युक्रेनबाट नेपालीले के सिक्ने ?

युक्रेनबाट नेपालीले के सिक्ने ?


हामी नेपाली ‘बिर’का रूपमा संसारभरी चिनिन्छौँ, वीर होइन ! वीर त हामीले आफूले आफैलाई ठानेका मात्र हौँ । सुगौली सन्धियता नेपालीले तिब्बत (चीन)सँग युद्ध लडे पनि त्यसपछि आफ्ना निम्ति कहिल्यै लडेका छैनन्, अर्काका निम्ति लड्नेलाई वीर होइन ‘बिर’ भनिन्छ । बिरहरू देखेर चेत्दैनन्, भोगेर मात्र चेत्ने तिनको प्राकृतिक गुण हो, जुन हामीमा भरपुर रहेको पुष्टि हाम्रै ब्यवहारले गरिरहेको छ ।

नेपालीलाई परास्त गर्न पराया सेना आइरहनु पर्दैन, एउटाका विरूद्ध कुनै निहुँ बनाएर अर्कोलाई उचालिदिनुपर्छ, कुखुराको भाले लडेझैँ रक्ताम्य हुनेगरी लड्छन् भन्ने बुझेर नै पराया सैनिकले यहाँ प्रवेश गर्नुपर्ने कारण नदेखेका हुन् । कहिले माओवादी त कहिले कुन नकाव भिराएर नेपाली-नेपालीबीच मारकाट गराउने सफलतापश्चात् ‘शिकार गरेपछि भाग लगाउने क्रममा उत्पन्न हुने तनाव र दबाब’को स्थितिबाट वर्तमान नेपाल गुज्रँदैछ । हामी द्रुत गतिमा युक्रेन या कोरियाको नियति भोग्ने दिशामा छौँ, तर हाम्रो चेत सुध्रिने सङ्केतसम्म देखापरिरहेको छैन, किनकि हामी ‘बिर’ हौँ !

महान् नेपाली दार्शनिक रूपचन्द्र विष्ट हामीलाई जगाउन नसकेर देहत्याग गर्ने निष्कर्षमा पुग्नुभएको थियो । उहाँको भनाइ थियो- ‘हरेक मानिस जन्मनुको एउटा न एउटा उद्देश्य या कारण हुन्छ, म जन्मिएको मानिसलाई जगाउन हो, पाँच दशकदेखि निरन्तर यिनै (जनता)लाई जगाउन लागियो, तर यी जागेनन् ! नेपालीलाई झुठ र नकारात्मकता खुब मनपर्दो रहेछ, सत्य जतिपटक बताए पनि नसुन्ने-नबुझ्ने, झुठचाहिँ कुनै कुनामा बसेर छिसिक्क भनिदिएपछि धुमधाम फैलिएर जाँदोरहेछ । झुठ र नकारात्मक कुराबाहेक सत्य बुझ्नै नचाहनेहरूसँग म हारेँ, अब मेरो जीवनको अर्थ र औचित्य रहेन, त्यसैले मैले नबाँच्ने निर्णय लिएको छु ।’ अन्ततः यही निर्णयका साथ वि.सं. २०५६ सालमा रूपचन्द्रले देहत्याग गर्नुभएको थियो । सर्वोच्च नेता गणेशमान सिंह पनि अन्त्यमा नेपालीप्रति निराशा जनाउँदै दिवङ्गत हुनुभएको हो । पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा, बहादुर शाह, राजेन्द्र लक्ष्मी, राजा महेन्द्र, टङ्कप्रसाद आचार्य, के.आई. सिंह, मरिचमान सिंह त यतिबेला उपेक्षित छँदैछन्, जीवनको उत्तरार्धतिर देशभक्त-राष्ट्रवादी भूमिकामा प्रकट भएका महानेता बीपी कोइरालासमेत आफैले सृष्टि गरेको पार्टीभित्र उपेक्षित तुल्याइएका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराई देशको पक्षमा अडान लिएकै कारण आफ्नै पार्टीबाट अपहेलित बन्नुपरेको हामी सबैलाई थाहा छ । काजी भीम मल्लकी सतीले पनि यस्तै पीडाका बीच श्राप दिएकी हुन्, ‘देशका निम्ति केही गर्नेको कहिल्यै भलो नहोस्’ भनेर ! हुन पनि यहाँ देशका निम्ति केही गर्ने या गर्न खोज्नेहरू भन्दा विदेशका निम्ति गर्नेहरू नै सर्वेसर्वा बन्दै आएका पनि छन् । परायाको सेवा गरेर ‘बिर’को जीवन बाच्नु भन्दा अपमानित र उपेक्षित हुनु परे पनि स्वदेशकै निम्ति मर्छु भन्ने अठोट भएकाहरूको सङ्ख्या न्यून हुनुलाई सबै सच्चा नेपालीले एउटा तिक्त यथार्थका रूपमा स्वीकार गर्न सक्नुपर्छ ।

