विप्लवले भने- ‘घटनाको मुख्य दोषी केपी सरकारको फासिवादी दमन’

विप्लवले भने- ‘घटनाको मुख्य दोषी केपी सरकारको फासिवादी दमन’


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आइतबार राजधानीमा भएका विष्फोटका घटना र सो घटनामा परेर युवाहरूको जीवन गुमेको घटनाका लागि केपी सरकारको फासिवादी दमन नै कारक रहेको आरोप लगाएका छन् । सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले राष्ट्रघात र जनघातमा वर्तमान सरकारले यसअघिका प्रतिक्रियावादी सरकारलाई उछिनिरहेको बताएका हुन् ।

विप्लवको आरोप छ– ‘कम्युनिस्टका नाममा केपी–पीके कम्पनीले नेपालमा फासीवादको अभ्यास गरिराखेको छ ।’

नेकपासम्बद्ध युवक सङ्गठनका नेता तीर्थराज घिमिरे ‘राजु’को गत जेठ ७ गते मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा झुट्टो मुठभेडका नाममा निःशस्त्र अवस्थामा गिरफ्तार गरेर गोली हानी हत्या गरिएको र सोही हत्याको विरोधमा नेपाल बन्द आह्वान गरिएको प्रष्ट्याउँदै उनले आफ्नो विज्ञप्तिमा भनेका छन्– ‘केपी–पीके कम्पनीको सरकार गठन भएदेखि नै नेपाली जनता र राष्ट्रको मुक्तिका लागि गरिएका सङ्घर्ष, आन्दोलनमा उत्रिएका पार्टी र जनतामाथि दमन गर्नु, हाम्रो पार्टीका नेता–कार्यकर्ता, शुभचिन्तकलाई गिरफ्तार गर्नु, यहाँसम्म कि दोहोरो मुठभेडका नाममा निशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्याका घटनाहरू हुन थालेका छन् । साथै यो सरकारले राष्ट्रघात र जनघातमा पनि यसअघिका प्रतिक्रियावादी सरकारलाई उछिनिरहेको छ । कम्युनिस्टका नाममा केपी–पीके कम्पनीले नेपालमा फासिवादको अभ्यास गरिराखेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘… केपी सरकारले गरेको हत्याको प्रतिरोध गर्नु एक क्रान्तिकारी पार्टीको अनिवार्य कर्तव्य हुन आउने भएकाले हाम्रो पार्टीले विभिन्न कार्यक्रमका साथै आमहडतालसहित नेपालबन्दको आयोजना गरेको थियो । हाम्रो अपिललाई स्वीकार गर्दै सबै पक्षबाट भएको सहयोगबाट नेपाल बन्द सफल भएको छ । केपी सरकारको राज्य–आतङ्क, कमरेड तीर्थ घिमिरे हत्याकाण्ड विरुद्ध आयोजित नेपाल बन्द कार्यक्रमलाई साथ र सहयोग दिने राजनीतिक पार्टी र आम जनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।’

‘जेठ १२ गते काठमाडौंमा भएको विस्फोटमा पार्टी, जनमुक्तिसेना, जवसका कमान्डर कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड प्रज्वल शाही र कमरेड निरन्तरको सहादतले यसप्रकारको घटना कसरी हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ । यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन नै रहेको स्पष्ट गर्दछौँ । सहादत प्राप्त गर्ने कमरेडहरूप्रति सिङ्गो पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ । उक्त घटनाहरूमा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौँ । हाम्रो पार्टी शहिदहरूको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ । साथै राज्यआतङ्क, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भएर सङ्घर्षमा अघि बढ्न विशेष आह्वान गर्दछौँ ।’