प्रेमको वास्तविक अर्थ पाउनुमा होइन, रहिरहनुमा लुकेको हुन्छ । कसैलाई आफ्नो बनाउनु मात्र प्रेम होइन, बरु उसको स्मृति, भावना र अस्तित्वमा आफूलाई यति गहिरोसँग समाहित गर्नु हो कि दूरी, समय वा परिस्थितिले त्यसलाई मेटाउन नसकोस् । साँचो प्रेमले स्वामित्व खोज्दैन, उपस्थितिको अनुभूति खोज्छ । त्यसैले प्रेमको सबैभन्दा गहिरो रूप अक्सर मिलनमा होइन, सम्झनामा जीवित रहन्छ ।
✍ दीपक राज जोशी
इतिहासका पानाहरू अक्सर रगत र युद्धले भरिएका हुन्छन्, तर मानव सभ्यताको मुटु भने प्रेमका ती कथाहरूले धड्काइरहेका छन्, जो अधुरा भएर पनि पूर्ण छन् । हीर-राँझा, लैला-मजनूँ र सोहनी-माहीवाल यी नामहरू सुन्नेबित्तिकै एउटा मीठो पीडा र अदम्य साहसको महसुस हुन्छ । यी कथाहरूमा एउटा यस्तो पाटो छ, जसलाई समाजले सधैं एउटा मर्यादाको पर्दा ले ढाक्न खोज्यो ।
यी अमर प्रेमिकाहरू कसैकी पत्नी पनि थिए । उनीहरूको सिउँदोमा अर्कैको नामको सिन्दूर थियो, उनीहरूको हातमा घरको साँचोको बोझ पनि थियो, तर उनीहरूको हरेक सास र हरेक धड्कनमा भने अरु कसैको नाम गुन्जिरहेको थियो । यसले एउटा शाश्वत सत्यलाई उजागर गर्छ । विवाहले समाजको अगाडि शरीरलाई बाँध्न सक्छ, तर प्रेमले ईश्वरको अगाडि आत्मालाई स्वतन्त्र बनाउँछ ।
हीर र राँझा : बाँसुरीको धून र सैदाको छायाँ
हीर र राँझाको कथा पंजाबको माटोको सुगन्ध मात्र होइन, यो त विद्रोहको स्वर हो । हीरको सुन्दरताको चर्चा जताततै थियो, तर उनको हृदय भने राँझाको बाँसुरीको धूनमा कैद भइसकेको थियो । जब परिवार र समाजले हीरलाई जबरजस्ती सैदा खेरासँग विवाह गराएर डोली चढाइदिए, तब समाजलाई लाग्यो अब प्रेमको अन्त्य भयो ।
तर प्रेम त त्यहाँबाट पो सुरु भयो, जहाँ आशाहरू समाप्त भएका थिए । हीर सैदाको घरमा गइन्, उनी सैदाकी पत्नी भनिइन् । तर इतिहास साक्षी छ, सैदाले हीरको शरीरलाई एउटा कोठामा थुन्न सफल भए पनि उसको मनलाई कहिल्यै छुन सकेनन् । राँझा जोगी बनेर हीरको आँगनमा आइपुग्दा, हीरको प्रेमले सबै सामाजिक मर्यादाका पर्खालहरू भत्काइदियो । आज सैदाको नाम इतिहासको कुनै अँध्यारो कुनामा हराइसक्यो, तर हीर र राँझाको नाम प्रेमको मन्दिरमा आज पनि सँगै जपिन्छ ।
लैला र मजनूँ : मरुभूमिको आर्तनाद र बन्द ढोकाहरू
