प्रदीप जोशीलाई अध्यक्षतामा निरन्तरता प्रदान गर्दै विश्वविद्यालय खेलकुद संघको साधारणसभा सम्पन्न भएको छ । थापागाउँस्थित कानभास रेष्टोमा भएको तेश्रो साधारणसभाले जोशीको अध्यक्षतामा चार वर्षका लागि १८ सदस्यीय केन्द्रिय कार्य समिति चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा डा. ज्ञानेन्द्र कार्की (त्रि.बि.बि), उपाध्यक्ष चारमा डा. यज्ञराज भट्ट (सुदूरपश्चिमाञ्चल वि.वि.), डा. विमला शर्मा (संस्कृत विश्व विद्यालय), सानु घले (पोखरा विश्व विद्यालय), र अजिता शर्मा रहेका छन् । पौड्याल, घले र अजिता यस अघिको कार्य समितिमा पनि रहेका थिए ।
यस्तै, महासचिवमा पूर्ण सिंह बोहराले निरन्तरता पाएका छन् भने सचिवमा डा. उदय तिवारीले पनि निरन्तरता पाए । कोषाध्यक्षमा ग्लोबल इन्टरनेशनलका प्राध्यापक धर्मराज ओझा चुनिए । नवनिर्वाचित सदस्यहरूमा सुरेन्द्र पनेरु, काठमाडौ युनिभर्सिटिका राजेन्द्र ज्ञवाली, मध्यपश्चिम विश्व विद्यालयका खेमराज रावत, त्रिविकी पूर्णदेवी बज्राचार्य, दीपक बिष्ट र संस्कृत विश्व विद्यालयका डा. गणेश घिमिरे रहेका छन् ।
विजयी कार्यसमितिका सदस्यहरुलाई निर्वाचन अधिकृत राखेप संघ–संस्था समन्वय शाखाका अधिकृत ओमनाथ न्यौपानेले प्रमाणपत्र वितरण गर्नुका साथै गोप्यताको सपथ गराएका थिए । यस अघि साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले पानसमा दीप प्रज्वलन गरी उदघाटन गरेका थिए ।
प्रतिक्रिया