कम्युनिस्ट भूतको महाभूत -युवराज बस्ताकोटी

कम्युनिस्ट भूतको महाभूत -युवराज बस्ताकोटी


महामानव विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभएको छ, ‘म प्रजातन्त्रवादी हुँ तर राष्ट्रियता र प्रजातन्त्रमध्ये एक रोज्नुपर्‍यो भने म राष्ट्रियता नै रोज्छु ।’ समाजवादी अर्थव्यवस्था, पूर्ण प्रजातान्त्रिक राज्यव्यवस्था भएको, सम्पूर्ण रूपले सार्वभौमसत्तासम्पन्न नेपालको परिकल्पना बीपी कोइरालाले गर्नुभएको थियो । राजा महेन्द्र र विश्वेश्वरप्रसाद कोइराला तथा कैयौँ अन्य राष्ट्रवादी व्यक्ति तथा तत्कालीन सैनिक नेतृत्वको कारण पनि हुनसक्छ राष्ट्र आज ‘नेपाल’ बाँकी छ । जनताका अधिकारहरू खोसेर राजनीतिको वागडोर आफ्नो हातमा लिएका तत्कालीन राजा महेन्द्रले बीपीबाबु, किसुनजी, गणेशमानजी, गिरिजाबाबुजस्त्ा नेताहरूलाई जेलको चिसो छिँडीमा सुताए र प्रजातन्त्रको अपहरण गरे । नागरिक अधिकारहरू कुण्ठित गरेर राजनीतिक अधर्म प्रस्तुत गरे, तर देश बेच्ने अपराध उनबाट भएन । त्यसैगरी राष्ट्रिय स्वाधीनताको सवालमा बीपीले कसैसँग सम्झौता गर्नुभएन ।
आज ६५ वर्षदेखि नागरिक अधिकार र पूर्ण लोकतन्त्रका लागि अनवरत सङ्घर्षशील पार्टीको उच्चतम तहमा नेता सुशील कोइराला हुनुहुन्छ, जसले राष्ट्र र लोकतन्त्रको सवालमा बीपी कोइरालाको पथचिह्नलाई अक्षरश: पालना गर्दै आउनुभएको पाइन्छ । बीपीसँग प्रत्यक्ष राजनीति सिक्नुभएका आदरणीय व्यक्तित्व आज देशको राष्ट्रपतिजस्तो महागरिमामय पदमा आसीन हुनुहुन्छ । मधेसी मूलका व्यक्तिलाई राजनीतिको प्रथम पात्र हुनबाट रोकिँदै आएको भन्ने आरोपलाई गतिलो जवाफ बनेर ओजपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका डा. रामवरण यादवजस्ता राजनेताहरू शक्तिमा रहँदा देशमा विदेशी शक्तिको चलखेल तथा हालीमुहाली जनअपेक्षित हुन सक्दैन ।
उल्लेखित पङ्क्तिमा प्रसङ्ग यो जोडौँ कि नेपाली तथा केही विदेशी मिडियाले बौद्धिक आर्किटेक्ट तथा एनेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई कम्युनिस्ट भएर पनि प्रजातन्त्रवादी तथा राष्ट्रवादी व्यक्तित्व भनेर उच्च्ा महत्व दिने गरेका छन् । यस सन्दर्भमा उहाँबारे आफ्ना दृष्टिकोणहरू सेयर गर्नु पङ्क्तिकारले आवश्यक ठानेको छ ।
डा. भट्टराई प्रजातन्त्रप्रति विश्वास राख्दछन्, उनी एक्काइसौँ शताब्दीअनुसारको स्वतन्त्रताप्रेमी व्यक्तित्व हुन् भनेर कतिपयले सोचेझैँ आश्वस्त हुने ठाउँ भने प्राप्त गर्न सकिएको छैन । अर्थमन्त्रीकालमा सङ्कलित राजस्वलाई लिएर त्यसो भनिएको भए बिल्कुलै प्राविधिक कुरा भयो । २० लाखसम्म उपभोक्ता समितिले सम्पन्न गर्न पाउने निर्माणकार्यको सीमा बढाएर ६० लाख पुर्‍याई आफ्ना युवा तथा किसान सङ्गठनलाई उपभोक्ताको नाममा पैसा बाँडेको न त पत्रकारले बुझ्ने कोसिस गरे न आमजनताले । सीधा हातले १७ हजार दिएर कर्केहातले १७० हजार लिने डा. सावको चतुर्‍याइँ हो कि एक सहकारी सुपथ मूल्य पसलका नाममा बाँडिएको अर्बौं रुपैयाँको खोजी अध्ययन कुनै दिन अवश्य होला ? यी प्राविधिक कुरा उठाएर डा. सावको मानमर्दन गर्न खोजिएको नठानियोस् । व्यक्तिगत रूपमा उहाँको दक्षता-क्षमता र बौद्धिकताको म प्रशंसक नै हुँ ।
