मोदीको विजयबाट नेता दुःखी, जनता खुसी

मोदीको विजयबाट नेता दुःखी, जनता खुसी


छिमेकी मित्रराष्ट्र भारतमा नरेन्द्र मोदीको भारी विजयपछि नेपालमा अनेक अड्कलबाजी र आशङ्का पैदा भएको छ । सत्तारुढ कम्युनिस्ट र प्रमुख विपक्षी काङ्ग्रेसका नेताहरूमा मोदीको विजयले आशङ्का र त्रास पैदा गरेको देखिएको छ भने जनसाधारणमा चाहिँ मोदीको विजयले नेपालमा पार्न सक्ने असर–प्रभावलाई लिएर जिज्ञाशा र खुसी उत्पन्न भएको पाइएको छ ।

दशकौँदेखि भारतको कङ्ग्रेस र कम्युनिस्टसँग सान्निध्यमा रहेर ‘काम’ गर्दै आएका नेपालका काङ्ग्रेस र कम्युनिस्ट नेताहरू मोदीको पुनरागमनबाट सशङ्कित र एकप्रकारले विचलित भएका छन् । यहाँका काङ्ग्रेस–कम्युनिस्ट नेताहरूबाट यसपटक मोदीको पार्टी भाजपाले पूर्ण बहुमत हासिल गर्न नसक्ने विश्लेषण हुँदै आएको थियो । कदाचित मोदी नेतृत्वमै सरकार गठन भए पनि कसैको सहयोग लिएर कमजोर सरकार बन्ने विश्वास नेपालको राजनीतिक नेतृत्वमा थियो । आफूहरूको अनुमान, विश्लेषण र विश्वासविपरीत नरेन्द्र मोदीले पहिलेभन्दा बलियो भएर सत्तामा निरन्तरता पाउने भएपछि नेपाली नेताहरूको छटपटी बढेको हो ।

यस्तै, छटपटीका कारण मतगणना नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नरेन्द्र मोदीलाई टेलिफोन गरी बधाई दिएका थिए । यसरी चुनावी परिणाम आउनुअघि नै कसैलाई बधाई दिइनु कूटनीतिक दृष्टिले परिपक्व मानिँदैन । तथापि मोदीसँगको सम्बन्ध सुधार गर्ने हतारोले प्रधानमन्त्री ओली कूटनीतिक मर्यादाको ख्याल गर्न चुके । ओलीले मोदीलाई बधाई दिने क्रममा नै आफू शपथग्रहण समारोहमा भाग लिन दिल्ली आउने जानकारी गराएको बताइन्छ ।

बिम्स्टेक राष्ट्रहरूलाई शपथग्रहणमा सहभागिताको लागि नयाँदिल्लीले निम्ता दिएपछि ओलीको मोदी भेट्ने इच्छा एकपटक फेरि साकार हुने भएको छ । जेठ १६ गते नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री केपी ओली दिल्ली जाने कार्यक्रम तय भइसकेको छ ।

भारतीय जनता पार्टीसँगको सम्बन्ध सुधारलाई नेपालका काङ्ग्रेस–कम्युनिस्ट पार्टीका नेताहरूले कहिल्यै महत्व दिने गरेका थिएनन् । मोदी र भाजपा नेताहरूलाई पटक–पटक धोखा दिने काम भएकोले पनि काङ्ग्रेस–कम्युनिस्टका नेताहरू भाजपाका नेताहरूसमक्ष प्रस्तुत हुन हिचकिचाइरहेका छन् । शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल कोही पनि भाजपानिकट मानिँदैनन् । त्यसैले उनीहरू ‘मनको बाघले खाने’ भयबाट त्रस्त्र हुन पुगेका छन् । केपीको प्रयासले मात्र दुईपक्षीय सम्बन्धमा अपेक्षाकृत सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छैन । देउवा, प्रचण्ड र माधव नेपालहरूले सम्बन्ध सुधारको प्रयास कसरी गर्ने हुन् त्यो प्रतीक्षाको विषय बनेको छ ।

नेपाली नेताहरू मोदीको पुनरागमनबाट आतङ्कित र त्रसित भए पनि भारतले तत्काल नेपालमा तीव्र चासो प्रकट गर्ने सम्भावना कम देखिएको छ । पछिल्लो समयमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विकसित सम्बन्धलाई दृष्टिगत गर्दा सीलाई समेत विश्वासमा लिएर मात्र मोदीले नेपालमा चासो बढाउन सक्ने अनुमान विश्लेषकहरूको छ ।

नेपालमा सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रात्मक व्यवस्थाको अभ्याससँगै यहाँ इसाईकरण र पश्चिमा प्रभाव बढेको विषयलाई लिएर भारतीय तथा चिनियाँ संस्थापन चिन्तित भएका छन् । नेपालमा इसाईकरण तथा पश्चिमी प्रभाव न्यूनीकरणका विषयमा मोदी र सीबीच समान धारणा बन्न सक्ने सम्भावना छ । पाकिस्तानका विषयमा समेत मोदी र सीबीच एक स्तरको समझदारी बन्दै गरेको पृष्ठभूमिमा नेपाल विषयमा सहमति नबन्ने ठानिएको छैन । मोदी र सीबीचको सहमतिले नेपालभित्र कस्तो अवस्था पैदा गर्ने हो, प्रतीक्षाको विषय बनेको छ ।