चौथो संस्करणको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता जेठ अन्तिम साता कञ्चनपुरस्थित महेन्द्रनगरमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना र महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा जेठ अन्तिम साता चौथो संस्करणको प्रधानमन्त्री कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता महेन्द्रनगरको खुला मञ्च र कभर्डहलको क्रिकेट मैदानमा हुने भएको हो ।
जेठ ७ गते मंगलबार राजधानीको बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ २८ गते देखि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सञ्चालन हुने राखेपका सदस्यसचिव केशवकुमार विष्टले जानकारी जानकारी गराएका हुन् ।
प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली गरी आठ टोलीको सहभागिता रहने प्रतियोगिताको म्यानेजमेन्टको जिम्मेवारी पाएको महाकाली स्पोर्टस्का अध्यक्ष सुमन भट्टले जानकारी गराएका छन् । नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) विगत तीन वर्षदेखि निलम्बित भएको अवस्थामा हाल राष्ट्रिय खेलकुद परिषदले क्रिकेटलाई हेर्दै र प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
परिषदले विगतदेखि नै महिलाको घरेलु प्रतियोगिताका रूपमा प्रधानमन्त्री कपको आयोजना गर्दै आएको छ । यसअघि काठमाडौं, इटहरी र धनगढीमा प्रतियोगिताका तीन संस्करण आयोजना भएका थिए । प्रधानमन्त्री महिला क्रिकेट कपको विजेता टोलीले पाँच लाख र उपविजेता हुने टोलीले तीन लाख पुरस्कार पाउँदा प्रतियोगिताको उत्कृष्ट एक खेलाडीले स्कुटर प्राप्त गर्ने परिषदका सदस्यसचिव केशवकुमार विष्टले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगिता आयोजना गर्न ८८ लाख खर्च लाग्ने महाकाली स्पोर्टस् सोसाइटीले जनाएको छ । प्रतियोगिता आयोजना गर्न राष्ट्रिय खेलकुद परिषदले ३५ लाख खर्च गर्दा बाँकी ५३ लाख रुपैयाँ व्यवस्थापनको जिम्मा पाएको महाकाली स्पोर्टस् सोसाइटीले रकम प्रायोजनमार्फत सङ्कलन गर्ने प्रतियोगिताका डाइरेक्टर नीरज मगरले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा अस्ट्रेलियाको मिराई एजुकेसन एन्ड भिसा सर्भिसेज रहेको छ । महाकाली स्पोर्टस् सोसाइटीका अध्यक्ष सुमन भट्टले पत्रकार सम्मेलनमा भने, ‘पहिलोपटक प्रधानमन्त्री कप आयोजनाको जिम्मा पाउँदा हामी सम्पूर्ण कञ्चनपुरबासी उत्साहित भएका छौँ, महिला क्रिकेटलाई नयाँ आयाम र नयाँ उचाइ दिने उदेश्यले प्रतियोगिता आयोजना गर्नेछौँ ।’ जिल्ला खेलकुद विकास समितिको क्रिकेट मैदान र महेन्द्रनगरको खुलामञ्चमा हुने प्रतियोगिताका लागि मैदान र पिच व्यवस्थापनको काम यथाशीघ्र चाँडो शुरु गरिने भट्टले जानकारी गराएका थिए ।
प्रतिक्रिया