रुपचन्द्रको समयमा ‘सोसल मिडिया’ अस्तित्वमा थिएन, तैपनि उहाँले नकारात्मकता र झुठ धुमधाम फैलिएर जाने महसूस गर्नुभएको थियो । अहिले ‘सोसल मिडिया’ निर्णायक बनेपछिको नेपाल सत्यले दिनहुँ आत्महत्या गर्नुपर्ने अवस्थाबाट गुज्रँदै छ ! जसले सोसल मिडियाको प्रयोग गर्न जान्दछ/सक्दछ, उसैले खाने र देश नै खानेसम्मको स्थिति बनेको छ । इतिहास बनाएका तर भविष्यबारे अनभिज्ञ पुराना पार्टी र पुराना नेताहरूको सान्दर्भिकतामाथि प्रश्न उठ्दै गरेको र तिनको निकम्मापनका कारण निराशा ब्याप्त बन्दै गरेको यो स्थितिमा सोसल मिडियामार्फत तिलस्मी कथाका पात्रझैँ अचानक झुल्किएका एलिएनहरूलाई आफ्नो, तर बाबुआमालाई पराया ठान्ने सोचले अब नेपाली संस्कृतिको रूप लिँदैछ । अन्य कतिपय क्षेत्रमा झिल्केगिरी बिक्छ र बिकेपनि त्यसले मुलुकलाई दूरगामी असर पार्न सक्दैन । तर राजनीतिमा समेत झिल्केगिरी हाबी हुन थालेकोले अबचाहिँ नेपाल जोगाउन नसक्ने हो कि भन्ने चिन्ता बढाएको छ ।

साइबर सेनामार्फत सोसल मिडियालाई काबुमा लिने, त्यसलाई हदैसम्म प्रयोग/दुरुपयोग गर्ने र आकाशबाट असिना वर्षीयझैँ अँध्यारा कुनाबाट रातारात नेता वर्षिने जुन नियति हामी यो समयमा भोग्दैछौँ, यसले हामीलाई अन्ततः पुऱ्याउने भनेको राज्य विघटनकै गन्तव्यसम्म हो, तर नेपालीले देशको नाम भोगेपछि मात्र ‘हो रहेछ’ भन्नेछन् ।

समृद्ध एवम् शक्तिशाली मित्र-मुलुक अमेरिकाले ‘इलेक्टोरल कलेज’मार्फत आफ्नो कार्यकारी प्रमुख (राष्ट्रपति) छान्ने पद्धति समयमै नअपनाएको भए त्यहाँ माइकल ज्याक्सन, म्याडोना र मार्लिन मुनरो जस्ता सेलिब्रेटीहरू उहिल्यै राष्ट्रपति बनिसक्ने रहेछन् । भिडको विवेक हुँदैन र विवेकबिना देश चल्दैन भन्ने बुझेर नै अमेरिकाका संस्थापकहरूले चलाकीपूर्वक आम मतदातालाई मतदाता चुन्नेसम्मको अधिकारमा सीमित गरिएको रहेछ भन्ने अब स्पष्ट हुँदैछ । सोसल मिडियाको चरम दुरुपयोग गर्दै राजनीतिमा ल्याइएका (या आएका) जिलेन्स्की नामको एउटा युक्रेनी केटोले युक्रेन ध्वस्त बनाउन निर्वाह गरेको भूमिकाले देश सिध्याउन विदेशी सेना र बन्दुक नचाहिनेरहेछ, एउटै झिल्केलाई देशको सर्वोच्च जिम्मेवारीमा पुऱ्याइदिए हुँदोरहेछ भन्ने सन्देश विश्वब्यापीरूपमा प्रवाह गराएको छ ।

