पशुपति, बाग्मती र नेपाली पात्रो

पशुपति, बाग्मती र नेपाली पात्रो


हिन्दुहरूले हिन्दु भक्त/ऋषि-मुनीहरू महापुरुष सन्तहरूलाई पनि देवतुल्य भक्तको रूपमा हेर्छन् । देवी-देवताहरूको जस्तै यी महात्माहरूको पनि अनेक मन्दिर निर्माण भएका छन्, जहाँ सैकडौँ भक्तहरू प्रतिदिन पूजा गर्छन् । साधु-सन्तका सम्बन्धित स्थान पनि तीर्थस्थलसरह पुज्य मानिन्छ र सम्पुर्ण नेपालमा यसप्रकारका साना-ठुला मन्दिर तथा पवित्र स्थानबाट हिन्दुहरूको दैनिक जीवनमा आध्यात्मिक पोषण मिल्छ ।

नेपालका नदीहरूलाई पनि पवित्र मानिन्छ र हिन्दुको मान्यता छ कि विशेष पर्व एवम् तिथिहरूमा ती नदीहरूमा स्नान गर्दा अन्तष्करणको पवित्र र आध्यात्मिक उन्नति हुन्छ । यसै महत्वलाई बुझेर नेपाल सरकारले पनि बाग्मती सफाइ अभियान चलाएको हो भने भारत सरकार पनि गंगा सफाइमा लागेको हो ।

नेपालमा अधिकारिक रुपमा नियमित पञ्चाङ्ग प्रकाशन गर्ने गरिएको छ र, त्यो हिन्दु पञ्चाङ्ग नै हो । त्यसमा भिन्न भिन्न देवी-देवताको उपसना तिथिहरूले भरिएको छ । यो हिन्दु धर्मको लागि महत्वपूर्ण छ ।

हिन्दु धर्म सबै धर्मको एकतालाई मान्छ

हिन्दु धर्मको मान्यता छ कि यो धर्मसम्म पुग्न अनेक बाटो छन् र ती धर्म-पथहरूलाई स्विकार गर्ने मात्र हैन स्वागत पनि गर्छ । किनभने विभिन्न व्यक्तिगत मागहरूको आवश्यकतालाई जान्दछ, प्रत्येक ब्यक्तिको रुचि मानसिक बनावटको संस्कारयुक्त झुकावको विविधतालाई सम्झेर हिन्दु धर्म उनीहरूको अनुकुलताअनुसार सबैको लागि मार्गप्रशस्त गर्छ ।

यसै कारणले हिन्दु धर्म प्रत्येक विविध प्रणालीलाई मात्रै स्विकार गर्दैन अपितु सबैलाई यौटै सत्यसम्म पुऱ्याउँछ यस्तो विश्वास गर्छ । यो नै हिन्दु धर्मको उदार दृष्टि र सर्वभौमिकताको परिचय हो ।

सर्वधर्म सहिष्णुता शब्दले हिन्दु धर्मको सही अर्थमा चित्रित गर्दैन । वास्तवमा हिन्दु धर्ममा सर्वधर्म स्विकृत छ, सबै धर्मको प्रेरणा एवम् लक्ष्य एकमात्र ईश्वर छ भन्ने कारणले हिन्दु धर्म त्यसलाई पुर्ण स्विकार छ । हिन्दु धर्म सबै धर्मको एकतालाई मान्छ । धर्मको नाममा उसको कसैसँग विरोध छैन । हिन्दु धर्मको आत्मामा दूराग्रह संकीर्णता र वैशिष्ट्यताको बोध छैन । हिन्दुधर्ममा सर्वधर्म समाहार छ र हिन्दु धर्मको बल केवल यसैमा छ प्रत्येक ब्यक्ति आ-आफ्नो धर्मपथमा इमान्दारीपुर्वक श्रद्धा एवम् निष्ठा र अडिग पुर्वक चलोस् ।

