संविधानमा विमति जनाउँदै नेता घिमिरेद्वारा पदक अस्वीकार

संविधानमा विमति जनाउँदै नेता घिमिरेद्वारा पदक अस्वीकार


नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले संविधानसभाका सदस्यहरूलाई राष्ट्रपतिबाट प्रदान गर्ने भनिएको पदक तथा कदरपत्र ग्रहण नगर्ने हुनुभएको छ ।

नेता घिमिरे संविधानसभामा नेपाली काङ्ग्रेसका तर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँलाई गृह मन्त्रालयबाट पत्र पठाएर जेठ १६ गते राष्ट्रपतिनिवासमा उपस्थित भई पदक तथा कदरपत्र ग्रहण गर्न अनुरोध गरिएको थियो ।

त्यसरी गृह मन्त्रालयको पत्र प्राप्त भएलगत्तै घटना र विचारसँग कुराकानी गर्दै नेता घिमिरेले आफू पदक र प्रमाणपत्र लिन इच्छुक नरहेको जानकारी दिनुभयो । उहाँको भनाइ छ, ‘पार्टीको एक जिम्मेवार कार्यकर्ताका रूपमा संविधानसभामा रहेर मैले जे भूमिका निर्वाह गर्नु थियो गरेँ ।’

त्यसबेला सङ्घीयता र धर्मनिरपेक्षताजस्ता विषयहरूको टुङ्गो जनमतसङ्ग्रहमार्फत गरिनु उपयुक्त हुने विचार प्रकट गरेको स्मरण गर्दै घिमिरेले भन्नुभयो, ‘यो संविधान राष्ट्रको हितमा छैन । खासगरी धर्मनिरपेक्षता, सङ्घीयता र निर्वाचन प्रणाली (समानुपातिक) लगायतका प्रावधानमा मेरो गम्भीर असहमति छ । मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता र राष्ट्रिय एकतालाई गम्भीर क्षति पुऱ्याउने प्रकारका तत्वगुण भएको संविधानप्रति मेरो सच्चा नेपाली मन सहमति जनाउँदैन । त्यसैले म पदक र प्रमाणपत्र थाप्न राष्ट्रपतिनिवास पनि जाँदिनँ ।’

घिमिरेले अगाडि भन्नुभयो, ‘राष्ट्रहितविपरीत बनेको यो संविधान नबदलिएसम्म राष्ट्रले सही निकास प्राप्त गर्न सक्दैन भन्नेमा म विश्वस्त छु ।’

नेता लक्ष्मणप्रसाद घिमिरे मात्र होइन, काङ्ग्रेसका अर्का युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले पनि पदक र कदरपत्र अस्वीकार गर्ने निर्णय लिएका छन् ।