डा. सावको जन्मजिल्ला संयोगले तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थान नै परेको छ । विशाल नेपालका जन्मदाता पृथ्वीनारायण शाहमाथि गालीगलोज गर्नुको अर्थ एकीकृत नेपाल राष्ट्रभन्दा तत्कालीन बाइसे-चौबीसे राजारजौटा नै ठीक थियो भनेको हो ? अढाइ सय वर्ष पहिलेको समयमा त्यति ठूलो साहसका साथ राष्ट्र एकीकरण कार्य गर्नु राजा पृथ्वीनारायण शाह तत्कालीन जनता र उहाँका उत्तराधिकारीहरूप्रति एउटा सच्च राष्ट्रभक्तले सधैं सलाम गर्छ । तत्कालीन राजारजौटा जनजाति वर्गको पर्नु एउटा संयोगबाहेक अरू केही हुन सक्तैन । धर्म परिवर्तनका नाममा आएका अर्बौं डलर के भइरहेका छन्, अर्थमन्त्री भइसक्नुभएका आदरणीय नेता डा. सावले कहिल्यै अध्ययन-अनुसन्धान गर्नुभयो होला र –
गोरखाको प्रसङ्ग यस अर्थमा आएको हो कि उहाँ हालसम्म निर्वाचन जितेपछि ४० पटकभन्दा बढी जिल्ला जानुभएछ । हो, त्यति नै पटक विपक्षी दल -नेपाली काङ्ग्रेस तथा एमाले) कार्यकर्ताहरू अङ्गभङ्ग हुनेगरी उहाँका कार्यकर्ताहरूको आक्रमणमा पनि परेका छन् । आक्रमण उहाँ गएकै समय मात्र भएका छैनन्, उहाँकै उपस्थितिमा -चुनावी सभालाई सम्बोधन गरी र्फकंदा) घ्याम्पेसाल, गोरखामा स्थानीय काङ्ग्रेस कार्यकर्ता सानुकाजी बानियाँमाथिको साङ्घातिक आक्रमणबाट सुरु भएको माओवादी आक्रमणको सिलसिला फरकफरक ठाउँमा फरकफरक व्यक्ति, समूहमाथि केन्द्रित रहँदै आएका छन । त्यसयता फणीन्द्र धिताल, सीपी भट्ट, मोहन पोख्रेल, चेतबहादुर गुरुङ, दर्ुगा गुरुङ, शरण श्रेष्ठ, ध्रुव पन्त, शिक्षकहरू शिव भट्ट, गोविन्द भट्ट, लक्ष्मी अधिकारी, रामेश्वर पोख्रेल, कृष्णप्रसाद धिताल, कृषकप्रकाश ढकाल, नवराज अधिकारी आदिमाथि निरन्तर जारी छ । प्रत्येक भाषणमा आक्रामक शब्दहरूको प्रयोग द्वन्द्व बढाउने खालका उत्तेजनात्मक टिप्पणी गर्ने डा. सावको भनाइ सुन्दा लाग्छ अझै पनि चर्को विद्रोहमा होमिइरहनुभएको छ । संसद्मा बस्ने, मन्त्री-प्रधानमन्त्री बन्ने, आयआर्जन जारी राख्ने तर फेरि पनि संसद्लाई नै गाली गर्ने कम्युनिस्ट भूतको महाभूतचाहिँ डा. सावमा यद्यपि सवार देखिन्छ । संसद्लाई जनताअगाडि गाली गर्ने, विदेशीको अगाडि पूर्ण लोकतन्त्रवादी देखाउन हरप्रयास गर्ने दोहोरो चरित्र उहाँमा प्रस्ट देखिएको छ भन्दा ज्यादति सायदै ठहरिएला । ‘पुराना हली-गोठालाले सामन्तहरूलाई तिनका घर-खेतबाट लखेट्ने छन्’ भन्ने डा. भट्टराईको -गोरखा जिल्ला परिषद्को भाषण) अभिव्यक्तिलाई कुन रूपमा लिने ? द्वन्द्व समाधान गर्ने मन्त्र वा द्वन्द्व बढाउने ? नागरिक अधिकारका कुरा गरेर कहिल्यै नथाक्ने उहाँ अन्य दलका नेता-कार्यकर्तामाथि निषेध, दमन, धम्की, डरत्रासको भावना पैदा गराउन अझै सक्रिय देखिनुहुन्छ । ‘अतिवाद लामो समयका लागि होइन’ भन्ने विश्वप्रसिद्ध भनाइलाई मान्ने हो भने डा. भट्टराई मात्र होइन उहाँको पार्टी पनि वास्तविक व्यावहारिक प्रजातान्त्रिक शक्तिको रूपमा अगाडि नआई सुखै छैन । आखिर कम्युनिस्ट भन्दै पनि गर्ने प्रजातन्त्रको दुहाइ पनि दिने दोहोरो चरित्र यो सूचना प्रविधिको युगमा कति दिन टिक्छ र हो -!