हिन्दुधर्मको सार्वभौम तत्व

आकासबाट झरेको प्रत्येक पानीको थोपा अन्ततः सागरमा मिसिन्छ ! त्यस्तै विविध देवी-देवताहरूको पुजा-उपासनाको गन्तव्य यौटै हो । सबै धर्मप्रति हिन्दुहरूको मुलभुत दृष्टिकोण नै यही हो । यो दृष्टिकोण वैदिक वाड्गमय जत्तिकै प्राचीन हो । यो उदार भावको घोषणा वेदले सबैभन्दा पहिले ‘एकं सद् विप्रा वहुधा वदन्ती’ भनिसकेको छ । त्यसपछी हिन्दुधर्मलाई समग्रतामा चित्रित गर्ने ग्रन्थ श्रीमद्भगवद्गगितामा भगवान् श्रीकृष्णले पुन उदघोष गर्नुभयो-
मानिसले जुन-जुन भावबाट मेरो आश्रय लिन्छन्, म त्यै त्यै भावबाट ग्रहण गर्छु ।
जति मत त्यति नै पथ – ईश्वर योटै हो र सबै धर्म अन्ततः त्यै लक्ष्यमा पुक्छन् । यो नै सत्य हो हिन्दुधर्मको मुलभूत सिध्दान्त र सार्वभौमिकता हो ।

कर्म नै हिन्दु धर्मको मुल

सबै मंगलकारी शक्तिहरूलाई एकत्रित गर्नुस् कुन झण्डाको मुनि तपाईं अग्रसर हुनुहुन्छ, त्यसको पर्वाह नगर्नुस्, तपाईंको झण्डाको रंग निलो÷हरियो÷रातो कुनै पनि हुन सक्छ । त्यसको पर्वाह नगर्नुस् । बरु सबै रंगलाई मिलाउनुस् र त्यसमा अत्युज्ज्वल सेतो रंग निर्माण गर्नुस्, जुन प्रेमको रंग हो । हामीले त कर्म गर्नुपर्छ फल त आफ् से आफ् मिल्दै जान्छ । यदि कुनै सरकारी बन्धन हिन्दु राज्य बनाउन बाधक छ भने तपाईंहरूको आत्माशक्तिको सामुन्ने आफ् से आफ् घुँडा टेक्छ ।

सनातन धर्म : वैदिक धर्म

प्राचीन वाङ्गमयमा हिन्दु धर्मको समानार्थी कुनै शब्द पाइँदैन, त्यसमा सनातन धर्म÷वैदिक धर्मको प्रयोग पाइन्छ । वेद÷उपनिषदमा वर्णित सनातन धर्म तथा वैदिक धर्मको ठाँउमा अब हिन्दु धर्म स्वीकृत भैसकेको छ । यो हिन्दु धर्मको प्रयोग पनि पर्याप्त प्राचीन हो र वर्तमान नेपालीहरूद्वारा स्विकृत यो शब्दको प्रयोगमा कुनै असंगति छैन । हिन्दु धर्म आज विश्वको प्रमुख जीवन्त धर्महरूमा एक हो र सबैभन्दा धेरै प्राचीन पनि हो । बौद्ध, इसाइ एवम् इस्लाम धर्मकै जस्तो हिन्दु धर्म कुनै अवतारी पुरुष या धर्माचार्यको शिक्षाद्वारा गठित भएको हैन ।

यसको अस्तित्व कुनै ब्यक्तिविशेषको शिक्षाको ऋणी पनि छैन, यो त प्रमाणिक वाड्गमय वेदमा आधारित छ । गीताले हिन्दुधर्मको समग्रतामा प्रतिपादित गरेको छ र आधुनिक आध्यात्मिक नेपालको निर्माण भगवतगीताकै आधार हो ।

