सांसद अमरेश सिंहद्वारा छाया सरकारमा बस्न अस्वीकार

सांसद अमरेश सिंहद्वारा छाया सरकारमा बस्न अस्वीकार


नेपाली काङ्ग्रेसका नेता एवम् सांसद डा. अमरेश कुमार सिंहले छाया सरकारको कुनै पनि जिम्मेवारीमा नरहने बताउनुभएको छ । सोमबार (जेठ ६ गते) काङ्ग्रेसले छाया सरकारको घोषणा गर्दै परराष्ट्र मामिला हेर्ने जिम्मेवारी नेता डा. नारायण खड्काको संयोजकत्वमा डा. अमरेश कुमार सिंह र दिव्यमणि राजभण्डारीलाई दिएको छ । यस्तो घोषणाप्रति आपत्ति जनाउँदै सांसद सिंहले उक्त जिम्मेवारी अस्विकार गर्ने बताउनुभएको छ ।

आफूले छाया सरकारमा रहन निवेदन नदिएको र आफ्नो इच्छा पनि नभएको स्पष्ट गर्दै डा. सिंहले घटना र विचारसँग भन्नुभयो– ‘मसँग सामान्य परामर्श समेत नगरिकन छाया सरकारमा मलाई जुन जिम्मेवारी दिएको छ, त्यो मलाई स्वीकार्य छैन ।’

उहाँको भनाई छ– ‘म काङ्ग्रेसको एउटा सांसदको रूपमा भूमिका निर्वाह गर्नेछु, त्यसबाहेक अरु कुनै पनि जिम्मेवारी लिने मेरो इच्छा छैन, सभापति शेरबहादुर देउवाजीले मलाई यसप्रकारको जिम्मेवारी दिने कष्ट नगर्नु भए हुन्छ ।’

सांसद सिंहले अगाडि भन्नुभयो– ‘सभापतिको निर्णयबाट म स्तब्ध र आश्चर्यचकित भएको छु ।’ सांसद सिंहले छाया सरकार गठनसम्बन्धी समाचार सार्वजनिक हुने वित्तिकै असहमति जनाउन सभापति देउवालाई फोन गर्नुभएको थियो । तर, देउवाले सिंहको फोन रिसिव नगर्नुुभएको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार सांसद अमरेश कुमार सिंह देउवाले दिने थप कुनै पनि जिम्मेवारी स्वीकार गर्न असमर्थ हुनुहुन्छ ।