लैलाको विवाह इब्न सलामसँग भयो । इब्न सलाम धनी, प्रभावशाली थिए उनले लैलालाई चाहन्थे । तर त्यो सम्बन्धले उनको मनलाई कहिल्यै बाँध्न सकेन । लैलाको हृदय भने मजनूँप्रतिको प्रेममा यति गहिरो रूपमा डुबेको थियो कि बाहिरी संसारका सबै सुविधा र वैभव पनि उनका लागि खोक्रा लाग्थे । समाजको नजरमा उनी एउटी विवाहित महिला थिइन्, तर भित्रभित्रै उनको चेतना मरुभूमिको तातो बालुवामा मजनूँसँगै भौंतारिरहेकी हुन्थी ।
मजनूँले लैलाको प्रेममा सबै कुरा त्यागे, उनी ढुङ्गा र काँडाहरूसँग कुरा गर्थे । लैलाले दरबारको सुख-सयलभन्दा मजनूँको त्यो पागलपनलाई बढी सम्मान दिइन् । विवाहले लैलालाई एउटा घर दियो, तर मजनूँले उनलाई एउटा अस्तित्व दिए । इतिहासले देखाएको छ कि कागजमा लेखिएको वैवाहिक सम्बन्ध समयसँगै खरानी हुन सक्छ, तर हृदयको गहिराईमा कोरिएको प्रेम कहिल्यै मर्दैन ।
सोहनी र माहीवाल: कच्चो घैंटो र गहिरो चिनाब
सोहनी-माहीवालको कथा सुन्दा नै मन भारी हुन्छ, आँखाभित्रै कतै एउटा अनकन्टार पीडा जागेर आउँछ । सोहनीको विवाह एक कुमालेसँग भएको थियो, तर उनको मन भने माहीवालको यादमा चिनाब नदीको छालसँगै हराउँदै बगिरहेको थियो । समाजका नियमहरूले उनलाई अरूको जिम्मेवारी भनेर बाँधेको थियो, तर उनको हृदयले भने प्रेमलाई नै आफ्नो अन्तिम सत्य बनाइसकेको थियो ।
हरेक रात अँध्यारोले ढाकिएको बेला, उनी एक्लोपन, डर र प्रेमको भारी बोकेर एउटा सानो घैंटोको सहाराले चिसो नदी पार गर्थिन् । त्यो घैंटो उनको जीवनको सहारा जस्तो थियो, तर नियतिले त्यसलाई पनि बदलिदियो । जब उनकी नन्दले माटोको घैंटो साटिदिइन्, उनलाई थाहा थियो अब फर्किने बाटो छैन । उनको तर प्रेम डरभन्दा बलियो बनिसकेको थियो । उनले कदम रोकिनन्, किनकि उनको लागि फर्किनु भन्दा पनि माहीवालसम्म पुग्ने चाहना ठूलो थियो । नदीको चिसो पानीले अन्ततः उनलाई समेट्यो, तर त्यो क्षण कुनै अन्त्य जस्तो लाग्दैन बरु एउटा यस्तो मौन मिलन जस्तो लाग्छ, जहाँ शरीर हराउँछ तर प्रेमको अनुभूति समयभन्दा पर जीवित रहन्छ ।
वास्तवमा, कुनै पनि भौतिक अभिलाषा र सांसारिक इच्छाभन्दा पर रहेर, एक-अर्काप्रति अनन्तकालसम्म नि:स्वार्थ र पवित्र भाव राख्नु नै साँचो प्रेम हो ।
कहिलेकाहीँ जीवनले सम्बन्ध दिन्छ, तर प्रेम होइन । कागजमा लेखिएको वैवाहिक सम्बन्धभन्दा गहिरो कुरा मनमा लेखिएको प्रेम हुन सक्छ । त्यस्तो प्रेम जुन देखिँदैन, छोइँदैन तर अनुभव गर्दा सम्पूर्ण संसार कम लाग्छ । प्रेम सधैं प्राप्तिमा मात्र हुँदैन । कतिपय प्रेमहरू अधूरा भएर पनि युगौँसम्म पूर्ण देखिन्छन् । अधूरोपनमा एउटा आफ्नै पवित्रता हुन्छ । एउटा यस्तो चाहना, यदि पूरा भएको भए सायद यति गहिरो हुने थिएन ।