इस्लाम एवम् इसाई धर्मको जस्तै हिन्दु धर्म यौटै विचार लिएर हिँड्दैन । यसो भन्दा अझ राम्रो होला कि हिन्दु धर्म अन्य सबै धर्मद्वारा प्रतिपादित जीवन जगत् सम्बन्धित अन्तरव्यापी अन्तिम सत्यको प्रतिनिधित्व गर्छ । हिन्दु धर्मले कुनै एक धार्मिक सम्प्रदायको कट्टर प्रतिवद्धता र कुनै एक सम्प्रदाय विशेषमा हिँड्ने मानवीय विवशतालाई आग्रह गर्दैन, हिन्दु धर्मले यौटै सत्यको उपलब्धिको विभिन्न उपाय र त्यसको प्रमाणिकतालाई स्विकृत र आदर गर्छ ।

हिन्दु धर्म र यसको ब्यापकता

जबसम्म मानिसले सामाजिक नियमको पालना गरिरहेका हुन्छन् तबसम्म कुनै पनि इष्टदेवता मानेकै कारणले या नास्तिक या अज्ञेयवादी भएकै कारणले पीडित गरिएको छ ? समाजले कसैलाई कुनै सामाजिक नियम भंग गरेको अपराधमा शासित गरोस् तर प्रत्येक मान्छेलाई अति नीच पतीत नै किन नहोस् – उनिहरूको लागि पनि हिन्दुधर्ममा मोक्षमार्ग कहिल्यै पनि बन्द गरिएको छैन । संसारमै भएका धर्महरूमध्ये हिन्दु धर्म नै यस्तो धर्म हो जहाँ अन्य धर्मको तुलनामा एक भाव विशेष बढी हुन्छ, सैकडौं जीवनमा लगातार प्रयत्न गर्नुस्, युगौंयुग आफ्नो अन्तरमनमा खोज्नुस् – तैपनि तपाईं यस्तो उदार धार्मिक विचार देख्नुहुन्न । तर, हिन्दु धर्ममा आध्यात्मिकताको त्यो अनन्त खानी अन्तर्निहित छ । साँच्चै भन्ने हो भने हिन्दुहरू संसारको अन्य जातिको तुलनामा अपेक्षाकृत नैतिक आचारमा अत्यधिक उन्नत भएको पाइन्छ ।

जगत गुरु शंकराचार्य र वैदिक सनातन धर्म

आचार्य शंकरले तत्कालिन समयमा सम्पुर्ण भारतमा वैदिक सनातन धर्मको ह्रास, बलहीन, विध्वंश र छिन्नभिन्न भएको अवस्थामा हिन्दु वैदिक सनातन धर्मको प्रचारप्रसार गरे र सम्पुर्ण नकारात्मक विचारलाई केवल हिन्दु धर्मले मात्रै, अर्थात् आध्यात्मिक सत्यको मुल आधार केवल सनातन वैदिक धर्मको महाशक्तिले मात्रै रोक्न सक्ने बताए ! उनको प्रतिभा अपूर्व थियो ! साधना अलौकिक उनको तेजस्विता तथा दिव्य ज्ञानको फलस्वरूप हिन्दुधर्म ह्रास हुनुबाट बच्यो ।

विस्वनाथ मन्दिरको पुनःस्थापना, बद्रीनाथमा नारायणको विग्रह स्थापना, जगन्नाथमा पनि विग्रहको स्थापना लगायत हिन्दु धर्मको जीवन दिँदै प्रचारप्रसारमा जुटिरहे । भारतको चारै दिशामा आचार्य शंकरले चार पिठको स्थापना गरे र यही चार किल्लाले आज भारत सुरक्षित छ भने अर्कोतिर हिन्दु धर्मको प्रचारप्रसार पनि यिनै मठको दायित्वमा आएको छ । आचार्य शंकरले नै वैदिक धर्म राज्य स्थापना गरेका हुन् ।

