गत साता राजधानीलगायतका स्थानमा गराइएको विष्फोटको घटनापछि यतिबेला विप्लव नेतृत्वको नेकपा सम्भवतः ‘स्तव्ध’ हालतमा छ । सो पार्टीद्वारा आह्वान गरिएको ‘नेपाल बन्द’लाई हाइलाइट गराउने उद्देश्यले ‘बन्द’अघि राजधानीका विभिन्न स्थानमा गराउन खोजिएको विष्फोट दुर्भाग्यवश विप्लवकै पार्टीको लागि ‘ब्याक फायर’ बन्न पुग्यो । विप्लवका ‘जल्दाबल्दा’ केही कार्यकर्ता ‘बन्द’को बलि चढ्न पुगे ।
गत फागुनको अन्तिम सातादेखि सरकारद्वारा ‘प्रतिबन्धित’ घोषित हुन पुगेको विप्लवको नेकपाका हालसम्म करिव सवा चारसय कार्यकर्ता पक्राउ परिसकेका छन् भने कतिपयको ज्यान गुमेको छ । यी सबै परिघटना पार्टी–प्रमुख हुनुको नाताले विप्लवका लागि बिझाउने विषय हुन् । दुर्भाग्यको यस उपक्रमले उनलाई अझै पछ्याइरहेको अनुभूति गरिएको छ । किनकि, उनका तल्लादेखि माथिल्ला तहसम्मका पार्टीनेता–कार्यकर्ता ‘विप्लव नेकपा’बाट पलायन हुँदै ‘सरकारी नेकपा’सँग जोडिने क्रमले तीव्रता लिएको छ ।
आजै (१९ जेठ) मात्र विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राई सत्तारुढ नेकपा प्रवेश गरेका छन् । धूम्रबाराहीस्थित नेकपा कार्यालयमा राईलाई टीका–अबिर लगाएर प्रचण्डले पार्टीप्रवेश गराउँदै गर्दा विप्लवको साथ छोडेका राईले भने– ‘केही परिवर्तन हुन्छ कि भनेर विप्लव समूहमा लागेको थिएँ तर पछिल्ला समयमा कतिपय घटना र अवस्थाका कारण हिंसात्मक लडाईं गर्दा कुनै शक्तिले केही नपाउने तर देश र जनताले फेरि दुःख पाउने भएकाले सो समूह परित्याग गरेको हुँ ।’
निश्चय पनि हिजोसम्म आफूसँग काँधमा काँध मिलाएर हिँडेको साथी एकाएक आफैतर्फ औंला उठाउँदै अर्को पक्षमा मिल्न गएको घटना विप्लवको निम्ति बिझाउने सन्दर्भ हुन पुग्छ । त्यसमाथि पदम राईलाई टीका लगाइदिने क्रममा प्रचण्डले भनिदिए– ‘मुलुकको समृद्धि र समाजवादका लागि कुनै दिन विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्छ ।’ झट्ट हेर्दा यो एक आत्मीय आग्रह नै हो, तर विप्लवका लागि प्रचण्डको यो अभिव्यक्ति तीखो सुइरोको प्रहारसरह नै हो । विप्लवका पछिल्ला ‘स्टेटमेन्ट’हरूका आधारमा यस्तै अनुमान लगाउन सकिन्छ ।
पदम राईलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रमका अवसरमा प्रचण्डले भने– ‘लामो बलिदान र संघर्षबाट नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भई अहिले सत्ताको नेतृत्वमा छ । जनताले ठूलो भरोसा गरेको छ । हामीले सुशासन र समृद्धिको यात्रालाई सफल बनाउनुपर्छ । सामाजिक न्यायसहितको नयाँ ढाँचामा हामी जान खोजेका छौँ । यसलाई असफल बनाउने तमाम प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नुपर्छ । सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नुपर्छ । पार्टी प्रवेशको श्रृंखला रोकिने छैन ।’
विप्लव छोडेर प्रचण्डको पास पुगेका पदमले चाहिँ ‘विप्लव समूहमा रहेर सरकारसँगको वार्तामा आफूले अग्रसरता लिएको तर त्यो सफल नभएको’ अभिव्यक्ति दिँदै उपदेश दिने शैलीमा अगाडि भने– ‘हिंसाबाट एकले अर्कोलाई बदला लिनुभन्दा शान्तिपूर्ण बाटोबाट समाज रुपान्तरणमा लागौँ ।’
प्रतिक्रिया