श्रीओम, मधुपर्क र चर्चाहरू -दीपकमणि दाजुभाइ

श्रीओम, मधुपर्क र चर्चाहरू -दीपकमणि दाजुभाइ


पछिल्लो समय नेपाली साहित्यमा श्रीओम श्रेष्ठ रोदनको चर्चा छ । उनको चर्चा हुनुको मुख्य कारण हो मधुपर्कबाट उनलाई युवामञ्चमा सारिनु । बीस वर्षदेखि उनी कार्यरत रहेको गोरखापत्र संस्थानको मधुपर्क मासिकबाट उनलाई हटाएर युवामञ्च सारिएको छ ।
नपत्याउँदो किसिमले श्रीओमले मधुपर्कलाई सबैको साझा साहित्यिक पत्रिका बनाइरहेका थिए । यस्तो अवस्थामा माओवादीको कोटाबाट गोरखापत्र संस्थानको अध्यक्ष बनेका हरिगोविन्द लुइँटेलले उनलाई युवामञ्चमा सारिदिएका छन् । हरिगोविन्दले जे जानेका थिए वा जे गर्न सक्थे त्यही गरे । फेरि सिर्जनाभन्द दल र नेताको पछि लाग्नेहरूबाट यो भन्दा बढ्ता अपेक्षा गर्न पनि त सकिँदैन नि । श्रीओमलाई मधुपर्कबाट हटाएर हरिगोविन्दले साहित्यिक वृत्तमा आफ्नो हैसियत मात्र देखाएनन् आफ्नो असली नियत पनि प्रस्ट पारे ।
श्रीओमका तीन कुरा आफैंमा महत्वपूर्ण छन्- पहिलो उनको स्वभाव, दोस्रो उनको सिर्जना र तेस्रो उनको सम्पादन र साहित्य कर्म । साहित्यमा इमानदार रूपमा समर्पित व्यक्तिलाई साहित्यइतरको जिम्मेवारी दिनु अव्यावहारिक निर्णय नै हो ।
त्यसो त गोरखापत्र संस्थ्ाानको कर्मचारीलाई कुनै पनि विभाग वा शाखामा र्सार्न सकिन्छ । यो संस्थागत कुरा हो । यसमा हाम्रो भन्नु केही छैन । तर, मधुपर्क संस्थानभन्दा माथि उठेर नेपाली साहित्यकारहरूको पत्रिका बनेको छ । र, यसमा साहित्यकारहरूको चासो हुनु स्वाभाविक पनि हो । यस अर्थमा साहित्यिक पत्रिकाको हकमा साहित्यमा रहेका नाताले हामीले केही बोल्न र लेख्न पाउँछौँ भन्ने लाग्छ ।
हुन त श्रीओम मात्रै मधुपर्कका लागि लायक छन् भन्न मिल्दैन । उनका पनि आफ्ना सीमा र कमजोरीहरू होलान् । हाम्रो चासो त के मात्र हो भने मधुपर्कजस्तो साहित्यिक पत्रिकामा पनि अब राजनीति घुस्यो र यो राजनीतिले साहित्यिक पत्रिकाको के हविगत बनाउला भन्ने हो । राजनीतिक भागबण्डा अझ राजनीतिक बार्गेनिङका आधारमा नियुक्ति र सरुवा गरिनु दु:खद् हुनसक्छ । हाम्रो चाह भनेको लामो इतिहास र असङ्ख्य पाठक भएको मधुपर्कले आफ्नो गरिमा र पहिचानलाई उचो राखिरहन सकोस् भन्ने मात्र हो । मधुपर्कमा श्रीओम नै चाहिन्छ भन्ने हाम्रो माग होइन । तर, मधुपर्कमा लेखक कविलाई घृणा गर्ने र सिर्जनाको अवमूल्यन गर्ने मानिसचाहिँ पुग्नुहुँदैन ।
मधुपर्क संस्थानको प्रकाशन भए पनि त्यो साहित्यिक पत्रिका हो र त्यसमा लेखक-कविको मानसिक अधिकार विद्यमान रहन्छ भन्ने हाम्रो ठम्याइ हो । मधुपर्कलाई सिरानमा राखेर बस्ने साहित्यकार धेरै छन् । अझ हरेक महिना मधुपर्क कुरेर किन्ने लेखक-कवि पनि कम छैनन् । त्यसो त अहिले साहित्यिक वृत्तमा चलेका धेरै लेखक-कवि मधुपर्कले जन्माएका-हर्ुकाएका नै छन् । यस अर्थमा पनि नेपाली साहित्यमा मधुपर्कको ठूलो योगदान छ । त्यो योगदान निरन्तर रहोस् भन्ने हाम्रो कामना हो । बीचमा पूर्वका एक पत्रकार मधुपर्कको सम्पादक हुँदा मधुपर्क कुन हविगतमा पुग्यो सबैले देखे-बुझेकै कुरा हो । यस कारणले पनि लेखक-कवि मधुपर्कको सम्पादकमा आएको फेरबदलका कारण अत्तालिएका हुन् । कतै मधुपर्क फेरि ब्रि्रने त होइन भन्ने अधिकांश लेखक-कविमा डर छ । उनीहरू चाहन्छन्- मधुपर्कको साहित्यिक छवि नबिग्रियोस् । मधुपर्क सधंै लेखक-कविको मधुपर्क बनिरहोस् ।