सन् १९१७ मा पिपल्स रिपब्लिकन घोषणा भएको युक्रेन १९१८ को जनवरी २२ मा पूर्ण रूपले स्वतन्त्र बनेको थियो । तर, सन् १९१९ मै युक्रेन सोभियत बोल्सेभिकको नियन्त्रणमा पुग्यो । सोभियत नियन्त्रणको सुरुवातमा युक्रेनी भाषा, धर्म र सस्कृतिलाई उच्च महत्व दिइए पनि सन १९३० देखि रसियालीकरणको प्रक्रिया आक्रामक तवरमा सुरु गरिएको थियो । सोभियत सङ्घको एउटा राज्यका रूपमा रहँदारहँदै पनि ‘युक्रेनियन सोभियत सोसलिष्ट रिपब्लिक’का रूपमा संयुक्त राष्ट्र सङ्घको बडापत्रमा (२१ जुन १९४५) दस्तखत गरेर युक्रेन युएनको संस्थापक ५१ देशभित्र परेको थियो । युक्रेनलाई संयुक्त राष्ट्र सङ्घको सदस्य बनाउन नेपाललाई झैँ अमेरिकाले सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सोभियत सङ्घको विघटनपश्चात् सन् १९९१ मा पुनः स्वतन्त्र घोषित भएको युक्रेन रसियालीसँग बैरभाव राख्थे, त्यसैले त्यहाँ उत्तर एटलाण्टिक सन्धी सँगठन (NETO) मा आबद्धताका निम्ति दबाब पर्न थाल्यो र अन्ततः १९९४ मा ‘नेटो’सँग साझेदारी गर्ने सहमतिमा युक्रेन पुग्यो । सन् २००२ मा त युक्रेन-नेटो ‘एक्सन प्लान’ पनि बनेको थियो । तर, युक्रेन नेटो (NATO) मा सामेल हुनु भनेको रसियाको कोपभाजनमा पर्नु हुन्थ्यो । युक्रेन नेटोमा सामेल हुँदा आफ्नो राष्ट्रिय सूरक्षामा गम्भीर चुनौती थपिने कुरालाई लिएर मस्कोले युक्रेनको गतिविधिलाई निकै सूक्ष्म दृष्टिका साथ हेरिरहेको थियो । औपचारिक रूपमा युक्रेनको आन्तरिक मामिला भन्दाभन्दै पनि रसियाले युक्रेनी नेताहरूलाई अनौपचारिक तवरमा विभिन्न सन्देश पठाएर नेटोको सदस्य नबन्न सुझाव र चेतावनी दिँदै आएको थियो । सन् २००८ मा भ्लादिमिर पुटिनले ‘युक्रेन नेटोमा सामेल भए युक्रेनलाई रसियामा गाभ्ने’सम्मको चेतावनी दिएका थिए । त्यसपछि रसियाको चासो र चिन्ता भन्दा पनि युक्रेनको राष्ट्रिय अस्तित्वको रक्षा गर्नु युक्रेनी नेताहरूको प्राथमिकताको विषय बन्यो ।

