बजेट बहस : सस्तो लोकप्रियताका नारा मात्रै

बजेट बहस : सस्तो लोकप्रियताका नारा मात्रै


अगामी आर्थिक वर्ष २०७६/७७ को बजेट समग्रमा राम्रो भएको हुँदा कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव विभिन्न पार्टीका नेताहरुले दिएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको बजेटले ज्येष्ठ नागरिकको भत्ता वृद्धि, कर्मचारीको तलब वृद्धि, भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रमा लगानी वृद्धि हुनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट समग्रमा राम्रो रहेको, धेरै विषय र क्षेत्रलाई सम्बोधन गरेको हुँदा कार्यान्वयनमुखी बनाउन सबैले सहयोग गर्नुपर्छ भने । उनले भने, ‘बजेटले नयाँ युगको नयाँ इतिहास शुरुआत गरेको छ ।’

नेपाली काङ्ग्रेसका नेता दिलेन्द्र बडूले बजेटमा सस्तो लोकप्रियताका नारा मात्र रहेको हुँदा यसले समग्र अर्थतन्त्रलाई नयाँ गति दिन नसक्ने बताए । उनले भने, ‘सामाजिक क्षेत्र र पूर्वाधारमा राज्यको लगानी वृद्धि हुनु सकारात्मक हो तर कति कार्यान्वयन हुन्छ, यसमा भर पर्छ ।’

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले बजेट अति महत्वाकाङ्क्षी रहेको टिप्पणी गर्दै कार्यान्वयनमा धेरै चुनौती रहेको छ भने । उनले भने, ‘बजेटले चारैतिर धेरैकुरा छर्केको छ । आफूखुशी आफ्ना आयोजनामा बजेट धेरै वितरण गरिएको छ ।’

नेकपाका नेता भीम रावलले आर्थिक समृद्धि हासिल गर्न राम्रो बजेट आएको टिप्पणी गर्दै बजेटका उद्देश्य र नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुपर्छ भने ।

यस्तै, संसद्मा प्रमुख प्रतिपक्ष दलका सांसद, उद्योगी, व्यापारी तथा घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले बजेटको कार्यान्वनको पक्ष हेर्न बाँकी रहेको बताएका छन् ।

सांसद डा मिनेन्द्र रिजालले लगानीको लागि विश्वासको वातावरण भइनसकेको र आन्तरिक स्रोतबाट जम्मा भएको रकमले उल्लेख गरेजति परिणाम दिन नसक्ने भएकाले यो बजेटले जनताको विश्वास लिन नसकेको दाबी गरे । सांसद चन्दा चौधरीले समग्रमा बजेट मर्मस्पर्शी भए पनि तीन तहका सरकारबीच सकारात्मक समन्वय भएमा बजेट सफलतापूर्वक कार्यान्वयन हुने बताए ।

उद्योगी पशुपती मुरारकाले बजेट जनताको चाहना मुताविक प्रस्तुत भए पनि अर्थमन्त्री खतिवडाले लगानी सम्मेलनमा व्यक्त गरेअनुरुपका प्रतिबद्धता पूरा भएमा मात्र बजेट कार्यान्वयन हुने बताए ।

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारका क्षेत्रमा विनियोजन भएको बजेटले जनताको मन जित्न कोशिस गरेको देखिए पनि समग्रमा बजेटको कार्यान्वयन महत्वपूर्ण हुने बताए । नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष तथा सांसद विनोद चौधरीले इतिहासको रचना गर्ने अवसरबाट वर्तमान अर्थमन्त्री चुकेको बताउँदै आधार वर्षमानै करको दायरा बढाउन नसकेकोले बजेटको कार्यान्वयनमा शङ्का गरे ।