प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् । वर्तमान कम्युनिस्ट सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरिसकेकाले त्यसको प्रतिवाद गर्न काङ्ग्रेस तयार हुनुपर्ने देउवाको भनाइ छ । लोकतन्त्रको रक्षाका उनले पार्टीका नेता, कार्यकर्तालाई तयारी अवस्था रहन पनि आह्वान गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीलाई आफ्नै मन्त्रीहरूमाथि विश्वास नरहेको र त्यसले शासन व्यवस्था नै खतरामा परेको आरोप लगाए । देउवाले भने, ‘हामीले बारम्बार दुःख दिँदै आएको व्यवस्था (राजतन्त्र) अन्त्य गरेर लोकतन्त्र तथा गणतन्त्र ल्याएका हौँ । तर, अहिलेको सरकार यो व्यवस्था मास्नतर्फ लागेको देखिन्छ ।’
गणतन्त्र दिवसको अवसरमा बुधबार काठमाडौंको शान्तिबाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा देउवाले लोकतन्त्रको लागि लडेको कांग्रेसले नै लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । सो अवसरमा उनले धेरै ठूलो लडाइँ, त्याग र तपस्याको प्रतिफलका रूपमा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । ‘लोकतन्त्रका लागि काङ्ग्रेसले हिजो पनि सङ्घर्ष गरेकै हो, आज पनि गरिरहेको छ र भोलि पनि गरिरहनेछ,’ देउवाले भने ।
लोकतन्त्र जीवित रहन स्वतन्त्र पत्रकारिता आवश्यक रहेको उनले बताए । ‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र नै हुँदैन,’ उनले भने, ‘प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’
प्रतिक्रिया