‘मातृभूमिका लागि नेपाली’ अभियान आरम्भ हुँदै

‘मातृभूमिका लागि नेपाली’ अभियान आरम्भ हुँदै


राष्ट्र र जनताको हितमा राज्यलाई केन्द्रित तुल्याउन दबाब पैदा गर्ने मूल उद्देश्यका साथ ‘मातृभूमिका लागि नेपाली’ नामक नागरिक समूहको औपचारिक भेला शनिबार (४ जेठ) राजधानी काठमाडौंमा आयोजना हुन लागेको छ । मुलुकमा पटक–पटक भएका राजनीतिक परिवर्तनले देशको सार्वभौमिकता, राष्ट्रियता, राष्ट्रिय एकता र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने परिणाममुखी कार्य गर्न नसकेको भन्दै जनस्तरबाट सङ्गठित दबाब दिन अभियान आरम्भ गर्न लागिएको हो ।

देशका पक्षमा जागरण पैदा गर्ने तथा नेतृत्वलाई जनता र देशको हितमा कार्यरत रहन दबाबको स्थिति बनाउने उद्देश्यले विभिन्न क्षेत्रका सचेत नागरिकहरू स्वस्फूर्त रूपमा जागृत भएका भेलाका संयोजक देवप्रकाश त्रिपाठीको भनाई छ ।

राजधानीस्थित नेपाल प्रज्ञा भवनमा शनिबार विहान दश बजे शुरु हुने अभियानको औपचारिक भेलामा देशलाई माया गर्ने नेपालीहरूको प्रतिनिधित्व मुलुकभरबाट हुने छ, जसलाई अभियानकर्ताहरूले ‘महाभेला’को संज्ञा दिएका छन् ।

महाभेलाले ‘मातृभूमिका लागि नेपाली’ अभियानलाई उद्देश्यकेन्द्रित रूपमा अघि बढाउन केन्द्रिय तहको एक समिति गठन गर्नुका साथै विभिन्न जिल्ला एवम् प्रवास संयोजकहरू समेत चयन गर्ने बुझिएको छ ।

महाभेलाकै बीच अभियन्ताहरूले देशको माटो मुट्ठीमा लिएर देशको सार्वभौमिक स्वतन्त्रता, राष्ट्रियता, राष्ट्रिय एकता, आफ्नो धर्म, संस्कृति र परम्पराको रक्षाका निम्ति शपथसमेत लिने बताइएको छ ।