हामीसँग आज पनि धेरै अमर प्रेमगाथाहरू जीवित छन् । सस्सी-पुन्नुन, मिर्जा-साहिबा, शिरीन-फरहाद, वा रोमियो-जुलियट । यी कथाहरू केवल प्रेमका उदाहरण होइनन्, बरु मानवीय भावनाको गहिराइ र त्यसको मूल्यबोधका प्रतीक हुन् । यस्ता कथाहरूले प्रेम सधैँ सामाजिक स्वीकृति वा सफल मिलनमा मात्र सीमित हुँदैन भन्ने देखाउँछ । कहिलेकाहीँ कसैलाई जीवनभर सम्झिरहनु, उसलाई हृदयमा जीवित राख्नु नै प्रेमको सबैभन्दा गहिरो रूप हुन्छ । यही कारणले प्रेमका कथाहरू विवाह वा औपचारिक सम्बन्धभन्दा धेरै लामो समयसम्म बाँच्छन्, किनकि सम्झनाहरू समयभन्दा शक्तिशाली हुन्छन् र भावना इतिहासभन्दा गहिरो हुन्छ ।
प्रेमको इतिहासले एउटा कटु तर सत्य निर्णय गरेको छ । आज ती पतिहरूको नाम कसैलाई याद छैन । ती पुरुषहरू जोसँग यी नारीहरूले सात फेरा लिएका थिए, ती केवल इतिहासका मृत पात्रहरू हुन् । तर हीर, लैला र सोहनीका प्रेमीहरू राँझा, मजनूँ र माहीवाल आज पनि जीवित छन् ।
यसको मूल कारण यही हो कि विवाह प्रायः सामाजिक संरचना र कानुनी जिम्मेवारीको सम्झौता हो, तर प्रेम भने आत्माको मौन संवाद र गहिरो अनुभूतिको अवस्था हो । समाजले सम्बन्धलाई नियम, अपेक्षा र व्यवहारको सीमाभित्र बाँध्न खोज्छ, जहाँ स्थायित्व र स्वीकृति महत्वपूर्ण हुन्छन् । तर प्रेम ती सीमाभन्दा पर, आत्मिक स्तरमा अनुभव गरिन्छ, जहाँ कुनै बाह्य मान्यता आवश्यक हुँदैन । त्यसैले शरीरले समाजका नियमहरू पालना गरे पनि, आत्माले आफ्नो अनुभूत सत्यलाई अस्वीकार गर्न सक्दैन । धेरै मानिसहरूका लागि प्रेमको पूर्णता एउटै छानामुनि जीवन बिताउनुमा देखिन्छ, तर केही कथाहरूले यो धारणा उल्टाइदिन्छन् । तिनीहरूले प्रेमको वास्तविक सफलता मिलनमा होइन, निरन्तर समर्पण, स्मृति र निःस्वार्थ भावनामा हुन्छ भन्ने कुरा देखाउँछन् , जहाँ दूरीले सम्बन्धलाई कमजोर होइन, अझ गहिरो बनाउँछ ।
प्रेमको वास्तविक अर्थ पाउनुमा होइन, रहिरहनुमा लुकेको हुन्छ । कसैलाई आफ्नो बनाउनु मात्र प्रेम होइन, बरु उसको स्मृति, भावना र अस्तित्वमा आफूलाई यति गहिरोसँग समाहित गर्नु हो कि दूरी, समय वा परिस्थितिले त्यसलाई मेटाउन नसकोस् । साँचो प्रेमले स्वामित्व खोज्दैन, उपस्थितिको अनुभूति खोज्छ । त्यसैले प्रेमको सबैभन्दा गहिरो रूप अक्सर मिलनमा होइन, सम्झनामा जीवित रहन्छ । विछोड, पीडा र अपूर्णताले प्रेमलाई अझ गहिरो र पवित्र बनाउँछन् । हीर र राँझाको प्रेम अमर हुनुको कारण उनीहरूको सहज मिलन होइन, बरु मिल्न नसक्दाको पीडा थियो । यदि उनीहरूको विवाह सहज रूपमा भएको भए, सायद त्यो कथा समयसँगै एउटा सामान्य पारिवारिक कथामा सीमित हुन्थ्यो । तर विछोडको आगोमा तपिएर उनीहरूको प्रेम सुनझैँ खारियो, र उनीहरूको अधूरोपन नै उनीहरूको अमरताको आधार बन्यो । कहिलेकाहीँ प्रेम पूर्ण भएर होइन, अपूर्ण रहँदै इतिहास बन्छ।
