नेकपाका महासचिव भन्छन्, ‘नेकपाले नयाँ उचाइ हासिल गऱ्यो’

नेकपाका महासचिव भन्छन्, ‘नेकपाले नयाँ उचाइ हासिल गऱ्यो’


सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको राष्ट्रिय राजनीतिमा पार्टीले नयाँ उचाइ हासिल गरेको दाबी गरेका छन् । पार्टीको रुपन्देही जिल्ला कमिटीले आज (सोमबार) बुटवलमा आयोजना गरेको शपथ ग्रहण समारोहमा उनले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया टुङ्गिएर सबै तहमा सौहार्दपूर्ण तरिकाले सङ्गठन निर्माण भएकाले पार्टीले विशिष्टता हासिल गरेको तर्क गरेका हुन् ।

‘कम्युनिष्ट पार्टीको हैसियत कुनै भगवानको कृपा होइन, हाम्रो एकता, त्याग र बलिदानको प्रतिफल हो, त्यसकारण हामीले हाम्रो इतिहासप्रति गर्व गनुपर्छ’ भन्दै नेता पौडेलले पार्टीको नीति र नेतृत्वप्रति गर्व गर्ने अवस्था आएको र आवश्यक पर्दा स्वस्थपूर्ण आलोचना एवम् रचनात्मक सुझाव दिन सकिने धारणा अघिसारे ।

गाउँ, नगर र प्रदेशमा निर्वाचित पार्टी नेतृत्वले जनताको विश्वास जित्नेगरी काम गर्नुपर्ने बताउँदै उनले यसैका आधारमा बहुमत जुटाउन सहज हुने सुझाव दिए । पार्टीको भविष्य सङ्गठनले गर्ने काममा भरपर्ने भएकाले विकास निर्माण र समाजवादको तयारीका लागि सबै तहका सङ्गठनलाई परिचालित गरेर अगाडि बढ्न आवश्यक रहेको धारणा उनको थियो ।

सोही कार्यक्रममा पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीप्रति जनताको विश्वास बढाउन स्थानीय र प्रदेश सरकारलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न जरुरी रहेको बताए ।

उनले कामबाट श्रेष्ठता हासिल गरेर जनाताको विश्वास जित्ने वातावरण तयार गर्नेतर्फ सबैको ध्यान पुग्नुपर्ने उल्लेख गर्दै सरकार बनाउने समाज बदल्नका लागि हो, समाज बदल्न सकिएन भने सरकारको नेतृत्व गर्नुको अर्थ रहँदैन भन्ने तर्क अघि सारे ।

यस्तै, पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुलुकमा समाजवाद स्थापना गर्न पार्टीको बहुमत जोगाउन जरुरी रहेको बताउँदै पार्टीमा श्रमजीवी वर्गको बहुमत रहेकाले त्यस्तो वर्गलाई सङ्गठित गरेर अगाडि बढ्नुपर्ने अभिव्यक्ति दिए । देश जनवादी क्रान्तिभन्दा अगाडि बढेर बहुदलीय जनवादतर्फ अगाडि बढेकाले अबका दिनमा दलाल पूँजीलाई अन्त्य गरी राष्ट्रिय पूँजीको विकास गर्नेतर्फ लाग्नुपर्ने उनको धारणा थियो । पार्टी बलियो बनाउन पार्टीभित्र गुटबन्दी गर्ने परिस्थितिका विषयमा छलफल चलाउनुपर्ने गम्भीर विषयको उठान पनि नेता भुषालले गरे ।

रुपन्देहीमा शिवराज सुवेदीको अध्यक्षतामा गठन भएको १७५ सदस्यीय कमिटीलाई पार्टी महासचिव पौडेलले शपथग्रहण गराएको सो कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, जिल्ला अध्यक्ष शिवराज सुवेदी, सचिव निर्मल जिसी लगायतले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन तल्लो तहदेखि नै कार्यकर्ता एक हुन जरुरी रहेको धारणा राखेका थिए ।


pic:rss