सन् १९५० मा जन्मिएका परिपक्व नेता भिक्टर यानुकोविचले सरकारको नेतृत्व लिएपछि सन् २०१० मा युक्रेनी संसदले नेटोमा संलग्न नहुने निर्णयसहित युक्रेनलाई तटस्थ रहने मार्ग निर्देशन गरेको थियो । यसरी युक्रेन नेटोमा सामेल नहुने निर्णयमा पुगेकै कारण पश्चिमी मुलुकहरू स्तब्ध बने । युक्रेनमा मिसाइल राखेर रसियालाई सुरक्षा दबाबमा राख्ने र आफूहरू आनन्दसँग निदाउने सपना बुनिरहेका नेटो मुलुकहरू भिक्टर यानुकोविचसँग निकै क्रुद्ध बने । यानुकोविच युरोपियन युनियन, नेटो र रसियासँग सन्तुलित सम्बन्ध बनाउने पक्षमा थिए, तटस्थ रहनुमा नै युक्रेनको कल्याण हुने उनको निष्कर्ष थियो । त्यसैले कुनै पनि सैन्य सङ्गठनमा सामेल नहुने घोषणा यानुकोविचले गरेका थिए । रसिया र युरोपियन युनियनसँग विकाशमा साझेदारी गर्ने यानुकोविचले इराक-अमेरिका युद्धमा आतङ्कवाद विरुद्धको मोर्चालाई साथ दिने भन्दै अमेरिकालाई सहयोग गर्ने निर्णय लिएका थिए । तर रसियाको विश्वास आर्जन गर्न युक्रेनले नेटोको सदस्य नबन्ने विधिवत निर्णय लिनुपर्ने अवस्था देखापरेपछि यानुकोविचले सन् २०१० मा नेटोमा नरहने निर्णय लिएका थिए । उनको यस्तो निर्णयले पश्चिमी जगतलाई क्रुद्ध तुल्यायो । उनीहरूले यानुकोविचविरूद्ध युक्रेनभित्र विभिन्न गतिविधि सञ्चालन गर्न थाले । युरोपियन युनियनका सन्देहास्पद गतिविधि बढ्न थालेपछि यानुकोविचले सन् २०१३ मा युरोपियन युनियनसँग सहकार्य गर्ने भनी युक्रेनी संसद्बाट पारित प्रस्तावअनुसार इयुसँग सम्झौता गर्न अस्वीकार गरिदिए । बरु उनले रसियाको विश्वास आर्जन गरेर देशको रक्षा गर्न युरेसिएन इकोनोमिक युनियनसँग सम्झौता गरे । यस घटनाले नेटोलाई थप क्रुद्ध र विचलित तुल्यायो ।

उक्त घटनापछि ओपन सोसाइटीका नाममा समेत चिनिने जर्ज सोरस फाउण्डेसनले युक्रेनमा आफ्नो गतिविधि तेजीका साथ बढाउन थाल्यो । ज्ञातब्य छ, जर्ज सोरस फाउण्डेसन त्यहाँ आफ्नो सक्रियता बढाउँछ, जहाँ पश्चिमी अनुकुलताको अवस्था पैदा गर्नुपर्ने हुन्छ । त्यसनिम्ति राजनीतिक दल, मिडिया र अनेक सङ्घ-सङ्गठनहरूलाई आर्थिक सहयोग गरेर संस्थापनविरूद्ध आन्दोलनको वातावरण बनाउने कार्य फाउन्डेसनले गरेको हुन्छ । म्यानमार, भारत र श्रीलङ्कामा उत्पात मच्चाउने ओपन सोसाइटीलाई धेरै मुलुकले प्रतिबन्ध लगाएका या निगरानीमा राखेका छन् । नेपालमा पनि ओपन सोसाइटी सक्रिय छ र कुनै समय गिरिजाप्रसादको पीए रहेका केही द्रब्यप्रेमीहरूले उक्त सोसाइटीको नेतृत्व सम्हाल्दै आएको जानकारी आम नेपालीलाई नहुन सक्छ । नेपालको आन्दोलन र संविधान निर्माण प्रक्रियामा ओपन सोसाइटीले अर्बौं रूपैयाँ खर्च गरेको तथ्यहरू पहिले नै सार्वजनिक भैसकेका छन् ।