त्यसो त श्रीओमको परिचय मधुपर्क होइन । उनी आफैंमा असल स्रष्टा पनि हुन् । उनका दर्जन साहित्यिक कृतिबाट उनको लेखन र सक्रियता बुझ्न सकिन्छ । अझ साहित्यको उत्थानमा उनले पुर्‍याएको योगदान कम छैन । निबन्धमा आफ्नो छुट्टै पहिचान बनाइसकेका श्रीओमले पछिल्लो समय लघुकथाका लागि विशिष्ट कामहरू गर्दै आएका छन् । त्यसो त उनको लेखन विधा पनि निबन्ध र लघुकथा नै हो ।
लघुकथाको सङ्गठन खोलेर सबै लघुकथाकारहरूलाई गोलबद्ध गरी लघुकथाको सामूहिक विकासमा लागेका छन् । लघुकथा समाजको स्थापना गरेर नयाँ-पुराना सबै लघुकथाकारहरूलाई गोलबद्ध गर्नु र राष्ट्रियस्तरमा लघुकथाको विकासका लागि काम गर्नु चानचुने कुरो होइन । उनले आफू अघि लघुकथा लेखिरहेकाहरूदेखि लिएर भर्खरै लघुकथा लेख्न थालेकासम्मलाई लघुकथा समाजमा अटाएका छन् । फेरि उनले आफ्नो लागि भन्दा पनि लघुकथाकारहरूको हितमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । विभिन्न लघुकथा गोष्ठी र प्रतियोगिताहरू गर्नु त सामान्य कुरा । पूरै लघुकथाको इतिहास लेख्ने काम पनि गरिरहेका छन् श्रीओमले । यो आफैंमा प्रशंसनीय काम हो ।
पछिल्लो समय उनको लघुकथासङ्ग्रह भ्रममार्ग बजारमा आएको छ । बजारमा देखिएका लघुकथाका किताबहरूभन्दा भिन्न र प्रभावकारी लघुकथाहरूले भरिएको यो किताबले पनि बजारमा श्रीओमको चर्चा छ । तर, मधुपर्कबाट उनी हटाइँदा जति चर्चा छ त्यो किताबको भन्दा ज्यादा छ । हुन त श्रीओम बजारमा र साहित्यिक मनहरूमा छाइरहने नाम हो । अन्तर्वार्ताहरूको सङ्ग्रह प्रशंगवशका कारण पनि उनले बजार र साहित्यकारमाझ राम्रै चर्चा पाए । प्रशंगवशको चर्चा त अझै सेलाएको छैन । यसभित्र समाविष्ट र्सजक र विचारका कारण किताबको चर्चा चुलिएको हो ।
श्रीओम साहित्यिक वृत्तमा स्वभाव र व्यवहारका कारण जति प्रशंसित छन् त्यति नै लेखन र साहित्यकर्मका कारण सम्मानित छन् । उनले मधुपर्कको गरिमाका लागि गरेका कामहरू चानचुने छैन । राजाको प्रत्यक्ष शासनकालमा माओवादी कवि-लेखकका रचनाहरूलाई प्रकाशन गरेर होस् या माओवादीको शासनकालमा पञ्चायतकालीन लेखक-कविका रचना छापेर होस् । उनले सधैं मधुपर्कमा रहँदा लेखक-कविलाई लेखक-कविकै आँखाले हेरे । उनले कहिल्यै पनि विचारको आधारमा साहित्यकारलाई छुटाएनन् । यी कारणले पनि अहिले बजारमा श्रीओमको चर्चा भएको हो । उनले मधुपर्कको गरिमालाई उचो राख्न हरसम्भव प्रयास गरे । उनको २० वर्ष लामो प्रयासले मधुपर्कलाई साहित्यकारहरूमाझ प्रिय मात्र बनाएन । प्रतिनिधिमूलक पनि बनायो । अझ पछिल्लो समय मधुपर्क प्रतिनिधि नियात्रा, प्रतिनिधि कथा र प्रतिनिधि व्यङ्ग्य प्रकाशनको कुरा होस् या पाँच सय अङ्कको प्रकाशन दुवै प्रशसंनीय काम हुन् । त्यस्तै श्रीओमकै सक्रियतामा मधुपर्क सम्मानको आरम्भ गरियो यो पनि चानचुने कुरा होइन ।
यी सब सन्दर्भ र मधुपर्कको पहिचानका लागि श्रीओमले गरेको योगदानका कारण पछिल्लो समय साहित्यिक वृत्तमा श्रीओमको चर्चा चलिरहेको छ ।