पहाडकी रानी सगरमाथाको देशमा -डा. मानसिंह साथी

पहाडकी रानी सगरमाथाको देशमा -डा. मानसिंह साथी


यहाँ सक्नेले जे गरे पनि हुन्छ
जङ्गेले कोतपर्व गर्दा राज्यको सब भारदार काट्दा पनि हुन्छ
ठूलो र बलियो मित्रले यो देशको,
साँध मिच्दै नेपाली भूमि जति पचाए पनि हुन्छ !!
कसले हेर्ने, कसले देख्ने, कसले रोक्ने,
अर्काकी राम्री स्वास्नी आफैंले ल्याएर राखे पनि हुन्छ !!
पहाडकी रानी सगरमाथाको देशमा… सक्नेले जे गरे पनि हुन्छ !!
नेपालको पानी सबै बेचिदिए पनि हुन्छ !!!
तस्करले सबै जङ्गल मासिदिए पनि हुन्छ ।
लाचार किसानको उब्जनी सक्नेले १ को किनेर,
रु. ५० मा बेचे पनि हुन्छ ।।
अदालतमा हेर्नोस्, कालेको राँडी
आलेको गाईले खाइदिएको हुन्छ !!!
पहाडकी रानी सगरमाथाको देशमा…
सक्नेले जे गरे पनि हुन्छ ।
नोटको बिटोले, उसको नाक सुँघाइदिए,
ऊ हत्या गर्न पनि राजी बन्छ !!
यो देशमा सानोले ऐन खान्छ, ठूलोले चैन खान्छ
पहाडकी रानी सगरमाथाको देशमा जसले जे गरे पनि हुन्छ ।

यो देशमा नवधनाढ्य र नवसामन्तीले जे गरे पनि हुन्छ
मन्त्रीले बेकाममा सीडीओ पिटे पनि हुन्छ ।
सक्नेले सरकारी बजेट आफ्नो घरमा लगी जति खर्च गरे पनि हुन्छ ।
करोडौँ पर्ने सरकारी मोटर जबर्जस्ती आफ्नो बनाए पनि हुन्छ
चोरीको ४/५ वटा सम्म गाडी आफैं चढेर हिँडे पनि हुन्छ
बालुवाटार दरबारबाट निस्कँदा जति ट्रक सरकारी सामान लादेर,
आफ्नो घर लगे पनि हुन्छ ।
सक्नेले कति पुल नै खाए
कतिले त पिचबाटो खाए
कतिले हाइड्रो खाए ।
कतिले डिजेल पेट्रोल खाए ।।
जाबो रातो पासपोर्टको त के कुरा बेच्नु संसद्को त्यो त अधिकार नै हो
आमाको परीक्षा छोरीले दिन जानु केको अपराध हो ।
सक्नेले जति खाए पनि हुन्छ, गर्मीमा जति बाक्लो लुगा लगाए पनि हुन्छ
पहाडकी रानी सगरमाथाको देशमा कति चिरञ्जीवीहरू छन्-छन्,
एउटा चिरञ्जीवीलाई मात्र
देखेछन्, अर्जीण हुने गरी खाएर डकार्‍यो रे भनेर
‘खोरभित्र हाल्नु’ एउटा मात्र त्यसो गर्नु साह्रै अन्याय भएको छ ।
सांसदले त बिहानै, कुकुरले गोडामा मुत्ने गरी
रक्सी खाएर यो सडकै मेरो हो भनी हिँड्दा
यस्तो फेसन सबैलाई सिकाउँदै छन्
दादा पाल्न नसक्ने बैंक, फाइनान्स र सहकारी दुब्लो भएछन्

युवा शक्तिजति रोजगारी खोज्न विदेश गएछन् ।
बुद्धिजीवीहरू जति देशबाट पलायन हुनुपरेछ
सक्ने जति फ्रान्सका लर्ुइहरू जस्ता भएछन्
रुसको जारजस्तो भएछन्
जतिले सक्छन् अपहरण गर्छन्, हत्या गर्छन्, फिरौती असुल्छन्
पहाडकी रानी सगरमाथाको देशमा जसले जे गरे पनि हुन्छ ।
– कुलेश्वर, काठमाडौं
पेट खाली छ
– वामदेव पण्डित -वर्ष-९६)
बजेट कष्टले आयो पौने चार अर्बको
सरकार निकै भुक्दै नारा दिन्छ सगर्वको ।।१।।
सयकडा छ मान्छेमा मुस्कान खुसियाली छ ।
करोडम् व्यक्ति दु:खीको भोकले पेट खाली छ ।।२।।
कनिकासरि फालेको, पैसाले अब पिर्दछ ।
आएको चाडको बेला जनताको नूर गिर्दछ ।।३।।
खाने र लाउने चिज आकाशिएर कष्ट छ ।
बजेटले बढी मार हामीमा पर्छ- प्रस्ट छ ।।४।।
जनताले खुसी साथ चाड-पर्व मनाउन
सत्ताले किन हेर्दैन चतुरो छ ढटाउन ।।५।।
हाम्रो सगरमाथाझैं छ बजेट कठैवरि ।
थुक निलेर हेर्दैछौँ दिँदै धिक्कार बेसरी ।।६।।
हजारौँका लडाकु र ती सभासद् पल्टन ।
चाडपर्व तिमी मान भरी पेट टनाटन ।।७।।
राष्ट्रसेवक छौ मख्ख बढ्यो तलब त्यो भनी ।
र्‍याल चुहाउँदै हेर्छ दिग्दार जनता पनि छ ।।८।।
खप्पर महँगी शत्रु, बढ्दै त्यो छ निरन्तर ।
मागी गुहार बस्दै छौँ आँसु झारेर तर्ररी ।।९।।
दशैं तिहार यो पर्व आदर्श हो सनातन ।
नमानी नहुने पर्व मान्ने हो कसरी कन ।।१०।।
तलब वृद्धिले मुद्रास्फीति बढ्ने सदैव नै ।
बढ्दै छ महँगी हाय बन आधार दैव नै ।।११।।
छाडा छोडिदिएकै हो महँगी सरकारले ।
त्यो वेग रोकिने छैन गरिबको पुकारले ।।१२।।
ठूलो आधार तिम्रो छ व्यापारी र महाजन ।
घटोस् महँगी पापी धर्मको गर आर्जन ।।१३।।