राखेपको दृष्टिमा दुबै तेक्वान्दो संघको हैसियत बराबरी : विष्ट

राखेपको दृष्टिमा दुबै तेक्वान्दो संघको हैसियत बराबरी : विष्ट


राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका दुवै तेक्वान्दो संघको बराबरी हैसियत भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले बताएका छन् । जेठ १९ गते सम्पन्न राष्ट्रिय तेक्वान्दो संघको साधारणसभामा उनले उक्त धारणा राखेको हुन् । अन्य कारण जे भए पनि राखेपमा दर्ता भएपछि दुवै संघ समान हुने विष्टको तर्क थियो ।

त्यस्तै, सदस्यसचिव विष्टले कुर्सी र पदको लोभले पहिले गैरकानुनी काम गर्ने पछि आएर आफैले राखेपमा दर्ता गरेको संघलाई अवैधानिक भन्नु कानुनी रूपमा पनि उचित नहुने बताए । पदमा हुँदा ‘चुँ’ समेत नगर्ने पद समाप्त भएपछि आफैले दर्ता गरेको संघको वैधानिक हैसियतमाथि प्रश्न उठाउनु लज्जास्पद विषय भएको उनको भनाई थियो ।

‘कानुनी रूपमा नमिल्ने भए त्यसैबेला दर्ता नगरेको भए भैहाल्यो, कुनै शक्तिको अगाडि झुक्नुपर्ने आवश्यकता नै थिएन । चित्त नबुझेको भए राजीनामा दिएको भए भैहाल्थ्यो । तर विडम्बना, त्यसबेला पद र कुर्सीको लोभमा आफै गैरकानुनी कार्य गर्ने अनि अहिले प्रतिसोध साँध्न र कसैलाई आरोप लगाउन मिल्दैन’, प्रष्ट भाषामा बिष्टले बताए ।

त्यस्तै, अहिले दुईवटा तेक्वान्दो संघ नेपालमा अस्तित्वमा देखिनु खेलकुदको लागि राम्रो संकेत नभएको उनले बताए । आफुले दुईवटा तेक्वान्दो संघलाई एउटै बनाउन निकै प्रयास गरे पनि सफलता प्राप्त नभएको चर्चा गर्दै आफ्नो चारवर्षे कार्यको अन्त्यसम्ममा दुवै संघका पदाधिकारीलाई एउटै टेबलमा राखेर वार्ताबाट तेक्वान्दोको विवाद सदाको लागि समाप्त पार्ने दाबी बिष्टले गरे ।

राखेपमा दर्ता भएको आठ वर्षमा राष्ट्रिय तेक्वान्दो संघले निकै उतारचढावको सामना गर्नुपरेको खुलासा गर्दै विष्टले भने– ‘यो अवधिमा तपाईंहरूले जुन हिम्मत देखाएर तेक्वान्दोको समग्र विकासको लागि कार्य गर्नुभएको छ, त्यो निकै प्रशंसनीय छ । राष्ट्रिय तेक्वान्दो संघले स्वदेश र विदेशमा जसरी आफ्नो सहभागिता जनाउँदै पदक जितेको छ, त्यसको सम्बन्धित निकायले उचित मूल्याङ्कन गर्नेछ ।’

पछिल्लो समय तेक्वान्दोको विवाद समाधान गर्न समिति गठन भएको स्मरण गराउँदै केही तत्वका कारण त्यसमा सफलता प्राप्त नभएको विष्टको आरोप थियो । कसैको अस्तित्वलाई स्वीकारैै नगर्ने र मपाई)त्वका कारण तेक्वान्दो विवाद समाधान हुन नसकेको उनले बताए । तेक्वान्दो संघ कसैको बिर्ता होइन भन्दै विष्टले भने– ‘मिलेर अगाडि बढ्न चाहन्छन् भने ठिकै छ, अन्यथा नमिल्ने र सधैं विवाद मात्र सिर्जना गरिराख्नेलाई ठेगाना लगाउन राखेपले जानेको छ ।’

दुवै संघ राखेपमा दर्ता छन्, दुवैलाई राष्ट्रिय मान्यता प्राप्त छ, सोहीबमोजिम राखेपले दुवै संघलाई व्यवहार पनि गर्दै आएको छ । यदि कसैले अन्तर्राष्ट्रिय मान्यताको आधारमा दम्भ देखाउँछ र तेक्वान्दो खेल र खेलाडीमाथि खेलबाड गर्छ भने त्यो अब स्वीकार नहुने विष्टको धारणा थियो । हिजो पनि प्रकृया अगाडि बढेको हो, अहिले पनि रोकिएको छैन, त्यसैले तेक्वान्दो एक हुन्छ त्यसमा तपाईंहरूको विशेष सहयोग चाहिन्छ विष्टले भने ।