भिक्टर यानुकोविचले युक्रेनलाई तटस्थ राख्ने, कुनै सैन्य गठबन्धनमा सामेल नहुने र नेटोमा सदस्य नबन्ने अडान लिएपछि उनका विरूद्ध युक्रेनमा ठूलो आन्दोलनको सिर्जना गरियो । उग्र सडक सङ्घर्षका बीच सन् २०१४ मा भिक्टर यानुकोविच विरूद्ध संसदमा महाभियोगको प्रस्ताव पारित गराउन पश्चिमाहरू सफल भए । त्यसपछि युक्रेनको संसदले युक्रेन तटस्थ नबस्ने निर्णय लियो र सन् २०१८ मा त नेटोको सदस्य बन्ने निर्णयमा युक्रेनी संसद् पुगेको थियो । तीव्र आक्रोशका बीच सन २०१४ मै यानुकोविच देश छोडेर रसियामा शरण लिन बाध्य भएका थिए । सोही साल रसियाले पहिले युक्रेनको अधीनमा पु¥याइएको क्रिमिया क्षेत्र आफ्नो स्वामित्वमा लिएको थियो । पुराना र परिपक्व नेताहरूले सोचविचार गरेर मात्र निर्णय लिने हुँदा त्यसबाट पश्चिमा जगतलाई अप्ठ्यारो परिरहेको थियो, त्यसैले उनीहरूले त्यहाँ ‘पुराना दल र नेताबाट देश चल्न नसक्ने’ भाष्य निर्माण गरे । ‘अब युवाको काँधमा देश जिम्मा लगाउनुपर्छ’ भन्ने लोकप्रिय नारा लगाउँदै टेलिभिजनको पर्दामा लोकप्रिय हास्य कलाकारको भूमिकामा रहेका भोलोदिमिर जिलेन्स्की (सन् १९७८ मा जन्मिएका) नामक कलाकार केटोलाई उनको लोकप्रियताको उपयोग गर्दै दल खोल्न लगाइयो र तिनै जिलेन्स्कीलाई सन् २०१९ मा रातारात राष्ट्रपति बनाइयो । जिलेन्स्कीलाई राष्ट्रपति बनाइएकै नेटोमा युक्रेनलाई द्रुत गतिमा सहभागी गराउनका लागि थियो ।

जिलेन्स्कीले आफ्ना अदृष्य मालिकहरूको निर्देशनमा युक्रेनलाई नेटोको एक वफादार सदस्यका रूपमा कार्य गर्ने प्रक्रियालाई गति दिए । फलस्वरूप रसिया बिच्कियो, मस्कोनजिकै छिमेकी देशमा आफूतिर सोझ्याएर मिसाइल ठड्याएको हेर्न/सहन रसियाले खोजेन र युक्रेनमाथि हमला गऱ्यो । सन् २०२२ मा सुरु भएको युद्ध रसिया र युक्रेनबीच भएजस्तो देखिए पनि वास्तवमा यो रसियाको एकीकृत पश्चिमीसँगको युद्ध हो । युद्धका कारण युक्रेनले ठूलो भूभाग गुमाएको छ भने करिब एक करोड नागरिक बिस्थापित भएर आन्तरिक शरणार्थी बनेका छन् भने झण्डै एक करोडले देश छोडेका छन् । अर्बौं डलर बराबरको संरचना ध्वस्त भएको छ र खर्बौंको क्षति युक्रेनले ब्यहोर्नुपरेको छ । यसक्रममा हज्जारौँले ज्यान गुमाएका छन् र लाखौँ नागरिकको अङ्गभङ्ग भएको छ । युक्रेनले युवा नेतृत्व पाउनुको पीडा इतिहासले कहिल्यै नभुल्नेगरि ब्यहोरिरहेको छ ।