इतिहासले देखाएको छ कि कागजमा लेखिएको वैवाहिक सम्बन्ध समयसँगै खरानी हुन सक्छ, तर हृदयको गहिराईमा कोरिएको प्रेम कहिल्यै मर्दैन ।
विवाहले दुई परिवारलाई जोड्छ, सम्पत्ति बाँड्छ र सन्तान जन्माउँछ । यो संसार चलाउने एउटा व्यवस्था हो । तर प्रेमले दुई आत्मालाई एक बनाउँछ, जसलाई न त मृत्युले छुट्याउन सक्छ, न त अर्को विवाहले । जब यी प्रेमिकाहरू अर्काको घरमा दुलही बनेर गइन्, उनीहरूको आँखाको आँसुले यो कुरा स्पष्ट पारेको थियो कि शरीर जतिसुकै टाढा भए पनि, मन त्यहीँ छ जहाँ उनीहरूले आफ्नो सर्वस्व सुम्पेका थिए । उनीहरूले प्रेम कुनै अधिकार होइन, यो त एउटा महसुस हो भन्ने कुरा प्रमाणित गरे ।
आजको आधुनिक युगमा पनि हामी अक्सर सम्बन्ध र प्रेम बीचको भिन्नता छुट्याउन सक्दैनौं । हामीलाई लाग्छ कि विवाह नै प्रेमको अन्तिम गन्तव्य हो । तर हीर, लैला र सोहनीका कथाहरूले हामीलाई एउटा गहिरो पाठ सिकाउँछन् प्रेम कुनै गन्तव्य होइन, यो त एउटा यात्रा हो, जो मृत्यु सम्म र मृत्यु भन्दा पछि पनि जारी रहन्छ ।
ती प्रेमिकाहरूका पतिहरू इतिहासका धूलोभित्र हराए किनकि उनीहरूसँग केवल अधिकार थियो । तर प्रेमीहरू अमर भए किनकि उनीहरूसँग समर्पण थियो । अन्ततः, संसारले त्यही कुरा सम्झन्छ जुन हृदयबाट आएको हुन्छ ।
विवाहले एउटा घर बनाउन सक्छ, तर प्रेमले एउटा इतिहास बनाउँछ । र जब-जब यो संसारमा प्रेमको कुरा चल्नेछ, हीर, लैला र सोहनीको नाम उनीहरूका पतिहरूसँग होइन, उनीहरूका प्रेमीहरूसँगै लिइनेछ । किनकि शरीर जहाँसुकै बाँधिए पनि, आत्मा सधैं त्यहीँ धड्किन्छ जहाँ प्रेमको वास हुन्छ ।
यदि साँचो अर्थमा प्रेमको मार्ग रोज्नुहुन्छ भने, त्यो राधा र कृष्णको दिव्य अनुराग जस्तै होस् । उनीहरूको सम्बन्ध पराकीया भावमा आधारित थियो, जो सांसारिक बन्धन र साधारण माया-मोहभन्दा धेरै माथि, पूर्णतः ईश्वरीय र अलौकिक थियो । जसमा स्वार्थको कुनै अंश थिएन, केवल शुद्ध आध्यात्मिक समर्पण मात्र थियो । वास्तवमा, कुनै पनि भौतिक अभिलाषा र सांसारिक इच्छाभन्दा पर रहेर, एक-अर्काप्रति अनन्तकालसम्म नि:स्वार्थ र पवित्र भाव राख्नु नै साँचो प्रेम हो ।
प्रतिक्रिया