छ । प्रचण्डलाई आफ्नै पार्टीभित्र सन्तुलन र सन्तुष्टि दिन हम्मेहम्मे परिरहेको छ । युद्धका बेला भागेका र यतिखेर भाग खोज्न पुगेका, चाकरी गरेर आफ्नो दुनो सोझ्याउन खोज्नेदेखि राजदरबारले पाले-पोषेर मान्छे बनाइदिएकाहरू माओवादीभित्र छिरेका छन्, जसरी झिँगाहरू सख्खरको डल्लोसँगै बसाइँ जान्छन् । तिनलाई पनि प्रचण्डले बोकेर हिँड्नुपरेको छ । हिजो प्रचण्डका सहयोद्धा आज च्यालेञ्जर भएर उभिएका एक से एक हस्तीलाई नाघेर प्रचण्डले देउवालाई प्रधानमन्त्री बन्न सहयोग गर्छन् भनेर भर पर्ने, तीनपटक प्रधानमन्त्री भइसकेका काङ्ग्रेस नेताको वैचारिक स्तर यसबाट बुझन सजिलो हुन्छ । गिरिजाप्रसाद कोइरालाजस्तो नेतालाई राष्ट्रपति बनाउने भनी ठाडै धोका दिएको माओवादीले देउवालाई प्रधानमन्त्री बनाउने आशा गर्नु हुस्सुपनको दयनीय चरित्र हुन्छ ।
वर्तमान सत्ता-समीकरणको स्थायी ध्येय नेपाली काङ्ग्रेसलाई सत्ताको नेतृत्व गर्नबाट निषेध गर्नु र सातबुँदे सहमतिको एउटा उद्देश्य यस ध्येयलाई कार्यान्वययन गर्नु हो । आफ्नै प्रधानमन्त्रित्वमा संविधानसभाको चुनाव गराएर परिणाम देखेपछि रन्थनिएका गिरिजाप्रसाद कोइरालाले तीन महिनासम्म सत्ता हस्तान्तरण गर्न धिङ्न्याई गरेकै हुन्, यस अर्थमा कि अहिले सत्ता छोडियो भने यो संविधानसभा रहुञ्जेल काङ्ग्रेसका हातमा सत्ताको नेतृत्व फर्किने छैन । उनको यो विश्लेषण सही थियो, अहिले पनि मननीय छ । त्यसकारण देउवाले प्रचण्डबाट ‘झर्छ र खाउँला’ भनी आशा राख्नु सत्तामुखी राजनीतिको हास्यास्पद पक्ष हो भने देउवा जोकर हुनु हो ।
संविधानसभाको औचित्य र आवश्यकता कम से कम काङ्ग्रेस र लोकतन्त्रवादीहरूका लागि समाप्त भइसकेको छ । यो ब्रह्मज्ञान गिरिजाप्रसाद कोइरालालाई पहिले नै आइसकेको थियो । संविधानसभामा आफ्नो पार्टीको पकड र राष्ट्रपतिको पद प्राप्तिमा आफ्नो असफलता भोगेपछि उनी अन्तरिम संविधानको अन्त्य र २०४७ को संविधानको पुनर्स्थापना खोज्न थालेका थिए । लोकतन्त्रवादीका नाताले यस्तो खोजी आफैँमा नाजायज होइन । थेग्नै नसकिने परिवर्तनको भारी बोकेर हिँड्ने हुँदा काङ्ग्रेसले तराईको गढ गुमायो, राष्ट्रिय राजनीतिमा सबै दलहरूको निर्णायक थलो बन्दै आएको आँगनको मञ्च गुमायो । सभापति सुशील कोइरालाले माओवादीलाई शान्तिप्रक्रियाको नेतृत्व जिम्मा लगाउने, वरिष्ठ नेता देउवा माओवादीका आशाले सारा ध्यान सत्ताप्राप्तिमा लगाउने, रामचन्द्र पौडेल व्यक्तिगत राजनीतिक लाभको जोखाना हेरेर मात्र चल्ने हो भने लोकतन्त्रको वागडोर कसले सम्हाल्ने, अनि काङ्ग्रेसलाई कसले प्राण-प्रतिष्ठा र ऊर्जा भरिदिने हो । सबभन्दा उदेकलाग्दा बोली र गतिविधि काङ्ग्रेस नेताहरूबाट आइरहेको छ । त्यसैले लोकतन्त्र यतिबेला स्खलित र अत्यन्त कमजोर अवस्थामा पुगिसकेको छ ।