नेपाललाई पनि युक्रेनकै मार्गमा लैजाने अभ्यास केही वर्षयता अदृष्य शक्तिहरूले गर्दैआएका छन् । पुराना दल र नेताले देश बनाउन जानेनन्, यो शतप्रतिशत सही हो ! देशमा चरम निराशाको स्थिति पैदा भएको छ, यो पनि सत्य हो । पुराना नेता र दलले देश समृद्ध तुल्याउन सक्ने विश्वासका आधारहरू पनि देखापरेका छैनन् । तर कुरैकुरामा अल्झाएर देशलाई तत्काल गृहयुद्धमा जान या जबर्जस्ती बाह्य हस्तक्षेप हुने स्थिति आउन नदिन भने यिनै असान्दर्भिक हुँदै गरेका नेताहरूले योगदान दिइरहेका छन् । नेता मात्र बदलेर नेपालको नियति बदलिने सम्भावना देखिँदैन, नेतृत्वसँगै नीति (संविधान, कानून र ब्यवस्था) समेत बदल्न या परिमार्जन गर्न सकेको अवस्थामा मात्र देशले सकारात्मक गति लिने विश्वास गर्न सकिन्छ । हाल नेपालमा युक्रेनमा जिलेन्स्कीझैँ रातारात ‘एलिएन नेता’ उमारिएका छन् । यो नभए त्यो र यसले नसके अर्कोले गर्न सक्छ भन्ने विश्वासका साथ सोसल मिडियाबाट कृत्रिम नेता उत्पादन गर्ने प्रयास भइरहेको छ ।

कृत्रिम ढङ्गले सतहमा ल्याइएका हरेक युवाको पृष्ठभूमि खोतल्ने हो भने एउटा भयानक तस्बिर हाम्रा अगाडि देखापर्छ । उनीहरू देशको स्वधर्म सस्कृति प्रवर्द्धन गर्ने र देशलाई सांस्कृतिक पहिचान दिन कहिल्यै तयार हुँदैनन्, उनीहरू जातीय तथा क्षेत्रीयतावादी अवधारणा त्याग्न, ट्रेड युनियानिज्मको अन्त्य गराउन र प्रदेश संरचना खारेज गर्न सहमत हुने छैनन् । ब्यवस्था र नीति यथावत राखेर नेतामात्र बदल्ने एजेण्डामा काम गर्ने अनुमति उनीहरूले पाएका छन् । समयमै झिल्केगिरीलाई बुझ्न र तदनुरुप व्यवहार गर्न नसक्ने हो भने नेपालका आगामी दिनहरू थप कष्टकर हुनेछन् ।

पुरानाले पैंतीस वर्षमा देशको यो हविगत बनाए, हाल सोसल मिडियामार्फत उत्पन्न गराइएका झिल्केहरूको हातमा राजनीति पुग्ने हो भने देशले आफ्नो अस्तित्वको रक्षा गर्न पनि मुस्किल हुने निश्चित छ । यसको अर्थ जे भएपनि पुरानै दल र नेतृत्वलाई बोकेर हिँडौँ भन्नेचाहिँ होइन । आमूल परिवर्तनको अपरिहार्यता बढेको छ, त्यसनिम्ति नयाँ राष्ट्रिय शक्ति निर्माणको बृहत्तर प्रयास हुन आवश्यक देखिन्छ । परस्पर घृणा र अविश्वास बढाएर होइन विश्वास र समझदारी बनाएर मात्र राष्ट्रको विद्यमान समस्यालाई परास्त गर्न सकिन्छ । नेपाली जिलेन्स्कीहरूलाई समयमै चिन्न सकेनौ भने हामीले भोग्ने नियती युक्रेन र अफगानिस्तानको भन्दा भयानक हुनेछ, त्यसपछि हामीसँग देश हुनेछैन, प्यालेस्टेनीले जस्तै देशविहीनताको अवस्थाबाट नेपालीले गुज्रनुपर्ने हुन्छ, जय मातृभूमि !