पशुपतिनाथ र शंकराचार्य

पशुपतिनाथमा पुजाअर्चना बन्द भयो हिन्दु धर्मको पुर्ण अवहेलना भइरहेको थियो, मन्दिरको पवित्रतालाई नष्ट गरिएको थियो । धर्मविरोधिहरूले मन्दिरभित्र अपवित्र बस्तु फ्याँकेर मन्दिरलाई भ्रष्ट गरेका थिए । आचार्य शंकरले नै आएर मन्दिरको परिमार्जन र पुजाको आदेश दिए र देवताको पुजा एवम् वन्दनामा ध्यानमग्न भए । सम्पुर्ण शिष्यको उपस्थितिमा पशुपतिनाथको पूजाअर्चनामा संलग्न हुँदै जय ध्वनीको दसैदिशामा प्रतिध्वनि गुन्जिएको थियो ।

त्यसपछि नेपालमा हिन्दुत्वको नवजागरण आयो । पशुपतिनाथको जिर्णोद्वारका साथै नियमित शास्त्रसम्मत पुजा गराउन विद्वान् ब्राह्मण नियुक्त भए । साँच्चै भन्ने हो भने अहिलेसम्म संसारमा जति पनि धर्म प्रचारित भए – त्यसमा अधिकांश प्रधान त राजशक्तिको पृष्ठपोषकतामा नै वृद्धि भएका छन् । तर, हिन्दु धर्म एक मात्र वैदिक सनातन धर्मको प्रचार त्यसको अपवादमा देखा पर्छ । आचार्य शंकर वैदिक धर्मको झण्डा लिएर आत्मशक्तिको बलले अघि बढेका थिए । आचार्य शंकरको पछाडि सेनाको पदध्वनी थिएन, बन्दुक र गोली पनि थिएन, केवल वेदध्वनी थियो, मन्त्रोच्चारण थियो र देवी–देवताहरूको भजन–कीर्तन थियो ।

अब आऔँ मुख्य विषयमा । भारतमा चार पीठाधीश हुँदाहुँदै नेपालमा एक अर्को पीठाधीशको आवश्यकता किन भयो त ? यो कुरा मननयोग्य छ । नेपालमा कालान्तरमा धार्मिक संकट आउने संकेत देखेर नै दूरदर्शी धर्मगुरु शंकराचार्यहरूले नेपालमा पनि धर्म रक्षाको लागि चतराका हाम्रा पुज्य गुरु बालसन्तलाई जगतगुरु शंकराचार्य घोषणा गरे । यो संयोग नभइ पूर्वनियोजित विधिको विधान हो – यसरी बुज्नुस् । बाल सन्तज्युलाई फगत शोभाको लागि, मानको लागि वहाँको नामअगाडि यो विशेषण आएको हैन । वास्तवमा अब वहाँमाथि ठुलो दायित्व आएको छ ।

आदी गुरु शंकराचार्यको पथ-यात्रामा आफ्नो पथ मिलाउनु र नेपालमा वैदिक सनातन हिन्दु धर्म रक्षाको लागि मुक्तिनाथ पीठाधीश कमलनयनचार्य, कालीबाबा लगायत थुप्रै धर्मगुरुलाई समेटेर हिन्दु धर्मको प्रचारप्रसार गरी सम्पुर्ण नेपालीलाई जागरुक गरेर हिन्दुराज्य स्थापनाको महान् लक्ष्यमा एकत्रित गर्न नेतृत्व लिनु नै शंकरपथ हो ।

अहिले निरपेक्षको प्रसारमा राजनैतिक शक्तिको पृष्ठपोषकता वृद्धि भएको अवस्थामा जगतगुरु शंकराचार्य बालसन्तज्युले वैदिक झण्डा नै उठाउनुस्, वेदध्वनी पैदा गर्नुस्, मन्त्रोच्चारण गराउनुस्, भजन पाठ गराउनुस् र हिन्दुराष्ट्रको लागि जागरुप गराउनस् ! यसो गर्दा नै नामअगाडिको यो विशेषण सार्थक रहनेछ ।
जय हिन्दु राष्ट्र !